शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु

मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ०९
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको कुनै पनि तहको कमाण्ड भन्नु जागिर वा अधिकारको कुरा नभइ सेवाभावका साथ अत्यन्त संवेदनशील भइ निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको बताएका छन् ।

गण तथा गुल्महरुको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरुका लागि सञ्चालित कमाण्डिङ अफिसर्स ओरिएन्टेसन कार्यक्रमका सहभागीहरुलाई मंगलबार सम्बोधन गर्दै प्रधान सेनापति शर्माले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायहरुमाझ सम्बन्धित युनिटहरुले समग्र संस्थालाई प्रतिविम्वित गर्ने उल्लेख गरे । उनले आम नेपालीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्‍न मुख्य भूमिकामा रहेका युनिट कमाण्डरहरु लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिए ।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको प्रस्ट पार्दै उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न आफू प्रतिवद्ध रहेको पनि बताए ।

पछिल्ला समयमा विभिन्न सञ्चार माध्यमहरुको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरु, यसको नियमित संचालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भैरहेकोतर्फ सकलदर्जालाई सचेत रहन निर्देशन दिँदै उनले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रिया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए ।

प्रधान सेनापति शर्माले भने, ‘असंख्य सिपाहीहरुको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरुको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीको बिचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भै विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत रहेको पनि बताए ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेद्‍वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयबस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्दै प्रधान सेनापतिले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरु आवश्यकता अनुसार सम्बद्ध निकायहरुबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको उल्लेख गरे ।

प्रधान सेनापतिले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरुको कागजात शंकास्पद देखिएकाले कारवाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए । उनले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताउँदै स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएता पनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई सुझाव दिए ।

उहाँले नेपाली सेनामा सरुवा, बढुवालगायत वृत्तीविकास सम्बन्धी कार्यहरुका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरु रहेको र यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बद्ध सबैलाई सचेत तुल्याए ।

जङ्गी अड्डामा आयोजित सो कार्यक्रममा जङ्गी अड्डा र नजिकका निकायहरुमा कार्यरत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप