सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फैसला

सोती हत्याकाण्ड : जन्मकैदको फैसला सुनाइएका तत्कालीन वडाध्यक्ष मल्लले दिएका थिए यस्तो बयान

को को परे जन्मकैदको सजाय भोग्ने २४* जनामा ?
बुधबार, २० मङ्सिर २०८०, ०७ : २८
बुधबार, २० मङ्सिर २०८०

काठमाडाैँ । रुकुम पश्चिमको सोती घटनामा संलग्न भनी मुद्दा चलाइएका ३४ जनामध्ये २४* जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले मंगलबार थुनामा रहेका २३ जना र प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६ का भाइ ५४ रुकुम पश्चिम ३९ लाई जन्मकैदको फैसला सुनाएको हो । 

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २४ जनालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै गर्दै जन्मकैदको फैसला सुनाएको हो । 

त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाइएकी मृतक नवराज विककी प्रेमिका, उनकी आमालाई भने कर्तव्य ज्यान मुद्दामा सफाइ दिँदै जातीय छुवाछुतमा मात्रै दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

यसअघि सर्वोच्च अदालतबाट धरौटीमा रिहाइ भएका ८ जनालाई भने अभियोग दाबीबाट पूर्ण सफाइ दिइएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले रातोपाटीलाई बताएकी छिन् । 

घटनामा संलग्नता नपाइएको र थुनामा राख्नुपर्ने स्पष्ट कारण नदेखिएको भन्दै सर्वोच्च अदालतबाट छुटेका तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने  लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दीपेन्द्र चन्दलाई भने सफाइ दिइएको छ । 

रुकुम जिल्ला अदालतले प्रतिवादीहरू तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल तथा अन्य प्रतिवादीहरू डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, प्रेमिका भनिएकी किशोरीका बुवा तथा उनकी दाइलाई जन्मकैदको फैसला सुनाएको छ । 

त्यस्तै तिलक चन्द, इन्द्रबहादुर भन्ने इर्द बहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्ललाई जन्मकैदको फैसला सुनाइएको हो । 

घटनामा संलग्नता नपाइएको र थुनामा राख्नुपर्ने स्पष्ट कारण नदेखिएको भन्दै सर्वोच्च अदालतबाट छुटेका तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने  लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दीपेन्द्र चन्दलाई भने सफाइ दिइएको छ । 

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । आफ्नी प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । 

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला गरिएको हो ।

यस्तो थियो तत्कालीन वडाध्यक्ष मल्लको प्रहरीसमक्षको बयान  

‘मिति २०७७/०२/१० गते दिन भर म धानको बिउ राख्नको लागि खेत बारीमा थिएँ । काम सके पश्चात् अन्दाजी १६ः४५ बजेको समयमा म वडा कार्यालयनजिक रहेको कोराना रोग सम्बन्धीको क्वारेन्टाईनमा व्यवस्थापनमा खटिएको टिमलाई सल्लाह सुझाव दिनको लागि गएको थिएँ, सोही ठाउँमा रहेको अवस्थामा प्रतिवादी मध्येका टोप बहादुर मल्लले मोबाईल नम्बर ९८४२३५३XXX बाट मेरो सम्पर्क नम्बर ९८४७९६९XXX मा अन्दाजी १७ः०० बजेको समयमा फोन गरी जाजरकोटबाट २०–२५ जना केटाहरू हाम्रो गाउँको ढुङगेखानीतिर जाँदै छन्, उकालो लागेका छन् भन्ने सूचना दिएकाले मैले सो सूचना पाएको अन्दाजी १०–१५ मिनेटपछि मात्र इलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरी ढुङ्गे खानीमा जाजरकोटबाट  १५–१६ जना केटाहरू आएका छन् रे तिनीहरूलाई नियन्त्रणमा लिनु प¥यो भन्ने कुरा जानकारी गराएको थिएँ । उक्त समयमा वडा सदस्य गोरखे घर्तीसँग समेत कुरा भएको थियो, मैले प्रहरीलाई जानकारी गराइसकेपछि प्रतिवादी मान बहादुर मल्ल, टोप बहादुर मल्लसँग पुनः कुरा भए पश्चात् परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) ले अन्दाजी १७ः४० बजेको समयमा मोबाईल नम्बर ९८६६०८३XXX बाट मलाई फोन गरी गाउँमा जाजरकोटका केटाहरू आएका छन्, गोईरी गाउँतिर जाँदै छन् भनेका मैले निजलाई कति जना केटाहरू छन् गन्ती गर्नु निगरानी गर्नु भनेको थिएँ । त्यसपछि प्रतिवादी नेत्र बहादुर मल्लले ९८४१५३७XXX नम्बरको आफ्नो मोबाइलबाट मलाई फोन गरेकाले निजसँग समेत कुराकानी भएको थियो । त्यस पश्चात् नगरपालिकाका स्वयम सेवकहरू समेत क्वारेनटाइन अवलोकन गर्न आएकाले निजहरूलाई समेत केटाहरू आएको जानकारी गराई नियन्त्रणमा लिनुपर्छ भनी म क्वारेन्टाईनबाट सोझै गाउँतिर गएको हुँ । गाउँतिर गए पश्चात् प्रतिवादी मान बहादुर मल्ल या नेत्र बहादुर मल्लमध्ये एक जनाले मलाई फोन गरी केटाहरू औल तिर झर्दै छन् भन्ने जानकारी गराएको तर मैले त्यति बेला केटाहरूलाई गाउँमा देखिन, सोही सूचनाको आधारमा म केटाहरू खोज्दै जाँदा घटनास्थल भएको मध्य पहाडी सडकमा पुग्दा एक जना स्याला घर बताउने कार्की थर भएको केटालाई प्रतिवादी प्रेम बहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको हुँ, अन्य प्रतिवादीहरू पछिबाट दौड्दै आउँदै थिए । अन्य केटाहरू म भन्दा अगाडी नदी बगरतिर दौडँदै गइसकेका रहेछन्, उनीहरूलाई देखिन । म भन्दा अगाडी गएका अन्य प्रतिवादीहरूले लखेटेका रहेछन्, मैले प्रेम बहादुर मल्ल समेतले नियन्त्रणमा लिएको सो केटालाई नियन्त्रणमा लिई राख्ने काम गरेको हुँ, म गाउँबाट झर्ने क्रममा प्रहरीले अन्दाजी १८ः०९ बजेको समयमा फोन गरी हामी त ढुङ्गे खानी भन्ने ठाउँमा आई पुग्यौँ तपाई कहाँ हुनुहुन्छ भनी फोन गरेकाले मैले औलतिर आऊनुहोस भनेको अन्दाजी १०–१५ मिनेट पछि प्रहरीहरू औल (घटनास्थल)मा आई म सँग भेट भएकाले हामीले नियन्त्रणमा लिएको एक जना केटालाई प्रहरीको जिम्मा लगाएका हौँ । प्रहरी आईसके पश्चात् मात्र स्वयम सेवक समेतको टोली घटनास्थलमा आइपुगेको थियो । बाँके घर बताउने २ जना केटाहरूलाई समेत ल्याइयो र अन्तमा ४ जना केटाहरू ल्याई ७ जना केटाहरूलाई प्रहरीले बाटोमा ल्याई सँगै राखेका हुन् । ती केटाहरू मध्ये दाह्री पालेको मोटो केटालाई मुखमा चोटपटक लागेको देखेको हुँ, सो ठाउँमा प्रतिवादीहरू प्रेम बहादुर मल्ल, डिल्ली मल्ल, मान बहादुर मल्ल, तुल बहादुर मल्ल, समेतलाई देखेको हुँ, नदी पारी समेत मान्छेहरू हिँड्दै गरेको देखेको थिएँ । ५ जना केटाहरू नदी पारी फेला परेको पछि सुने, अन्य प्रतिवादीहरू के कता थिए देखिन । म घटनास्थल पुगेपछि अन्तमा ३ जना मानिसहरू भेरीमा बगे भन्ने कुरा प्रतिवादी प्रेम बहादुर मल्ल र तुल बहादुर मल्लले भनेपछि सुनेको हुँ । मैले कसैलाई कुटपिट गरेको होइन, मृतक नवराज विकसमेत निजसँग रहेका ६ जना मृतकलाई कसले कर्तव्य गरी मार्यो मलाई थाहा भएन ।’

हाल जन्मकैदको फैसला सुनाइएका तत्कालीन वडाध्यक्ष डम्बर बहादुर मल्लले यस्तो बयान दिएका भए पनि अन्य प्रतिवादीहरूले पोल गर्ने समयमा भने उनी आफैँ हत्यामा संलग्न भएको बयान दिएका थिए । तत्कालीन वडाध्यक्ष मल्ल आफैँ घटनास्थलमा रहेको, ढुङ्गा र लाठीले हिर्काएको र नदीमा बग्दै गरेको समेत प्रत्यक्ष देखेको बयान दिएका थिए । अन्य प्रतिवादीहरूको पोल बयानकै आधारमा मल्ललाई समेत जन्मकैदको फैसला सुनाइएको हो । 

मुलुकी अपराध संहिताले नयाँ कानुन आएपछि भएको जन्मकैदको फैसलामा जन्मकैद पाएका व्यक्तिले कम्तीमा २५ वर्ष कारागारमा बिताउनुपर्ने उल्लेख गरेको छ । 

फैसलाको पूर्ण पाठ आउन भने बाँकी रहेकाले इजलासले के कति आधारमा कर्तव्य ज्यानमा दोषी ठहर गरियो र छाडिएकालाई के कति आधारमा सफाइ दिइयो भन्ने कुरा बाहिर आएको छैन । फैसलाको पूर्ण पाठ आउन भने केही समय लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप