नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर

समाचार सारांश
- स्कटल्याण्डमा भएको त्रिदेशीय टी-२०आई सिरिजमा नेपाल र नेदरल्यान्ड्सले तीन सुपर ओभर खेलेर कीर्तिमान बनाए।
- पहिलो र दोस्रो सुपर ओभरमा दुवै टिमले बराबरी खेलेपछि तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले जित हासिल गर्यो।
- दीपेन्द्रसिंह ऐरीको छक्काले दोस्रो सुपर ओभरमा खेललाई तेस्रो ओभरमा पुर्यायो, तर नेपाल शून्य रनमा आउट भयो।
काठामाडौँ । स्कटल्याण्डकाे टिटवुडमा भएको त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्ड्सले क्रिकेट इतिहासमै पहिलो पटक तीन सुपर ओभर खेलेर कीर्तिमान बनाएका छन्।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो, तर नेदरल्यान्ड्सले अन्तिम बलमा चौका प्रहार गर्दै स्कोर बराबरी गर्यो र दोस्रो सुपर ओभर पुग्यो।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन बनायो, नेपालले अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीको छक्का मार्फत स्कोर बराबरी गर्दै खेललाई तेस्रो सुपर ओभरमा पुर्यायो।
तेस्रो सुपर ओभरमा नेपाल शून्यमा अलआउट भयो। माइकल लेभिटले पहिलो बलमै छक्का हानेर नेदरल्यान्ड्सलाई ऐतिहासिक जित दिलाए। यसअघि कुनै पनि अन्तर्राष्ट्रिय वा घरेलु क्रिकेटमा तीन सुपर ओभरसम्म खेल पुगेको थिएन।
पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अफगानिस्तानबीच सन् २०२४ को जनवरीमा दुई सुपर ओभर भए पछिको यो दोस्रो खेल हो।
सन् २०१९ को विश्वकप फाइनलपछि नियम परिवर्तन गरिँदै खेल बराबरी भएमा सुपर ओभर दोहोर्याउने प्रावधान लागू गरिएको थियो। यसअघि भारत–अफगानिस्तान (पुरुष), र फिजी–फ्रान्स (महिला) खेलमा मात्र दुई सुपर ओभर भएका थिए। तीन सुपर ओभर हुने यो पहिलो आधिकारिक क्रिकेट खेल हो।