बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक समीक्षा : महावीर दाजु ‘सुगो हासेयो !’

बुधबार, ०४ पुस २०८०, ११ : ४५
बुधबार, ०४ पुस २०८०

नजिकिँदो क्रिसमससँगै कोरियामा जाडो ह्वात्तै बढेको छ । हिउँ पर्न थालेको छ । आइतबार बिदाको दिनमा प्रायः नजिकैको बजारतिर डुल्न तथा किनमेल गर्न निस्कने गरिन्छ । हाम्रो नजिकै फारान नाम गरेको एउटा सानो बजार छ । दक्षिण कोरियाको ख्यङ्गिदो प्रान्तको ह्वासङ सहरभित्र रहेको यो एउटा निकै सानो बजार हो । यो सानो परिवेश भएरै पनि यहाँ तीन नेपाली रेस्टुरेन्टहरू सञ्चालनमा छन् । 

आइतबारे बिदाको एक साँझ साथीहरू रामकृष्ण ढुङ्गाना, रवीन्द्र लामा र मसहित भएर एक नेपाली रेस्टुरेन्टमा खाना खान छि¥यौँ । निस्किने बेलामा पैसा तिर्न काउन्टर छेउ उभिँदा बेच्न राखिएको पुस्तक ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ मा आँखा पर्न गयो । हामीले पनि एक एकप्रति किनेर आफ्नो वासस्थानतर्फ फर्कियौँ । चिसो मौसमले आफ्नै कोठाको न्यानोको माग गर्दै थियो ।

सुरुमा यो पुस्तक किन लेखियो भनेर छोटो चर्चा गरौँ । यो आत्मकथा लेख्नुको कारण महावीर पुनलाई लेखक बन्ने रहर जागेर आयो भन्ने जरुर हैन । न त यो उच्च ओहदामा पुगेका कूटनीतिज्ञ, सेना, प्रहरी, व्यापारी, राजनीतिज्ञ, डाक्टर आदिले आत्मकथा लेख्ने गरेका हुनाले त्यसैको उपक्रम नै हो । यसको सिधा जवाफ हो– चार करोड रुपैयाँ चाहिएर । मन्त्रीपरिषद्ले पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई तीस वर्षदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखानाको मर्मत सम्भार, व्यवस्थापन तथा विकासको जिम्मेवारी प्रदान गरेको छ । तर उक्त कार्यको निमित्त चाहिने खर्चबर्च भने सङ्घीय अर्थ मन्त्रालयले केवल एक पटकलाई मात्र उपलब्ध गराउने छ । उता गण्डकी प्रदेश सरकारको संसद्ले दस करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान छुट्याएको त छ तर दसमध्ये चार करोड रुपैयाँ भने सम्पूर्ण काम सकेर रिपोर्ट बुझाइसकेपछि मात्रै उपलब्ध गराउने छ । हो त्यही चार करोड रुपैयाँ आविष्कार केन्द्र आफैँले जसरी भए पनि जोहो गर्नु पर्ने स्थिति आइपरेकोले यो किताब लेखिएको हो । 

हुन त उनले आफूले पाएको अन्तर्राष्ट्रिय तक्मा र पदकहरू पनि केही वर्षदेखि बिक्रीमा राखेका छन् । तर बिक्री भइसकेको छैन । यसरी यो किताब बेचेर आएको पैसा सीधै आविष्कार केन्द्रको बैङ्क खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ, जुन गण्डकी प्रदेश र कृषिऔजार कारखानाका लागि खर्च गरिने भनिएको छ । यस अर्थमा यो पुस्तकद्वारा प्रेरणा र राम्रो कामका लागि सहभागिताको आत्मासन्तुष्टि दुवै एकैसाथ पाइने छ । त्यसैले यो पुस्तक आफ्नो मपाइँले भरिएको गन्थन हुँदै हैन । यो आवश्यकताले निम्त्याएको लेखाइ हो । यस सन्दर्भमा पुन एक ठाउँमा बडो सहजतासाथ लेख्नु हुन्छ, साँच्चै भन्नुपर्दा मैले मेरो जीवनकथा बुढेसकालको खर्च जुटाउने स्रोतको रूपमा साँचेर राखेको थिएँ ।

अब किताबभित्र के छ भनेर पनि थोरै चर्चा गरौँ । एक वाक्यांशमा भन्नुपर्दा किताबभित्र कुनै पनि काममा लागेपछि एकोहोरो लागिपर्ने सिधासादा एक मान्छेको कथा छ । पुनले आफू प्रसिद्ध फ्रान्सेली लेखक जुल भर्नको उपन्यास ‘असी दिनमा संसारको एक फन्को’ बाट अत्यन्तै प्रभावित भएको कुरा उल्लेख गरेका छन् । त्यस उपन्यासको प्रमुख पात्र झैँ हठी र आत्मविश्वासी भएर एकोहोरो अगाडि बढ्ने प्रेरणा मिल्ने गरेको लेखेका छन् । पुस्तकमा उनी जन्मेको म्याग्दी जिल्लाको नाङ्गीदेखि अमेरिकाको नेब्रास्कासम्मको सङ्घर्षमय किस्साहरू छन् । बाल्यकालमा भेडा चराएका सम्झनाहरू, पहिलो चोटि पिएको गुलियो चियाको कथा, पहिलो पटक हेरिएको फिलिमको अनुभव सबै सबै समावेश छ । 

चितवनमा आफू शिक्षक हुँदा तत्कालीन सीडीयोसँग परेको झगडा, अमेरिका पढ्न जान गरिएका सङ्घर्ष, छात्रवृत्तिको निम्ति चिठी लेख्दा निल आर्मस्ट्रङबाट आएको प्रतिउत्तर, पहिलो पटक अमेरिका जाँदा छुटेका अमेरिकाकै डोमेस्टिक फ्लाइट लगायत थुप्रै रोचक प्रसङ्गहरू पनि छन्, जसले पाठकलाई बाँधिरहन्छ । पुनले आफ्नो कथामार्फत त्यो बेलाको समाज, सोच र परिवेशको अत्यन्तै सुन्दर ढङ्गले व्याख्या गरेका छन् । शिक्षण पेसामार्फत गरेका असल प्रयास, विज्ञान र प्रविधिमार्फत उनले गरेका कर्म, सामाजिक कार्य, ग्रामीण विकासको निम्ति भएका थुप्रै मेहनत पुस्तकभरी पढ्न पाइन्छ । उनले देशलाई आविष्कारको दिशामा हिँडाउन खोजिरहेको कुरा त जगजाहेरै छ । सबैभन्दा सुन्दर कुरा पुस्तक पढिसक्दा उनको सरल व्यक्तित्व झलझली दिमागमा बसिरहन्छ । उनी आफैँ लेख्छन् मान्छेहरूले मलाई सादा जीवन उच्च विचार भएको मान्छे भन्ठान्छन् । तर यो गलत हो । म सादा जीवन मात्र हैन विचार पनि सादै भएको मान्छे हुँ । उनी पटक पटक आफूलाई मूर्ख र एकोहोरो ढिपी भएको मान्छे हुँ लेखिरहन्छन् । 

‘राइटिङ क्राफ्ट’को हिसाबले पुस्तक केही कमजोर महसुस हुन्छ । त्यो स्वाभाविक पनि हो । किनकि उनी कुनै शिल्पकार लेखक हैनन् । उनको स्वभावअनुसारै ठाउँ ठाउँमा उनी गरिरहेको कुरा बिचैमा छोट्याइदिन्छन् या त्यतिकै फुत्तै छोडिदिन्छन् । उनलाई त्यो बेकारको गन्थन किन लम्ब्याउनु भन्ने लागेको हुनु पर्छ । पक्कै पनि यो आत्मकथा अरू केही प्रसिद्ध आत्मकथाको पुस्तकको दाँजोमा अलि सामान्य लाग्न सक्छ । तर त्यो कुरा प्रमुख हुँदै हैन किनभने यो लेखिनुको उद्देश्य नै नितान्त भिन्नै र पवित्र छ । आज चाइनाले वस्तु तथा सामानको उत्पादन गरेर विश्वका अन्य मुलुकलाई केवल सेल्स मेन जस्तो बनाएको छ । हामी चाइनाका सामान आफैँलाई बेच्न अभिसप्त छौँ । अब यस्तोमा नयाँ आविष्कार र उत्पादनको निमित्त सबैको ध्यान जान आजको प्रमुख आवश्यकता हो ।

हामी छुट्ने बेलामा किताब हातमा दिँदै रेस्टुरेन्ट सञ्चालक दाजु खगेन्द्र खत्रीले भन्नुभएको थियो, ‘यो किताबको निकै डिमान्ड छ । कोरियामै छाप्न पहल हुँदै छ । यहीँ छाप्न सकियो भने सस्तो पनि हुन्छ र सहजै उपलब्ध पनि ।’ यो कुरा सुनेर खुसी लागेको थियो । हामीले यो किताब खरिद गर्दा त्यसमार्फत हुने सहयोग सानो भए पनि महत्त्वपूर्ण छ । किनेर थन्क्याउने मात्र हैन यो जाडो मौसममा चिया कफी जे उपलब्ध हुन्छ त्यसको साथमा यो किताब पढ्नुस् । प्रेरणादायी प्रसङ्गहरू प्रशस्त छन् ।

अन्त्यमा, कोरियालीहरू एकअर्कालाई हौसला प्रदान गर्दा मेहनत गरेकोमा आभार व्यक्त गर्दा अथवा निरन्तर परिश्रम वा राम्रो काम गर्नुहोस् भन्दा ‘सुगो हासेयो !’ भन्ने गर्छन् ।

हवस्त विज्ञान प्रविधि र आविष्कारमार्फत सम्पूर्ण नेपालको समृद्धिको लागि प्रिय महावीर दाजु सुगो हासेयो !     

बाम्राङ, खोटाङ 

हाल दक्षिण कोरिया 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश राई
सुरेश राई
लेखकबाट थप