शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा प्रदेश गौरव आयोजनामा पौने ८ करोड सकियो, सडक अलपत्र

बुधबार, २७ मङ्सिर २०८०, ०९ : १०
बुधबार, २७ मङ्सिर २०८०

धनगढी । कैलाली जिल्लामा सञ्चालित एक प्रदेश गौरवको आयोजना अपपत्र देखिएको छ । सम्बन्धित निकायको बेवास्ता र ठेकेदारको लापरबाहीले गर्दा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको गौरव आयोजनामा उल्लेख आयोजना अलपत्र परेको हो ।

सो सडक आयोजना सडक पाँच वर्षदेखि अलपत्र परेको छ । भने सडकअन्तर्गत ठेक्का लागेको तीन किलोमिटर सडक तीन वर्ष बितिसक्दा पनि बेससमेत निर्माण हुन नसकेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ बाट ठेक्का लगाइएको प्रदेश गौरवको भजनी (छोटी भन्सार) देखि खिमडीमा पर्ने ठूलीगाडसम्मको सडक अलपत्र परेको हो । ६० किलोमिटर लम्बाइ रहेको सो सडकको सम्पूर्ण लम्बाइमा काम गर्न गर्न एक अर्ब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि प्रदेश सरकारले बौनिया बजारबाट उत्तरतर्फ तीन किलोमिटर सडक कालोपत्रे गर्न २०७७ साउन १८ गते ठेक्का सम्झौता गरेको थियो ।

सात करोड ७४ लाख ६८ लाखमा ठेक्का कबुल गरेको केएस टेडी मणिलेक जेभीले पूर्वाधार विकास कार्यालय कैलालीबाट सात करोड ९४ हजार भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले निर्माण सम्पन्न गरी कार्यालयबाट भुक्तानी लिन ७३ लाख ७४ हजार मात्रै भुक्तानी लिन बाँकी छ । तर, निर्माणको काम भने चार वर्षमा सबबेससम्म मात्रै सम्पन्न गरेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य ढिलो भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसका साथै जग्गा र एलाइनमेन्ट विवादको कारणले पनि निर्माणमा ढिलासुस्ती भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका सबइन्जिनियर दुर्गा अवस्थीले बेस र पिचको काम बाँकी रहेको बताए । उनले पटक पटक निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न ताकेता गर्दा बेस निर्माण गर्ने गिट्टी बोक्न थालेको बताए ।

उनले निर्माण कम्पनीलाई दोस्रो पटक थप गरिएको म्याद फागुनमा सकिने बताए । सो तीन किलोमिटर सडकमा नाली, सबग्रेड, सबबेस, टेवा पर्खाल, कल्भर्ट निर्माणको काम मात्रै सम्पन्न भएको छ । 

प्रदेश सरकारले प्रदेश गौरवको यो सडक निर्माण गर्नका लागि आर्थिक वर्ष ०७७÷०७८ मा चार करोड, ०७८÷०७९ मा एक करोड, ०७९÷०८० मा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेका थियो भने चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । यद्यपि, यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भएमा निर्माण कम्पनीलाई पौने ७४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

प्रदेश गौरवको सडक निर्माण गरी प्रदेश र जिल्ला केन्द्रसंँग विभिन्न स्थानीय तहलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यका सार्थ प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट २०७५ चैत ११ गतेको प्रदेशका नौवटै जिल्लामा एक÷एक वटा प्रदेश गौरवको सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

कैलालीको भजनी नगरपालिका, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिका जोड्ने उक्त सडकलाई प्रदेश गौरवको आयोजनाअन्तर्गत निर्माण गर्ने निर्णय भए पनि सो सडक निर्माणमा प्रदेश सरकारले तत्परता देखाएको छैन । प्रदेश गौरवको आयोजनामा परेको आठ जिल्लाका सडकमा प्रत्येक वर्ष ठेक्का लागेका सडक निर्माण सम्पन्न हुँदै नयाँ ठेक्का लाग्ने र थप सडकको डिपिआरसमेत बनिरहेको छ तर कैलालीमा तीन किलोमिटर ठेक्का लगाउनु बाहेक अर्को काम हुन सकेको छैन ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सबडिभिजनल इन्जिनियर रामचन्द्र खत्रीका अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नदिएकोले थप काम अगाडि बढ्न नसकेको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप