शान्ति मिसनमा करिब ६ हजार नेपाली सैनिक
काठमाडौँ । शान्ति सेनामा नेपाली सैनिकको संख्या करिब ६ हजार पुगेको छ । कन्टिनजेन्ट, मिलिटरी अब्जर्भर र स्टाफ अफिसरसहित अहिले युद्ध भइरहेका देशमा ५ हजार ९६४ जना नेपाली सैनिक परिचालन गरिएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले मिसनमा सैनिक संख्या बढाउने बताएका छन् । सम्मेलनमा उनले भनेका छन्, ‘१० हजार शान्ति सैनिक पठाउन हामी तयार छौँ ।’
तर, खड्काले भने अनुसार तत्काल मिसनमा सैनिक संख्या थपिने सम्भावना नरहेको जानकारहरु बताउँछन् । अवकाश प्राप्त एक जना सैनिक अधिकारी भन्छन्, ‘नयाँ मिसन थप भएमा मात्र संख्या थपिन्छ, अन्यथा पुराना मिसनहरुमा थप्ने सम्भावना देखिँदैन ।’
राष्ट्रसंघले मिसनमा सैनिक संख्या बिस्तारै घटाइरहेको छ । गाजा र युक्रेनमा राष्ट्रसंघले शान्ति सेना खटाउने निर्णय गरेमा मात्र नेपाली सैनिकलाई ती क्षेत्रमा खटाउने सम्भावना हुने सैनिक अधिकारीहरु बताउँछन् । प्यालेस्टाइनको विद्रोही समूह हमास र इजरायली सैनिकबिच गाजामा लडाइँ भइरहेको छ ।
राष्ट्रसंघका १२ वटा मिसनमा नेपाली सैनिक खटिएका छन् । अहिले नेपाल शान्ति सेना पठाउने मुलुकमध्ये दोस्रो नम्बरमा छ । तर, महिला सैनिक पठाउने मुलुकमध्ये नेपाल पहिलो नम्बरमा छ ।
सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ । सिरियामा फोर्स कमाण्डर छन् उपरथी निर्मल कुमार थापा । लेवनान मिसनमा नेपाली सेनाका सहायक रथी चोक बहादुर ढकाल सह–फोर्स कमाण्डर छन् । न्युयोर्कस्थित युएन हेड्क्वार्टरमा ६ जना नेपाली सैनिक कार्यरत छन् । युएन मुख्यालयमा एडभाइजरको रुपमा एक जना महासेनानी र अन्य ५ जना कार्यरत रहेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए ।
सिरिया, पश्चिमी साहारा, माली, कार (सेन्ट्रल अफ्रिकन रिपब्लिक), कङ्गो, लेबनान, इराक, इजरायल, लिबिया, यमन, सुडान र दक्षिण सुडानमा नेपाली सैनिक परिचालित छन् । आगामी दिनमा कुल फौजको १० प्रतिशतलाई शान्ति सेनामा पठाउने योजना अनुसार आवश्यक हातहतियार तथा सैन्य सामग्रीहरुको व्यवस्थापन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
५७३ महिला सैनिक

संयुक्त राष्ट्रसंघको आग्रहपछि नेपाली सेनाले युएन मिसनमा महिला सैनिकको संख्या बढाउन थालेको छ । गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ अहिले ५४४ जना महिला सैनिक कार्यरत छन् । मिलिटरी अब्जर्भर र स्टाफ अफिसरको रुपमा २९ सहित शान्ति मिसनमा खटिने सैनिक मध्येमा ९ दशमलव ५७ प्रतिशत महिला रहेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्टतर्फ १५ प्रतिशत र अब्जर्भरतर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई आग्रह गरेको छ ।
नेपाली सेनाले सन् १९९२ देखि युएन मिसनमा महिलालाई पठाउँदै आएको छ । मिसनमा पुरुषको दाँजोमा महिलाले छिटो सहभागिताको अवसर पाउने गरेका छन् । सेनाको कुल संख्याको ८ प्रतिशत महिला छन् । राष्ट्रसंघकोे मापदण्ड अनुसार महिला सैनिक पठाउँदा वरीयता मिचिने गरेको सैन्य अधिकारीहरु बताउँछन् ।
राष्ट्रसंघीय मिसन मालीमा सेनामा भर्ना भएको ३ वर्ष पूरा भएका महिला सहभागी छन् । तर, पुरुषतर्फ १३ वर्ष जागिर पुगेका सैनिक पनि जान पाएका छैनन् । महिला सैनिकको संख्या थोरै भएकाले सो अवस्था आएको जंगी अड्डाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपाली सेनामा १९६९ देखि प्राविधिक विधामा महिलालाई भर्ना लिन थालिएको थियो । सन् २००४ देखि साधारण समूहमा भर्ना लिन थालियो । सन् २००५ बाट नेपाली सेनाले महिलालाई अधिकृत पदमा भर्ना लिन थालेको थियो ।
सेनामा अहिले कुल ७ हजार १ सय ६२ जना महिला छन् । तीमध्ये ३ सय ८८ जना अधिकृत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण