७८ लाख अमेरिकी डलरमा बिक्री भयो मेस्सीको जर्सी, म्याराडोनाको कीर्तिमान तोडिएन
काठमाडौँ । कतार विश्वकपका क्रममा अर्जेन्टिना स्टार लियोनल मेस्सीले लगाएको जर्सी निकै ठुलो रकममा बिक्री भएको छ । सन् २०२२ मा सम्पन्न विश्वकपका क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सीको सेट कुल ७८ लाख अमेरिकी डलर (करिब एक अर्ब तीन करोड ४८ लाख २६ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको हो ।
मेस्सीले उक्त विश्वकपमा लगाएको जर्सी अमेरिकाको न्यु योर्कमा लिलामीमा राखिएको थियो । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो । अर्जेन्टिनाले उक्त विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
मेस्सीले उक्त विश्वकपको समूहगत चरणको खेलमा लगाएको दुईसहित प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो । कुनै पनि फुटबल खेलाडीले खेलका क्रममा लगाएको जर्सी लिलामीबाट प्राप्त भएको यो इतिहासकै दोस्रो ठुलो सर्वाधिक रकम पनि हो ।
यसअघि अर्जेन्टिनाकै सर्वकालीन महान फुटबलर डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्ड (करिब एक अर्ब २० करोड २५ लाख २७ हजार नेपाली रुपैयाँ) मा लिलामी भएको थियो । म्याराडोनाले एक खेलका क्रममा हातले गोल गरेका थिए । उनको त्यो गोललाई रेफ्रीले समेत ठम्याउन सकेका थिएनन् ।
त्यसपछि म्याराडोनाले त्यो गोललाई भगवानको हातबाट भएको गोल (ह्यान्ड अफ गड) भनेर सम्बोधन गरेका थिए । म्याराडोनाको त्यो गोल अहिले पनि विश्वभर ‘ह्यान्ड अफ गड’ का नामले चर्चित छ । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा लिलामी गरिएको थियो ।
कीर्तिमानी रूपमा आठ पटक बालन डी’ओरको उपाधि जितिसकेका मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेसी विश्वकप फुटबलको एउटै संस्करणमा समूहगत चरण, प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एकमात्र खेलाडी पनि हुन् ।
उनले कतार विश्वकपमा सातवटा खेले खेलेका थिए । तर, समूहगत चरणमा उनले दुईवटा खेलमा एउटै जर्सी प्रयोग गरेका थिए । त्यसैले ६ वटा जर्सीमात्र लिलामीमा राखिएको हो । जर्सी लिलामीबाट प्राप्त रकमको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको सहयोगका लागि दान गरिने छ ।
जर्सी लिलामीमा सहभागी भएको सोथेबीका अनुसार, लिलामीबाट प्राप्त आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेसनको सहयोगमा सेन्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण