आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्कल्प यात्रा

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने तीन जना पहिचानवादी हलेसीबाट पक्राउ

सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरीको दाबी
मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ५७
मङ्गलबार, २६ मङ्सिर २०८०

विराटनगर । नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन । 

खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे । यस्तै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरूले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । ‘अवरोध गर्ने हो, बाटो बन्द गर्ने हो शान्तिपूर्ण ढंगले अवरोध हुन्छ,’ उनले भने । 

उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको जानकारी दिए । 

मङ्सिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी सङ्कल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मीबाट प्रवेश गर्दैछ । यात्रालाई एमाले अध्यक्ष केपी ओलीले नै नेतृत्व गरेका छन् । 

पहिचानवादीहरूले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् । 

‘कोशीको पक्षमा हामीलाई नानाथरी गालीगलौज गर्दै हिँड्ने खड्गप्रसाद ओली, योगेश भट्टराई र महेश बस्नेत आएनन् भने हामी अवरोध गर्दैनौँ,’ पहिचानवादी नेता गोपाल किराँतीले भने, ‘हाम्रो विरोध एमालेसँग होइन, कोशीका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र एमालेका तीन नेताहरूसँग मात्र हो ।’ पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने एमालेको सङ्कल्प यात्राको क्रममा आज उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिएको छ । 

एमालेको कार्यक्रममा अवरोध गर्ने गरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको छ । सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको छ ।

प्रदेश प्रहरीले एसएसपी जयप्रसाद सापकोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन् भने मध्य भागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबासस्थलमा कडाइ गरिनेछ ।

उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ सङ्कल्प यात्रा तय गरेको जनाएको छ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप