बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउने बहस

जलवायु परिवर्तनमा नेपालको योगदान नभएपनि असर भोगिरहेको छ : मन्त्री महत
शुक्रबार, २२ मङ्सिर २०८०, १९ : ३८
शुक्रबार, २२ मङ्सिर २०८०

पोखरा । पोखरामा आठौँ संस्करणको पर्वतीय महोत्सव सुरु भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा सुरु भएको महोत्सवमा जलवायु परिवर्तन र हिमालय क्षेत्रको संरक्षणबारे बहस चलेको छ । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनमा नेपालको कुनै योगदान नभएपनि असर भोगिरहेको बताए । ‘जलवायु परिवर्तनको मुख्य कारक विकसित र ठुला राष्ट्रहरु हुन् । त्यसको प्रभाव नेपालले खेपिरहेको छ,’ उनले भने, ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भूभाग भारत बंगलादेशसम्म पुग्नेवाला छ ।’

उनले नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शून्यमा झार्ने लक्ष्य लिएको बताए । ‘नेपाल सन् २०४५ सम्म कार्बन शून्यमा पुग्छ । हामीले हाम्रो लक्ष्य पूरा गरेपनि अरू मुलुकका कारण प्रभाव रोकिनेवाला छैन,’ उनले धनी राष्ट्रतिर लक्षित हुँदै थपे, ‘हामीले जुन क्षति व्यहोरेका छौँ, त्यो क्षतिका लागि तपाईंहरु नै जिम्मेवार हुनुस् ।’

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको बताए । ‘हाम्रा हिमालमा जति हिउँ पर्नुपर्ने हो, जति समयसम्म रहनुपर्ने हो त्यस्तो भइरहेको छैन । हिमालहरु उजाड बन्दै गएका छन्,’ उनले भने, ‘बाढी पहिरोले हिमालभन्दा मुनि बस्ने जनताको जीवनमा धेरै प्रभाव पारेको छ ।’ नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरुले जलवायु परिवर्तनको असर परेको हिमालको यकिन गर्नुपर्ने बताए । ‘ठ्याक्कै कुन हिमालमा असर परेको छ, त्यसको पहिचान हुनुपर्या,’  उनी भन्छन्, ‘हिमालमा फोहोर पनि थुप्रिएको छ । अब सचेत हुनुपर्छ ।’

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले बताइन् । उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । यस्तै, पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप