शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘अर्थतन्त्रका चुनौती र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक’

शुक्रबार, १५ मङ्सिर २०८०, १४ : ५९
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।  

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले अर्थतन्त्र सुधार गर्ने प्रमुख दायित्व सरकारको भएको बताए । उनीहरुले अर्थतन्त्रको सुधार गर्न केही संरचनागत सुधार गर्न आवश्यक रहेको पनि बताए । व्यवसायीहरुले सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोर कम गर्न आवश्यक रहेको बताए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरेर समाधानको लागि गम्भीर पहल तत्काल थाल्न आवश्यक रहेको बताए । उनले अर्थतन्त्र समस्यामा छैन भन्दै गर्दा सरकारले जीडिपीको तथ्याङ्क किन सार्वजनिक नगरेको भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेण्टतर्फ आकर्षित भएको आरोप लगाए । उनले सामूहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रीय बैंकले लगाएको अंकुशले अर्थतन्त्र र व्यवसायिक वातावरण प्रतिकुलतासँगै अव्यवहारिक रहेको बताए । उनले अर्थतन्त्र सुधारको विषयमा भगवान् भरोसा नबस्न सरकारलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई घटाउन आवश्यक रहेको बताए । उनले तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मात्रै मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने दाबी गरे । उनले मुलुक विदेशबाट आउने रेमिट्यान्समा मात्रै रमाउनु नहुने भन्दै देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवर्द्धन गरी उपभोग र निर्यात गर्ने विधिमा जान आवश्यक देखिएको बताए । उनले जलविद्युतको क्षेत्रमा नेपालको भविष्य राम्रो रहेको बताए ।

उनले राज्यका कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिबुटीहरु निर्यात हुन नसकेको बताए । उनले १३ खर्बसम्म जडिबुटीजन्य वस्तुहरु निर्यात गर्नसक्ने सम्भावना रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप