बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

चिसो बढ्यो : जनतालाई चिसोबाट जोगाउने सरकारको के छ तयारी ?

गर्भवती, नवजात शिशु, वृद्धवृद्धा, मुटु, मधुमेह र दमका रोगीहरुको विशेष हेरचाह गर्न डाक्टरको सुझाव
शनिबार, २३ मङ्सिर २०८०, ०६ : २४
शनिबार, २३ मङ्सिर २०८०

विराटनगर । यस वर्षको चिसो सुरु भएको छ । दुई दिन यता हल्का वर्षाका कारण पूर्वी तराईका जिल्लामा ह्वात्तै चिसो बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबारको तापक्रम न्यूनतम १८ डिग्री सेल्सियस र अधिकतम २४.४ डिग्री सेल्सियस मापन गरिएको छ । विराटनगरमा दुई दिन यता कुहिरो र हुस्सु लागेको छ ।

बिहीबार दिउँसो केहीबेर हल्का वर्षासमेत भएको थियो । पहाडी जिल्लाका कतिपय ठाउँमा हिमपात र वर्षासमेत भएको मौसम विज्ञान विभागको भनाइ छ ।

यस्तै शुक्रबार बिहान सबैभन्दा कम तापक्रम सुदूरपश्चिमको धनगढीमा मापन गरिएको छ । धनगढीको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस, नेपालगञ्जको १३.५, भैरहवाको १६.३, सिमराको १४.८ र जनकपुरको १७.५ डिग्री सेल्सियस छ ।

तापक्रम घट्ने दर शनिबार र आइतबार पनि जारी रहनसक्ने मौसम विभागको अनुमान छ । मौसम विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

चिसोबाट जोगाउने सरकारको तयारी के छ ?

चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदाय हुने गर्दछन् । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर सबै पालिकालाई पूर्व तयारी गरेर राख्न निर्देशन दिएको बताए ।

‘स्थानीय तहलाई कोही पनि मानिसको जाडोबाट ज्यान नजाने गरी तयारी गर्न निर्देशन दिएका छौँ, यस पटक हामीले राम्रो तयारी गरेका छौँ,’ यादवले भने, ‘चिसोबाट बच्नका लागि सर्वसाधारणले पनि सावधानी अपनाएर बस्नुपर्छ ।’

जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न फिजिसियन डाक्टर डेनप्रसाद आचार्यले सुझाव दिए । गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या पार्ने भएकाले विशेष ख्याल गर्न पनि उनले सर्वसाधारणलाई सुझाव दिए ।

यादवले जाडोमा घुर ताप्दा धुवाँले निस्सासिएर पनि ज्यान जानसक्ने र आगो नभिभाइ सुत्दा रातको समयमा आगलागी हुनसक्ने जोखिम पनि हुने हुँदा सर्वसाधारणलाई सचेत गराउनु पर्ने बताए ।

यता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले यसअघिका जाडो याममा जस्तै प्रदेश सरकारले राहतका कार्यक्रमहरु राख्ने बताए । ‘चिसोबाट बचाउन के कसरी सकिन्छ र मानिसको मृत्यु हुन नदिनका लागि के के उपाय अपनाउन सकिन्छ भनेर तयारी गर्न हामीले निर्देशन दिएका छौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अघिल्लो वर्षतिर प्रदेश सरकारले कम्बल बाँडेको थियो । यस वर्ष पनि विपन्न समुदाय लक्षित गरेर त्यस्तै खालका कार्यक्रम राखिन्छ ।’

स्थानीय प्रशासनले ठाउँठाउँमा दाउरा वितरण गर्ने पनि तयारी गरेका छन् ।

विशेष सतर्कता अपनाउन डाक्टरको सल्लाह

यसैबिच चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन डाक्टरले सुझाव दिएका छन् ।

फिजिसियन डाक्टर डेनप्रसाद आचार्यले चिसो हावामा बाहिर ननिस्कने, निस्कनै परे न्यानो कपडाले जिउ पूरै ढाकेरमात्रै बाहिर जाने, झोल प्रशस्त खानुपर्ने सुझाव दिए ।

जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि उनले सुझाव दिए । गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या पार्ने भएकाले विशेष ख्याल गर्न पनि उनले सर्वसाधारणलाई सुझाव दिए । जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइडेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने उनले सुझाव दिए । यस्तै मधुमेह भएका बिरामीका लागि चिनी र दूध नहालेको चिया खाने, घरभित्र बसिराख्दा सामान्य योग अभ्यासहरु गर्न पनि उनले सुझाव दिए । यस्तै मुटुका रोगी र दमका रोगीहरुले दाउरा बालेर धुवाँमा बस्न नहुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप