सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

परिवर्तनको संवाहक

बिहीबार, २८ मङ्सिर २०८०, १० : ५७
बिहीबार, २८ मङ्सिर २०८०

म देख्छु पूर्व क्षितिजको डाँडाबाट 
प्रतिरोधको उज्यालो घाम अन्धकार चिर्दै आइरहेको 
जसको हातमा छ मोती जस्तै टल्कने विचारको हतियार 
हो त्यही विचारको हतियार बोकेर 
कसरी सडकबाट उठेको कविले 
सदिऔँदेखिको निरङ्कुश शासन ढालिदिन सक्छ 
मान्यवर त्यो कलमको शक्तिलाई कमजोर नठान्नुहोस् । 

हेर्नुहोस् अब विद्रोहका आवाज मेघ गर्जनसहित
कसरी क्रान्तिको झिल्का भएर आउँछ 
अनि जागरणका ज्वारभाटाले
कसरी किनारीकृत चेतनालाई जगाउँछ 
त्यो बिहानीको उज्यालो घाम 
एक युगको पुरानो अपुरो अगमवाणी
जो समयको पूर्णतामा एक दिन पूरा भएर आउँछ 

एकल नश्लीय शासक र शोषणविरुद्ध
विभेदकारी समाज र सामन्ती व्यवस्थाविरुद्ध
पितृसत्ता र पुरुषप्रधान हेजेमोनी नायकत्वविरुद्ध 
भूमाफिया, विचौलिया र दलाल पुँजीवादविरुद्ध
तानाशाही महत्त्वकाङ्क्षा बोकेका उग्रवादी राष्ट्रवादविरुद्ध
शून्य विचारको उपज फगत भिडहरूका मसिहावादविरुद्ध 

बिहानी झिसमिसेमै आगोको अक्षर बोकेर 
एउटा नवीन क्रान्तिकारी कवि फेरि सडकमा आउँछ 
गोधुलीमा संसार बदल्न निस्केको परिवर्तनको संवाहक 
एउटा नवीन क्रान्तिकारी गीतकार फेरि सडकमा आउँछ

हेर ती सबै नयाँ हुने छन् 
राष्ट्रिय एकताको प्रतीक नवीन परिभाषा हुने छ 
आत्मीय जागृतिको प्रतीक नवीन भावना विस्तारित हुने छ 
सृजनशील विचारको प्रतीक आलोचनात्मक चेत मुखरित हुने छ 

र फेरि देख्नेछौ हामीले सडकमा कसरी मुक्तिको आन्दोलनले स्थापित प्रतिरोधात्मक विचारहरूको विशाल विजय जुलुस 
र देख्नेछौ सारा नेपालीले गाएको एउटा नवीन उत्सवको गीत 

तिमी भन्न सक्छौ शासकसँग त हमेसा सत्ता हुन्छ 
तर जनतासँग शासकको भन्दा शक्तिशाली सत्ता छ 
त्यो बहुमतविरुद्ध एक्लै पनि सडकमा उभिने साहस राख्छ 

किनभने
बेला आएको छ
नवीन युगको आँगनमा उदाउन तयार 
नवीन क्रान्तिकारीहरू जसको दिव्य मुहारमा सत्यको प्रकाश छ 
जसको हातमा सिरुको पात जस्तै धारिलो सत्यको तरबार छ 

म देख्दछु पूर्वक्षितिजको डाँडाबाट 
प्रतिरोधको दिव्यवाण अन्धकार चिर्दै चिर्दै आइरहेको 
जसको हातमा छ एकलव्य– गाण्डिव
जो युग परिवर्तन गर्ने विचारको शक्तिशाली हतियार हो ।

हाल : बेलायत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खुपेन सुनुवार
खुपेन सुनुवार
लेखकबाट थप