सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने

मङ्गलबार, २६ मङ्सिर २०८०, १९ : ०५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेकी हुन् । 

हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताइन्। राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भनिन्, ‘विनाशकारी भूकम्पका कारण विशेष गरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति अन्य व्यक्तिहरूभन्दा बढी प्रभावित भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । युरोपेलीसंघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थायी वासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरूको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।’

सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । टेन्टमा ३ वटा कोठा हुने र त्यसले चिसोबाट बच्नका लागि सुरक्षा प्रदान गर्ने ईयूले जनाएको छ । टेन्टमा खाना पकाउनका लागि स्टोभको पनि व्यवस्था छ ।

यस्तै सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सय वटा बढी अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा विनाशकारी भूकम्प गए पश्चात् बढ्दो चिसोका कारण हालसम्म ३ बालबालिकासहित ३२ जनाको मृत्यु भइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप