आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

सुरु भयो हिउँदे खेती : सरकारसँग कति छ रासायनिक मल मौज्दात ?

शुक्रबार, १५ मङ्सिर २०८०, १४ : ११
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । किसानले वर्षे बाली भित्र्याएसँगै हिउँदे बाली लगाउने सिजन सुरु भएको छ । देशमा हिउँदे बालीका रूपमा मुख्यतया: गहुँ, मुसुरो, तेलहन बाली लगायतको खेती गरिन्छ । यी बालीका लागि एक लाख ७७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

जसअनुसार हाल ९३ हजार दुई सय ९५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयको भनाइ छ । अर्थात् ८४ हजार मेट्रिक टन रासायनिक मल हिउँदे बालीका लागि अझै अपुग भएको तथ्याङ्कले प्रष्ट्याएको छ । 

मन्त्रालयका अनुसार मौज्दात मलमध्ये ४६ हजार २९ मेट्रिक टन युरिया, ४५ हजार तीन सय ८२ मेट्रिक टन डीएपी र एक हजार आठ सय ८३ मेट्रिक टन पोटास मल मौज्दात छ ।  यस्तै कृषि सामाग्री कम्पनी लिमिटेडसँग ३८ हजार ३ सय ८८ मेट्रिक टन मौज्दात मल छ । यसमध्ये १५ हजार एक सय ३० मेट्रिक टन युरिया, २२ हजार १८ मेट्रिक टन डीएपी र एक हजार दुई सय ३९ मेट्रिक टन पोटास मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग ५४ हजार नौ सय सात मेट्रिक टन रासायनिक मल मौज्दात छ । साल्टसँग भएको मौज्दात मलमध्ये ३० हजार ८ सय ९८ मेट्रिक टन युरिया, २३ हजार तीन सय ६४ मेट्रिक टन डीएपी र ६ सय ४४ मेट्रिक टन पोटास मौज्दात छ । 

सरकारले मल अभाव नहुने बताउँदै आए पनि किसानले भने प्रायजसो मलको अभाव झेल्ने गरेका छन् । खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक १२ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्दछ । तर आपूर्ति भने अधिकतम ४ लाख मेट्रिक टनमात्रै हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप