शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पञ्चासेमा कोदो महोत्सव, ढिँडो खाने प्रतियोगिता

सोमबार, ०२ पुस २०८०, १० : ०४
सोमबार, ०२ पुस २०८०

पोखरा । कास्कीको पन्चासेमा कोदो महोत्सव हुने भएको छ । अन्नपूर्ण गाउँपालिकामा पर्ने भदौरे क्लब र आमा समूह मिलेर पुस ५ देखि ९ गतेसम्म कोदो महोत्सव गर्न लागिएको हो । 

यसअघि पनि पालिकाले कोदो उत्पादनमा जोड दिन अनुदान देखि होटलका मेन्युमा कोदोको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । अहिले पनि अन्नपूर्ण आधार शिविर जाने कतिपय होटल रेष्टुरेण्टहरुमा कोदोका परिकार मेन्युमा राखिएका छन् ।

पालिकाको यस्तो निर्णयपछि कोदो उत्पादन गर्नेहरू बढेका छन् । कोदोको बजारीकरण गर्ने उद्देश्यले नै क्लवले कोदो महोत्सव विगतदेखि गर्दै आएको छ । पछिल्ला वर्षहरुमा कोदो उत्पादन अत्यधिक घटेको छ । उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए । उनका अनुसार गाउँमा उत्पादन भएका कोदो संकलन गरेर महोत्सवमा बिक्री गरिने छ ।

यस्तै, कोदोको ढिँडो खाने प्रतियोगिता पनि आयोजना गरिएको छ । ‘लोकल कुखुराको मासुसँग कोदोको ढिँडो खाने प्रतियोगिता हुन्छ । 

यसको मुख्य उद्देश्य भनेकै कोदो स्वास्थ्यका लागि लाभदायक छ भनेर देखाउने हो,’ उनले भने, ‘ढिँडो पकाउने विधि पनि सिक्छन्, ढिँडो पनि चाख्छन् । निश्चित ढिँडो जसले छिटो खान्छ उ विजेता हुन्छ।’ अघिल्ला महोत्सवहरूमा धेरै कोदो उत्पादन गर्नेले पुरस्कार पाउँथे । गाउँपालिकाले कोरोना कालमा विपन्न बर्गलाई स्थानीय उत्पादन राहत दिने भनेर घरघरबाट कोदो संकलन गरेको थियो ।

कोदो महोत्सव अन्तर्गत खुला सेभेन ए साइड फुटवल प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी, आमा समूहको सामूहिक नृत्य, छेलो हान्ने, कुर्ची घुमाइ, घैंटो फुटाइ, रसी तान्ने प्रतियोगितासँगै सांगीतिक कार्यक्रम हुनेछ ।

 फुटबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् भने उपविजेतालाई ६० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ क्लबका अध्यक्ष अनिकुमार गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप