शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेफ्स्कुनको निर्वाचनमा राजनीतिक गन्ध : ढकालविरुद्ध वर्तमान अध्यक्ष पौडेल नै उत्रिए मैदानमा

बुधबार, ०४ पुस २०८०, १२ : ५३
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) मा चुनावी सगर्मी ह्वात्तै बढेको छ । सङ्घको हालको सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भावी नेतृत्वको तयारी गर्दैगर्दा यता वर्तमान अध्यक्ष परितोष पौडेलले समेत पुनः नेतृत्व दोहोर्याउने घोषणा गरेका छन् । यसले नेफ्स्कुनको निर्वाचनको रौनक थप तातेको हो । 

मङ्गलबार राजधानीमा एक समारोहको आयोजना गर्दै अध्यक्ष पौडेलले नेफ्स्कुनमा पुनः दोहोर्याउने गरी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिस्पर्धी ढकालले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । 

गत मङ्सिर ७ गते बसेको सञ्चालक समितिको बैठकले नेफ्स्कुनको ३२औँ साधारण सभासहितको अधिवेशन पुस ७ र ८ गते काठमाडौँमा गर्ने मिति तय गरिसकेको छ । 

निर्वाचनमा राजनीतिक गन्ध !
बचत तथा ऋण सहकारी संस्थाहरूको छाता सङ्गठन नेफ्स्कुनको आसन्न निर्वाचनलाई लिएर दुई पक्षबिच भएको तयारीलाई हेर्दा राजनीतिक सत्तासमीकरणसँग मिल्दो देखिन्छ । अध्यक्ष पौडेलले सहकारीभित्रका एमाले निकट अभियन्ताहरूको बलमा पुनः उम्मेदवारी दिएका छन् भने वरिष्ठ उपाध्यक्ष ढकाललाई सत्तापक्ष राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकृकीत समाजवादी लगायतका दलको समर्थन रहेको बुझिएको छ । तथापि यी दुवै पक्षले आफूहरू कुनै पनि पार्टी वा दलको तर्फबाट नेतृत्वका लागि अघि नबढेको दाबी गरेका छन् । 

‘राजनीतिक झुकाव, को अभियन्ता कता छ ? कसको राजनीतिक पार्टी कुन हो ? यसले अर्थ राख्दैन । केवल नेफ्स्कुनले इमानदार र सक्षम नेतृत्व चाहेको छ । सहकारीको शुद्धीकरण र सुदृढीकरणका साथै समग्र सहकारी क्षेत्रको सुधारका लागि नेतृत्व आवश्यक ठाने र पुनः अध्यक्षमा उमेदवारी दिएँ’ अध्यक्ष पौडेलले रातोपाटीसँग भने । 

यद्यपि सहकारी क्षेत्रमा क्रियाशील एमाले निकट अभियन्ताहरूको आफूलाई साथ र सपोर्ट रहेकोमा भने अध्यक्ष पौडेलको घुमाउरो स्विकारोक्ति छ । उनले आफूले बहुमतको प्रतिनिधित्व गर्ने दाबी गरे । 

‘कसैले चाहेर वा विरुद्धमा लागेर मात्र हुने होइन, सिङ्गो अभियानले चाहनुपर्यो । नेतृत्वमा आउने भनेको अभियानलाई माथि उठाउन हो । केही अधुरा र बाँकी रहेका काम सम्पन्न गर्न पनि मेरो नेतृत्व आवश्यक छ,’ पौडेलले भने, ‘तथापि हामीले सहमति र सहकार्यबाटै नयाँ नेतृत्वमा जाने कुरा गरिरहेका छौँ । अन्त्यसम्ममा ढकालजीहरू पनि सहमति आउनुहुन्छ भन्ने विश्वास छ । आउनु भएन भने बहुमतको निर्णय हुन्छ, मेरो जित सुनिश्चित छ ।’

तर यता वरिष्ठ उपाध्यक्ष ढकाल पौडेललाई पुनः दोस्रो पटक अध्यक्षमा कुनै पनि हालतमा स्वीकार्ने पक्षमा छैनन् । ‘कुन नीति, सिद्धान्त र एजेन्डामा पौडेलले पुनः अध्यक्ष दोहो¥याउनुपर्ने हो ? उहाँले चार वर्षमा के गर्नुभयो ?’ प्रतिप्रश्न गर्दै अध्यक्षका उमेदवार ढकालले रातोपाटीसँग भने, ‘उहाँले मसँग प्रतिस्पर्धा गर्न खोज्नु भएको होइन । उहाँले आफूले आफैँसँग प्रतिस्पर्धा गर्न खोज्दै हुनुहुन्छ । राजनीतिक आडमा भन्दा पनि सहकारी अभियानको हितमा नेतृत्व जानुपर्ने हुन्छ । त्यो नैतिकता उहाँमा देखिएन’ उनले आरोप लगाए । 

उसो त मङ्गलबारको चुनावी घोषणा सभामा अध्यक्ष पौडेलले नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीसहित एमालेका नेता एवं राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशव बडाल, महासङ्घका वर्तमान अध्यक्ष मीनराज कँडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीलगायत सहकारी क्षेत्रमा क्रियाशील अभियन्ता तथा कर्मचारीको दलबलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

यसले नेफ्स्कुनको निर्वाचन राजनीतिक गन्धबाट मुक्त नभएको प्रस्ट हुन्छ । यसले अध्यक्षका अर्का उमेदवार ढकालसमेत थप सशङ्कित हुन पुगेका छन् ।

हाल देशैभरिबाट करिब ३ हजार बचत तथा ऋण सहकारी संस्थाहरूको आबद्धता नेफ्स्कुनमा रहेको छ । जसमध्ये आसन्न निर्वाचनका लागि मङ्सिर मसान्तसम्म २ हजार ६ सय प्रतिनिधि सहकारी संस्थाहरूको नवीकरण अध्यावधिक भएको नेफ्स्कुनले जनाएको छ । पुस ८ गते हुने निर्वाचनले १९ जना सञ्चालक समिति सदस्य र ३ जना लेखा समिति गरी २२ जना चयन गर्ने छ । 

विधानतः नेफ्स्कुनको सञ्चालक समितिको पदावधि ४ वर्षको हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप