सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

पशुपालक किसानको पीडा : दाना र औषधि खरिद नगदमा, दुध बिक्री उधारोमा

किसानलाई दुधको करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी
बिहीबार, २८ मङ्सिर २०८०, ०६ : ११
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । तनहुँको एक दुध बिक्री सहकारीमा एक सय जना किसान आवद्ध छन् । करिब ६० किसानले बजारमा दैनिक दुध पुर्याएका छन् तर उधारोमा । गाई-भैंसी पाल्न आवश्यक पर्ने दाना, औषधि लगायत नगदमा खरिद गर्नुपर्ने तर दुध उधारोमा बेच्नुपर्ने बाध्यता रहेको तनहुँका गाई पालक किसान हिरा बहादुर सापकोटाले बताए ।

‘किसानलाई समस्या छ,’ उनी भन्छन्, ‘दाना, औषधिहरु नगदमा खरिद गर्नुपर्छ तर दुध उधारोमा बिक्री गरिरहेका छौँ ।’ असोज यता यहाँका किसानले दुध बिक्री गरे बापतको रकम पाउन नसकेको सापकोटाले बताए । उनले मात्रै दुध बिक्रीबापतको करिब ३ लाख रुपैयाँ पाउन बाँकी छ ।

सापकोटाका अनुसार सो क्षेत्रका किसानले दुई सयदेखि साढे दुई सय गाई÷भैँसी पालेका छन् । उनीहरुले दुध बिक्री बापत करिब ४० लाख रकम भुक्तानी पाउन बाँकी छ ।

देशभरका किसानले दाना, औषधि लगायत दुध उत्पादनका लागि आवश्यक पर्ने पदार्थ नगद खरिद गरे पनि दुध उधारोमा बिक्री गर्न बाध्य भएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका पशु चिकित्सक डा. प्रकाश अधिकारीले बताए । ‘देशभरका किसानले दुध उत्पादनमा नगद लगानी गरेका छन्,’ उनले भने, ‘तर दुध उधारोमा बिक्री गर्न बाध्या छन् ।’

बोर्डका अनुसार देशभरका किसानलाई सरकारी स्वामित्वमा रहेको डीडीसी लगायत निजी क्षेत्रका साना, मझौला र ठुला गरी ६ सय दुग्ध उद्योगले करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार दुईदेखि तीन महिना यता दुधको रकम भुक्तानी हुन सकेको छैन । उनले भने, ‘किसान र डेरी उद्योगहरुबिच आउँदो माघभित्र सबै रकम भुक्तानी गर्नुपर्ने सहमति भएको छ, यदि दुध उद्योगीले बाँकी रकम भुक्तानी नगरेमा कारबाही गरिने छ ।’

बोर्डका अनुसार देशभरका किसानलाई सरकारी स्वामित्वमा रहेको डीडीसी लगायत निजी क्षेत्रका साना, मझौला र ठुला गरी ६ सय दुग्ध उद्योगले करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘सानो रकममा कारोबार गर्ने डेरी उद्योगमा दुधको रकम भुक्तानी गर्न समस्या देखिँदैन,’ यादवले भने, ‘ठुलो रकममा कारोबार गर्ने डेरी उद्योगमा भुक्तानीको समस्या छ ।’

दुधको हकमा निर्धारण भएको न्युनतम खरिद मूल्य अनुसार किसानबाट दुध खरिद गर्न सरोकारवाला निकायलाई सरकारले निर्देशनसमेत दिएको बोर्डले जनाएको छ । आगामी माघ मसान्तभित्र दुग्ध उद्योगले बाँकी रकम भुक्तानी गर्नुपर्ने छ । बोर्डका कार्यकारी निर्देशक यादवका अनुसार दुध खरिदको अधिकतम बाँकी रकम पुसभित्र भुक्तानी गर्नुपर्ने र माघको मसान्तसम्ममा देशभरका किसानलाई रकम चुक्ता गर्नुपर्ने छ ।

त्यसपछि किसानबाट दुध खरिद गरी नियमित रुपमा उद्योगी व्यवसायीले १५-१५ दिनमा रकम भुक्तानी गर्नुपर्ने उनले उल्लेख गरे । पछल्लो समय आर्थिक मन्दी, दुधको क्रयशक्ति कम भएकाले रकम भुक्तानी हुन नसकेको उनले जनाए । चार युनिट फ्याट र ८ युनिट एसएनएफ भएको प्रतिलिटर कच्चा दुधको ६५ रुपैयाँ मूल्य निर्धारण गरिए अनुसार किसानबाट दुध खरिद गर्न बोर्डले सरोकारवाला निकायलाई निर्देशनसमेत दिएको जनाएको छ । २०७९ फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले दुधको सो मूल्य निर्धारण गरेको बोर्डले उल्लेख गरेको छ ।

पछिल्लो समयमा निर्धारित मूल्यभन्दा कम मूल्यमा किसानबाट दुध खरिद गरी बजारमा महँगोमा बिक्री गरेको गुनासोको आधारमा बोर्डले न्यूनतम समर्थन मूल्यमा दुध खरिद गर्न निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप