शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्रौनगढमा मधेस प्रदेशका मुख्यमन्त्री र नगरप्रमुखको पुत्ला दहन

दिनभर बजार बन्द
शुक्रबार, २९ मङ्सिर २०८०, २० : १४
शुक्रबार, २९ मङ्सिर २०८०

बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा शुक्रबार पीडित परिवार र स्थानीयले प्रदर्शन गर्दै बजार बन्द गरेका छन् ।

विरोधमा उत्रिएका स्थानीयले मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, सिम्रौनगढ नगरप्रमुख किशोरी साह कलवार र ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभुषण यादवको पुत्ला दहन गरेका छन् ।

मुख्यमन्त्री यादव सिम्रौनगढ निवासी हुन् । उनको सोही पालिकाको वडा नं ३ मा निजी निवास छ ।

मुख्यमन्त्रीको इशारामा प्रहरीले गोली चलाएको सिम्रौनगढ नगरपालिका वडा नं ४ का वडाध्यक्ष अवधेश सहनीको आरोप छ । उनले आज दिनभर सिम्रौनगढ बजार बन्द भएको र बिरोध स्वरुप मुख्यमन्त्री, नगरपालिका प्रमुख र ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको बताए ।

यता मृतकको परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भन्दै आन्दोलन गरेका छन् । विरोध प्रदर्शनमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसमेत सहभागी थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नगर प्रमुख किशोरी कलवारले हाजिर गराउने क्रममा दोहोरो झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

तलब र सेवा सुविधाको माग राख्दै विगत दुई महिनादेखि नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, नगर प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा बसेका कर्मचारीमाथि नगरप्रमुख र स्थानीय प्रहरी निरीक्षक रविभुषण यादवको निर्देशनमा अनावश्यक बल प्रयोग गरिएको भन्दै बिहीबार मृतकका परिवार, जनप्रतिनिधि र स्थानीयहरुले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ६ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा मृतक लक्ष्मी मुखिया विनलाई सहिद घोषणा, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता, मृतक परिवारलाई क्षतिपूर्ति तथा परिवारको व्यवस्थापन, रोजगारको ग्यारेन्टी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका दोषी प्रहरी निरीक्षक रविभुषण यादवलाई निलम्बन गरी आवश्यक कारबाही गर्ने, प्रहरी निरीक्षक यादवको कल डिटेल निकाल्नु पर्ने माग उल्लेख छ ।

घटना हुनुअघि मुख्यमन्त्री यादवसँग प्रहरी निरीक्षक यादवको पटक पटक फोनमा कुरा भएको र उनकै इशारामा झडपको स्थिति सिर्जना भइ गोली चलेको कांग्रेसका वडाध्यक्षहरुको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप