शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्कल्प यात्रा

कांग्रेस भयो भने मन्त्री पनि छुट्छ, एमालेका छुट्दैनन् : ओली

शनिबार, ३० मङ्सिर २०८०, २१ : २०
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण छुट्दा आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझी भने जेलमै बस्नुपरेकोमा आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले एमाले भएकै कारणले कोही जेलमा बस्नुपरेको आरोप लगाएका हुन् ।

सङ्कल्प यात्रा अन्तरगत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली भने, ‘मुद्दा लगाएका एउटा साथी हिजो कि अस्तिका दिन उहाँले बल्ल सफाइ पाउनुभयो । कोही साथीहरूलाई अझै मुद्दा लगाएर फसाइएको छ । कांग्रेस भयो भने मन्त्री भए पनि छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ, अनि कहाँबाट इन्साफ हुन्छ ?’

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने पनि बताए । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरूले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताए । 

उनले भने, ‘म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु–दुस्मनी गरेर कहीँ पुगिने वाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर तिनलाई शान्तिपूर्ण ढङ्गले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन् । त्यसबाट धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरू निर्वाचनका माध्यमबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ । संवादबाट शान्तिपूर्ण ढङ्गले । हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौँ भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशङ्का, अविश्वास, तनाव सृजना गर्दछ । त्यसबाट हामी गरिवका गरिब रहन्छौँ । अनि, स्विजरल्याण्ड धनी भयो, फलानो धनी भयो । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश युएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने ? यति सुन्दर देश । हामी आफैँले बनाउन सक्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप