मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शेखर–गगन सहयात्राको कहाँ हो मुकाम ?

बुधबार, ०४ पुस २०८०, १० : ३३
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच समूहगत सहयात्राको मुकामबारे चर्चा भइरहेको छ । मङ्सिर २७ मा काठमाडौँको बत्तिसपुतलीमा भएको संस्थापन इतर पक्षको भेलापछि कोइराला र थापाको सहकार्यको मुकाम बहसमा आएको हो ।

२०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा एकै ठाउँमा आइपुगेका कोइराला र महामन्त्री थापाबिच दुई वर्षे यात्रामा आशंका र अविश्वासको ग्राफ उकालो लाग्दो थियो र छ । एक–अर्काप्रतिको आशंका र अविश्वास बढ्दै गएर समूह विभाजनको सँघारमा पुगेपछि मङ्सिर २५ मा कोइराला र थापाबिच ३ घण्टा मन्थन भयो ।

नेता अर्जुननरसिंह केसीको निवासमा दुई वर्षे कार्यगत मतभेदबारे मन माझेका उनीहरु मङ्सिर २७ मा समूहको भेला आयोजना गर्न पुगेका थिए । भेलामा समूहको एकताको पक्षमा रहेको भन्दै कार्यकर्तालाई आश्वस्त तुल्याउने कोसिस कोइराला र थापाबाट भयो । भेलामा महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तनका लागि कोइरालालाई अगाडि सारेका थिए ।

थापाको प्रस्तावको कुनै अर्थ नरहेको कोइरालाको बुझाइ देखिन्छ । मङ्सिर २८ मा विराटनगर पुगेका कोइरालाले दलको नेता परिवर्तनको सम्भावना नरहेको सुनाए । महामन्त्री थापाले संसदीय दलको नेता उम्मेदवारी दिँदा प्रतिवद्धताबाट ब्याक हुन अहिले दलको नेता परिवर्तनको अस्त्र फालेको कोइराला पक्षको बुझाइ छ ।

कोइराला निकटहरुका अनुसार गत वर्ष पुस ६ मा दलको नेताको उम्मेदवार बन्दा १५ औँ महाधिवेशनमा कोइरालालाई सभापति मानेर जान तयार रहेको थापाले प्रतिवद्धता जनाएका थिए । तर, अहिले नेतृत्व प्रतिस्पर्धाका लागि थापाले तयारी थालेको देखिन्छ ।

१४ औँ महाधिवेशनमा कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाउँदा थापा लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए । महामन्त्री थापाले आगामी महाधिवेशन केन्द्रित राजनीतिक भेटघाट र जिल्ला दौडाहा थालेका छन् । नेता कोइरालाको १४ औँ महाधिवेशनमा ‘एक पटक, यसै पटक’ भन्ने नारालाई समातेर थापा सभापतिको दौडमा छन् ।

पछिल्ला दिनमा थापाले जिल्लाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन् । कोइराला पनि १४ औँ महाधिवेशनको ४० प्रतिशत मतको बलमा आगामी महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय छन् ।

कोइराला र थापासहित संस्थापन पक्षबाट खडा हुने उम्मेदवारबिच सभापतिको मुख्य प्रतिस्पर्धा हुने कांग्रेसवृत्तमा चर्चा छ । १५ औँ महाधिवेशनमा सभापतिको मिसनले नेता कोइराला र महामन्त्री थापाको सम्बन्धमा दरार ल्याएको लुकेको छैन ।

उनीहरु एकले अर्कालाई ‘साइज’मा राखेर अगाडि बढ्ने रणनीति अख्तियार गरेको केही घटनाले पनि देखाउँछ । केन्द्र र प्रदेशको मन्त्री छनोटमा नेता कोइरालाले महामन्त्री थापालाई बाहिर राखे ।

कांग्रेसका ९ जना मन्त्री संघीय सरकारमा पुग्दासमेत महामन्त्री गगन थापा ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा ‘कमब्याक’ गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । नेता कोइरालाले केन्द्रीय सदस्य र विभाग गठनमा सभापति शेरबहादुर देउवासँग समूहगत भन्दा पनि व्यक्तिगत डिल गरिरहेको थापाको आरोप छ । सभापति देउवासँग दलको नेतामा भिड्दा कोइरालाबाट सहयोग नपाएको थापाको गुनासो थियो ।

कात्तिक २ मा प्रेस युनियन काठमाडौँको शुभकामना आदान–प्रदान कार्यक्रममा कोशी प्रकरणलाई सङ्केत गर्दै महामन्त्री थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाएका थिए ।

संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने हिसाब भए पनि २५ मतमात्र पाएको भन्दै देउवाको विकल्प खोज्न खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।

यता महामन्त्री थापाले समूहभित्र दबाब सिर्जना गराएर संसदीय दलको नेताको उम्मेदवार बन्न आफूलाई रोकेपछि कोइराला सशंकित छन् । इतर पक्षका नेताहरुले समूह जोगाउन दबाब दिएपछि कोइराला दलको नेतामा बाध्य भएर थापाको प्रस्तावक बसेका थिए ।

महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई इतर समूहमा भित्र्याएर आफूलाई कमजोर पार्न खोजेको कोइरालाको बुझाइ छ । सोही कारण संसदीय दलमा थापाको समर्थक बसेका शर्मा र पौडेलले इतर समूहमा इन्ट्री नपाएको नेताहरु बताउँछन् ।

इतर समूहमा उपसभापति धनराज गुरुङ, नेता मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत शर्मा र पौडेलका सन्दर्भमा सकारात्मक छैनन् । असोज १४ मा काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कांग्रेस रूपान्तरण अभियानको कार्यक्रम त्यसको एउटा उदाहरण हो । कार्यक्रमको प्रचारका लागि बनाइएको ब्यानरमा आफूहरुलाई बाइपास गरेर प्रदीप पौडेलको फोटो राखेकोमा रिजाल र भण्डारीको विमति थियो । उनीहरुको दबाबपछि सहमतिमा तय भएको उक्त कार्यक्रम कोइरालाले बहिष्कार गरिदिएका थिए ।

कोशी प्रदेशमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्दा नेता कोइराला र महामन्त्री थापाबिचको सम्बन्ध धमिलो बन्यो । कोइरालाले महामन्त्री थापालाई बाहिर राखेर नेता मिनेन्द्र रिजाललाई साथमा लिए । यी मतभेदबिच मङ्सिर २७ मा समूहको एकता देखाउनका पछाडि राष्ट्रियसभा निर्वाचनको स्वार्थ जोडिएको कतिपयको बुझाइ छ ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालका अनुसार कोइराला र थापा अहिले एक ठाउँमा उभिएको सन्देश दिनुका पछाडि राष्ट्रियसभा निर्वाचन जोडिएको देखिन्छ । कांग्रेसले गठबन्धनभित्रबाट राष्ट्रियसभामा पाउने सिटको पार्टीभित्र बार्गेनिङका  लागि कोइराला र थापाले समूहमा एकता देखाएको उनको तर्क छ ।

यस्तै कोइराला र थापाको दीर्घकालीन समूहगत सहयात्राका लागि सभापति देउवाको भूमिकाबाट निर्णायक हुने दाहालले बताए । ‘भोलिका दिनमा शेरबहादुरजीले पनि कसलाई समर्थन गर्नुहुन्छ । अहिले टुङ्गो छैन,’ उनी भन्छन्, ‘शेरबहादुरजीको पक्ष आफ्नै पक्ष भयो भने उहाँहरु केही कुरामा समझदारी हुनुसक्छ ।’

दाहालका अनुसार कोइराला र थापाको सहकार्यको तस्बिरले अहिले आकार लिइसकेको छैन । ‘कांग्रेसको १५ औँ महाधिवेशनसम्म शेखरको उमेर झण्डै ८० को वरिपरि पुग्छ । त्यतिबेला गगनजीलाई शेरखजीको समर्थन चाहिन्छ । शेखरजीलाई गगनको समर्थन होइन, शेखरजीको समर्थन खोज्ने बाटो गगनजीको हो भन्ने मेरो बुझाइ छ,’ उनी भन्छन् ।

कोइरालासँग थापाको लय मिलाउने भूमिका अर्जुननरसिंह केसी (गगन थापाको सुसुरा) ले खेलेको भन्दै उनले भने, ‘त्यो गगनजीको फट्को मार्ने ठाउँलाई सुव्यवस्थित गराउने रणनीति हो ।  शेखरलाई बलियो बनाउनका निम्ति होइन कि शेखरको बलियो समर्थनको बाटो खोज्नका निम्ति यो प्रयत्न हो भन्ने ढङ्गले हेरिराखेको छु ।’

यस्तै राजनीतिक विश्लेषक सुदर्शन आचार्य कोइराला र थापाले एक जना पार्टी सभापति र एक जना प्रधानमन्त्रीका रुपमा अगाडि जाने कुरामा गम्भीर रुपमा सोच्न जरुरी रहेको बताए ।

‘सोच्न ढिलो भइरहेको छ । केही दिन अघिको भेलामा गगन थापाले संसदीय दलको नेता परिवर्तन गरौँ । शेखर कोइरालालाई अगाडि बढ्नुहोस् भन्नु भएको छ । गठबन्धनमा अब प्रधानमन्त्री कांग्रेसको भागमा भनिएको छ,’ उनी भन्छन्, ‘संसदीय दलको नेता परिवर्तन गरेर शेखर कोइराला प्रधानमन्त्री हुने र गगन थापा आगामी पार्टी सभापति हुने गरी जाँदा राम्रो हुन्छ ।’

१४ औँ महाधिवेशनमा ‘एक पटक यसै पटक’को नारा कोइरालाले आफूले बोलेको कुरालाई पालना गर्दै संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको रुपमा उभ्याउनु उपयुक्त हुने आचार्यको बुझाइ छ । ‘आफू प्रधानमन्त्री भएर आफ्नै टीमबाट महामन्त्री लडेका गगन थापालाई पार्टी सभापति अगाडि सार्नु आजको आवश्यकता हो,’ उनी भन्छन्, ‘१४ औँ महाधिवेशनपछिको दुई वर्षे यात्राले उहाँहरुलाई यो मुकामसम्म पु¥याउनेमा भने आशंका छ । यो आशंकालाई चिर्ने काम उहाँहरुको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप