शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
शान्ति सेना

शान्ति मिसनमा करिब ६ हजार नेपाली सैनिक

मिसनमा खटिने नेपाली सैनिकमा ९ दशमलव ५७ प्रतिशत महिला
शुक्रबार, २२ मङ्सिर २०८०, २० : ५९
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । शान्ति सेनामा नेपाली सैनिकको संख्या करिब ६ हजार पुगेको छ । कन्टिनजेन्ट, मिलिटरी अब्जर्भर र स्टाफ अफिसरसहित अहिले युद्ध भइरहेका देशमा ५ हजार ९६४ जना नेपाली सैनिक परिचालन गरिएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले मिसनमा सैनिक संख्या बढाउने बताएका छन् । सम्मेलनमा उनले भनेका छन्, ‘१० हजार शान्ति सैनिक पठाउन हामी तयार छौँ ।’

तर, खड्काले भने अनुसार तत्काल मिसनमा सैनिक संख्या थपिने सम्भावना नरहेको जानकारहरु बताउँछन् । अवकाश प्राप्त एक जना सैनिक अधिकारी भन्छन्, ‘नयाँ मिसन थप भएमा मात्र संख्या थपिन्छ, अन्यथा पुराना मिसनहरुमा थप्ने सम्भावना देखिँदैन ।’

राष्ट्रसंघले मिसनमा सैनिक संख्या बिस्तारै घटाइरहेको छ । गाजा र युक्रेनमा राष्ट्रसंघले शान्ति सेना खटाउने निर्णय गरेमा मात्र नेपाली सैनिकलाई ती क्षेत्रमा खटाउने सम्भावना हुने सैनिक अधिकारीहरु बताउँछन् । प्यालेस्टाइनको विद्रोही समूह हमास र इजरायली सैनिकबिच गाजामा लडाइँ भइरहेको छ ।

राष्ट्रसंघका १२ वटा मिसनमा नेपाली सैनिक खटिएका छन् । अहिले नेपाल शान्ति सेना पठाउने मुलुकमध्ये दोस्रो नम्बरमा छ । तर, महिला सैनिक पठाउने मुलुकमध्ये नेपाल पहिलो नम्बरमा छ ।

सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ । सिरियामा फोर्स कमाण्डर छन् उपरथी निर्मल कुमार थापा । लेवनान मिसनमा नेपाली सेनाका सहायक रथी चोक बहादुर ढकाल सह–फोर्स कमाण्डर छन् । न्युयोर्कस्थित युएन हेड्क्वार्टरमा ६ जना नेपाली सैनिक कार्यरत छन् । युएन मुख्यालयमा एडभाइजरको रुपमा एक जना महासेनानी र अन्य ५ जना कार्यरत रहेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए ।

सिरिया, पश्चिमी साहारा, माली, कार (सेन्ट्रल अफ्रिकन रिपब्लिक), कङ्गो, लेबनान, इराक, इजरायल, लिबिया, यमन, सुडान र दक्षिण सुडानमा नेपाली सैनिक परिचालित छन् । आगामी दिनमा कुल फौजको १० प्रतिशतलाई शान्ति सेनामा पठाउने योजना अनुसार आवश्यक हातहतियार तथा सैन्य सामग्रीहरुको व्यवस्थापन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

५७३ महिला सैनिक

संयुक्त राष्ट्रसंघको आग्रहपछि नेपाली सेनाले युएन मिसनमा महिला सैनिकको संख्या बढाउन थालेको छ । गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ अहिले ५४४ जना महिला सैनिक कार्यरत छन् । मिलिटरी अब्जर्भर र स्टाफ अफिसरको रुपमा २९ सहित शान्ति मिसनमा खटिने सैनिक मध्येमा ९ दशमलव ५७ प्रतिशत महिला रहेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्टतर्फ १५ प्रतिशत र अब्जर्भरतर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई आग्रह गरेको छ ।

नेपाली सेनाले सन् १९९२ देखि युएन मिसनमा महिलालाई पठाउँदै आएको छ । मिसनमा पुरुषको दाँजोमा महिलाले छिटो सहभागिताको अवसर पाउने गरेका छन् । सेनाको कुल संख्याको ८ प्रतिशत महिला छन् । राष्ट्रसंघकोे मापदण्ड अनुसार महिला सैनिक पठाउँदा वरीयता मिचिने गरेको सैन्य अधिकारीहरु बताउँछन् ।

राष्ट्रसंघीय मिसन मालीमा सेनामा भर्ना भएको ३ वर्ष पूरा भएका महिला सहभागी छन् । तर, पुरुषतर्फ १३ वर्ष जागिर पुगेका सैनिक पनि जान पाएका छैनन् । महिला सैनिकको संख्या थोरै भएकाले सो अवस्था आएको जंगी अड्डाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नेपाली सेनामा १९६९ देखि प्राविधिक विधामा महिलालाई भर्ना लिन थालिएको थियो । सन् २००४ देखि साधारण समूहमा भर्ना लिन थालियो । सन् २००५ बाट नेपाली सेनाले महिलालाई अधिकृत पदमा भर्ना लिन थालेको थियो ।

सेनामा अहिले कुल ७ हजार १ सय ६२ जना महिला छन् । तीमध्ये ३ सय ८८ जना अधिकृत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप