आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपा सरकारमा जान ‘च्याप्टर क्लोज’, आन्दोलनमा जाने निर्णय

मङ्गलबार, ०३ पुस २०८०, ११ : ४०
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ ।  ती पदाधिकारीले आन्दोलनमा जाने निर्णय भएसँगै पार्टी तत्काल प्रदेश र संघीय सरकारमा सहभागी हुने सम्भावना सकिएको बताए । 

‘पार्टीले आन्दोलनमा जाने निर्णय गरेको छ । यो निर्णयसँगै अब तत्काल दुवै तहको सरकारमा सहभागी हुने च्याप्टर क्लोज भएको छ’, ती पदाधिकारीले भने, ‘आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने भन्ने भएको छ ।’

कोशी प्रदेशमा राप्रपा सरकारमा सहभागी हुनसक्ने चर्चा चल्दै आएको थियो भने संघमा पनि बेलाबेला सरकारमा सहभागिताको विषयमा छलफल हुने गरेको थियो । तर, राप्रपाभित्र सरकारको सहभागिताबारे दुई लाइन रहँदै आएको छ । अध्यक्ष लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा रहँदै आएका छन् । 

यही दुई लाइन मतका बीच राप्रपाले आन्दोलनमा जाने निर्णय गरेसँगै सरकारमा सहभागिताको च्याप्टर सकिएको नेताहरूको भनाइ छ । 

पदाधिकारीबाट राप्रपाको आन्दोलन मूल आयोजक समितिको अध्यक्ष राजेन्द्र लिङ्देन र आन्दोलन परिचालन समितिको संयोजकमा महामन्त्री धवल शमशेर राणा रहनेगरी निर्णय भएको बताइएको छ ।  लिङ्देनको चाहनाअनुसार अध्यक्ष र महामन्त्री दुबैको भूमिका रहनेगरी आन्दोलनसम्बनन्धी निर्णय गराइएको बताइएको छ । 

यसअघि सोमबार समूहगत छलफल हुँदा कोशी र गण्डकी प्रदेशको संयोजकबाट अध्यक्षकै नेतृत्वमा आन्दोलनमा जानुपर्ने धारणा आएको  थियो । यसैगरी २ वटा प्रदेशले राणाको पक्षमा रिपोर्ट दिएको थियो भने तीन वटाले चाहिँ मिश्रित रिपोर्ट दिएका थिए । मिश्रित रिपोर्टमा समग्र आन्दोलनको परिचालन अध्यक्ष र केन्द्रीय समिति  तथा अन्य संयोजन राणाले गर्ने भन्ने आएको थियो ।  हाल आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर राणा रहेको र उनकै नेतृत्वमा आन्दोलनमा जाने आम नेता कार्यकर्ताको बुझाइ रहेपनि बैठकमा फरक धारणा आएको भन्दै सोही अनुसार लिङ्देनले पदाधिकारीबाट निर्णय गराएको नेताहरूको भनाइ छ । 

तर, महामन्त्री धवलशमशेर राणाले भने आफ्नै नेतृत्वमा आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका थिए । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सोमबार नै सकिएर अध्यक्षलाई रिपोर्ट बुझाइएको थियो । 

 आइतबारदेखि सुरु बैठकमा प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्य योजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सात वटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ । 

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्याय बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्याय विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप