सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

अनुदान दिएर गोरु पाल्न प्रोत्साहन

सोमबार, १८ मङ्सिर २०८०, १४ : ०९
सोमबार, १८ मङ्सिर २०८०

पोखरा । कृषिमा क्रान्तिका लागि यान्त्रीकरणमा सरकारले जोड दिएको छ । सोही अनुसार गाउँगाउँमा हाते ट्याक्टर पुगेका छन् । एउटै पालिकाले बर्सेनि लाखौँ अनुदानमा ट्याक्टर वितरण गरिरहेको छ ।

किसानले अहिलेसम्म कति ट्याक्टर पाए भन्ने विवरण स्वयं सरकारसँग पनि छैन । कतिपयलाई शत प्रतिशत अनुदान दिइएको छ भने कतिपयले ५० प्रतिशत अनुदानमा ट्याक्टर पाएका छन् । तैपनि खेती गर्ने जमिन बढेको छैन, बरु बाझिने क्रम थपिएको छ ।

यसको प्रमुख कारण बसाइसराइ नै हो । खेती भइरहेका जमिनमा समेत उत्पादन उल्लेख्य छैन । कृषि गणना २०७८ अनुसार गण्डकी प्रदेशमा ४ लाख १२ हजार ६ सय ७७ कृषक परिवारले १७ लाख ३७ हजार ७ सय ७३ हेक्टर जमिनमा खेती गर्छन् । प्रदेशको पूरा जनसङ्ख्या मध्ये ६२ प्रतिशत जनसङ्ख्या कृषकको छ ।

सिँचाइको सुविधा भने केही थपिएको छ । गण्डकीमा ३५.९ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । नेपालभर २०६८ मा ८ लाख ४५ हजार किसानले कृषि कार्यका लागि ट्याक्टर प्रयोग गरेको तथ्याङ्क थियो । अहिले त्यो बढेर १६ लाख ३९ हजार पुगेको छ ।

४ लाख ७१ हजार किसानले पावर टिलर प्रयोग गरेका थिए भने अहिले त्यो घटेर १ लाख १७ हजारमात्रै छ । फलामे हलोको प्रयोगमा उच्च गिरावट आएको छ । २०६८ मा ८ लाख ५६ हजार किसानले फलामे हलो प्रयोग गर्थे भने अहिले घटेर ५ लाख ९ हजारमा खुम्चिएको छ ।

गण्डकी प्रदेशमा फलामे हलो प्रयोग गर्ने किसान करिब १६ प्रतिशत छन् भने पावरटिलर प्रयोग गर्ने १८ प्रतिशत छन् । हाते ट्याक्टरको प्रयोग दर बढेको देखिएको छ । सबैभन्दा बढी अर्थात २४ प्रतिशत किसानले ट्याक्टर मार्फत खेती गर्ने गरेको तथ्याङ्क छ ।

केही समय हाते ट्याक्टरलाई प्रोत्साहन गरेको स्थानीय सरकारले फेरि हलो प्रवर्द्धनमा जोड दिएको देखिएको छ । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाभरिका हलगोरुलाई नगद सहयोग गरेको छ । ग्रामीण भेगमा ट्याक्टरबाट पनि जोत्न सम्भव नभएकाले गोरुलाई प्रोत्साहन गर्न अनुदान दिइएको पालिकाको भनाइ छ ।

म्याग्देमा हरेक वर्ष गोरु पाल्ने किसानले सहयोग पाउँछन् । अघिल्लो वर्ष १ सय हाराहारी किसानलाई अनुदान दिने गरी बजेट विनियोजन गरिएकोमा गोरु पाल्ने किसानको सङ्ख्या अत्यधिक रहेपछि अनुदान रकम घटाइएको थियो ।

‘हामीले यति धेरै किसानले हलगोरु पालेका छन् भन्ने सोच्दै सोचेनौँ । १ सय जति होलान् भनेर बजेट राख्यौँ तर सोचेको भन्दा धेरै किसानको निवेदन आयो,’ प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने, ‘त्यसपछि रकम घटाएर सबैलाई वितरण ग¥यौँ ।’

यो वर्ष पनि गोरु पोषण कार्यक्रम अन्तर्गतको रकम वितरण भइसकेको छ । म्याग्देका ७ वडामा ३ सय ६७ किसानले गोरु पालेका छन् । उनीहरू सबैलाई ४ हजारका दरले नगद उपलब्ध गराइने पालिकाले जनाएको छ । १४ लाख ६० हजार रुपैयाँ किसानलाई गोरु पोषण अन्तर्गत खर्च हुने अधिकारीले जानकारी दिए ।

सबैभन्दा बढी वडा नम्बर १ मा १ सय ४ जना किसानले गोरु पालेका छन् भने २ मा २९ जना, ३ मा ९ जना, ४ मा ४२ किसानको गोठमा गोरु छ । यस्तै, ५ नम्बर वडामा ५३ जना, ६ नम्बरमा ७१ जना र ७ नम्बरमा ५९ जना किसानसँग हलगोरु छ । सबै किसानलाई वडाबाटै रकम वितरण गरिएको हो ।

पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ सबै किसानले ट्याक्टर किनेर चलाउन सक्ने अवस्था नभएपछि गोरुलाई प्रोत्साहन गरिएको बताउँछन् । ‘पालिकाले ५० प्रतिशत अनुदानमा मागका आधारमा ट्याक्टर पनि वितरण गरेको छ । कतिपय किसानले अनुदानको ट्याक्टर पनि किन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा कान्ला पनि अग्लो हुने र गराहरू पनि साँघुरो हुने भएकोले ट्याक्टर चल्न सक्दैन । खेत बाँझो नहोस् भनेर गोरुलाई अनुदान दिने कार्यक्रम ल्यायौँ ।’

म्याग्दे जस्तै कास्कीको मादी गाउँपालिकामा पनि हलगोरु पाल्नेलाई प्रोत्साहन गर्न थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप