सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश मोह

एक वर्षमा ७४ सांसदले घुमे विदेश, राष्ट्रिय सभा अध्यक्षको विदेशमै बित्यो ३१ दिन

३ वटा विदेश भ्रमणको झन्डै ८० लाख खर्च अर्थ मन्त्रालयसँग माग
शुक्रबार, ०६ पुस २०८०, १० : ५४
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । गत पुस २ गते एकै दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाका १७ जना सांसद १० दिने चीन भ्रमणका लागि उडे ।

चिनियाँ जनकंग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलले पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरेको कार्यक्रममा उनीहरु सहभागी भइरहेका छन् ।

माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही भ्रमण टोलीमा छन् । राष्ट्रिय सभा सदस्यहरूमा भगवती न्यौपाने र जगप्रसाद शर्मा भ्रमण टोलीमा छन् ।

संविधान जारीपछि दोस्रो पटक भएको प्रतिनिधि सभाको निर्वाचनपछि २०७९ पुस ७ गतेदेखि संसद सुरु भए यता हालसम्म ठ्याक्कै १ वर्ष अवधिमा ७४ सांसदले विदेश भ्रमण गरेका छन् । यो संख्या संसद सचिवालयमा जानकारी गराएर भएको भ्रमणको हो भने सांसदहरुले आफूखुसी विभिन्न देशमा गरेको भ्रमण तथा भारत भ्रमणको भने कुनै आँकडा छैन ।

संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार यो एक वर्षमा १८ वटा औपचारिक भ्रमण भएको छ । जसमा सबैभन्दा धेरै ४ पटक चीन भ्रमण भएको छ ।

409738452_1078957943130446_7424572951500568916_n

राष्ट्रिय सभा अध्यक्षले एक महिना विदेशमै बिताए, सभामुखले १० दिन 

गत मङ्सिरमा भएको निर्वाचनपछि गठन भएको संसदको एक वर्षको अवधिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सबैभन्दा धेरै ६ पटक विभिन्न देशको औपचारिक भ्रमण गरेका छन् । यो एक वर्ष अवधिमा उनले ३१ दिन विभिन्न देशको भ्रमणमा समय बिताएका छन् ।

तिमिल्सनाले २०७९ फागुन ४ गतेदेखि फागुन १० गतेसम्म अन्तर्राष्ट्रिय पर्वत समाजले आयोजना गरेको कार्यक्रममा भाग लिन दुबई भ्रमण गरेका थिए ।

गत वर्ष वैशाख ६ गतेदेखि ११ गतेसम्म सांसदहरु बामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा, महेश कुमार महरा, शेखर कुमार सिंह सहित उनले ६ दिन रुसको भ्रमण गरेका थिए । उनले गत वैशाख १९ गते कम्बोडियाको पनि भ्रमण गरेका थिए ।

यस्तै जेठ २८ गतेदेखि असार ३ गतेसम्म सांसदहरु जीवन परियार, धवलशम्शेर जबरा, दीपा गुरुङ, हरिराम चौधरी, प्रदीप यादवसहितको टोली नेतृत्व गर्दै तिमिल्सिनाले ७ दिन चीनको बेइजिङ, शाङघाई र ल्हासाको भ्रमण गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले गत कार्तिक ६ गतेदेखि १० गतेसम्म सांसदहरु जितेन्द्र नारायण देव, कुमार दसौदी, रुपा सोशी चौधरी र सन्तोष परियारसहितको टोली नेतृत्व गर्दै आइपीयू सम्मेलनका लागि अंगोला भ्रमण गरेका थिए । यस्तै गत मङ्सिर ११ देखि १५ गतेसम्म उनले अष्ट्रेलियाको सिड्नी, क्यानवेरा र मेलवर्नको भ्रमण गरेका थिए ।

यता प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एक वर्ष अवधिमा २ पटक गरी १० दिन विदेश भ्रमण गरेका छन् । अघिल्लो वर्ष फागुन २७ गतेदेखि चैत १ गतेसम्म सभामुख घिमिरेले सांसदहरु रमेश लेखक, इन्दू कडरिया, हितराज पाण्डे, सन्तोष परियार सहितको टोलीका साथ बहाराइन भ्रमण गरेका थिए । यस्तै गत असोज १ गतेदेखि ५ गतेसम्म उनले आयरल्याण्डको भ्रमण गरेका थिए ।

यस्तै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सांसदहरु अम्मरबहादुर रायमाझी र विनोद चौधरीको नेतृत्व गर्दै गत वर्ष जेठ २९ गतेदेखि असार ३ गतेसम्म सिङ्गापुर भ्रमणमा गएकी थिइन् । यस्तै असार २३ गते मैना कार्की, भगवती चौधरी र चन्दा कार्कीको नेतृत्व गर्दै उनी २ दिने चीन भ्रमणमा गएकी थिइन् ।

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले गत असोज १७ गतेदेखि २१ गतेसम्म राष्ट्रिय सभाका सांसदहरु अनिता देवकोटा, रमेशजंग रायमाझी, गोपीबहादुर सार्की, नरपति लुहार, मदन कुमारी शाह, मोहम्मद खालिदको नेतृत्व गर्दै चीन भ्रमण गरेकी थिइन् ।

यो एक वर्षको अवधिमा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले ४ दिन कतार भ्रमण गरे भने राष्ट्रिय सभाको दिगो विकास समितिका सभापति प्रकाश पन्थले श्रीलंका भ्रमण गरेका थिए । यस्तै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई गत असारमा एसिया प्यासिफिक संसदको वातावरण र विकाससम्बन्धी २० औँ सम्मेलनमा भाग लिन दक्षिण कोरिया गएका थिए ।

गत असारमै १० दिने ‘हाई लेभल पोलिटिकल फोरम’मा सहभागी हुन दिगो विकास समितिका सभापति प्रकाश पन्थ, सांसदहरु महेश बर्तौला र माधव सापकोटा अमेरिका भ्रमणमा गएका थिए । 

यो एक वर्षको अवधीमा संघीय सांसदहरुको टोलीमा १० जना विभिन्न प्रदेशका सभामुख, उपसभामुख र प्रदेश सभा सदस्य विदेश भ्रमणमा गएका छन् ।

यस्तै २०७९ चैत १४ गतेदेखि २२ गतेसम्म विभिन्न ५ दलका १२ जना सांसद भारतको संसदीय प्रणालीको अध्ययनका लागि भन्दै संसद सचिवालयलाई जानकारी नदिइ भारत भ्रमणमा गएका थिए । भारतीय दूतावासको सहयोगमा एक गैरसरकारी संस्थाले उनीहरुलाई गराएको भ्रमण विवादमा परेको थियो ।

यस्तै गत असोजमा प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा समितिका ६ जना सांसद र १ कर्मचारी बंगलादेश भ्रमणमा गएका थिए । उनीहरु बंगालादेश गएकोबारे संसद सचिवालयलाई जानकारी गराएनन् ।

सांसदहरुले संसद सचिवालयलाई जानकारी नगराइ आफूखुसी गर्ने विदेश भ्रमणको रेकर्ड भने सचिवालयमा नरहेको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

साउन यताको ३ वटा विदेश भ्रमणको खर्च झन्डै ८० लाख रुपैयाँ अर्थ मन्त्रालयसँग माग

संघीय संसद सचिवालयले यो आर्थिक वर्षमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सांसदहरु र संसदका कर्मचारीको विदेश भ्रमणका क्रममा भएको खर्च बापत भुत्तानीका लागि झण्डै ८० लाख रुपैयाँ अर्थ मन्त्रालयलाई निकासाका लागि अनुरोध गरेको छ ।

यो रकम गत साउन यताका जम्मा ३ वटा विदेश भ्रमणको मात्र हो । अन्य भ्रमणको खर्च सम्बन्धित देश वा केही गैरसरकारी संस्थाको तर्फबाट भएको छ । साउन अगाडि भएका केही भ्रमणको खर्च अर्थ मन्त्रालयले भुक्तानी दिइसकेको छ भने केही दातृ निकाय वा सम्बन्धित देशको खर्चमा भएको छ ।

संघीय संसद सचिवालय स्रोतका अनुसार गएको असोज १ गतेदेखि ५ गतेसम्म सभामुख देवराज घिमिरेको नेतृत्वमा ३ सदस्यीय टोली आयरल्याण्डमा भएको ‘सभामुखहरुको मञ्च’को कार्यक्रममा सहभागी हुँदाको करिब १७ लाख रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ ।

गत असोज १७ देखि २१ गतेसम्म राष्ट्रिय सभा उपाध्यक्षको नेतृत्वमा ११ सदस्यीय सांसद, कर्मचारीले गरेको चीन भ्रमणको १ लाख ८२ हजार रुपैयाँ पनि अर्थ मन्त्रालयसँग भरपाई मागिएको छ ।

यस्तै गत कार्तिक ६ गतेदेखि १० गतेसम्म अंगोलामा भएको ‘इन्टर पार्लियामेन्टरी यूनियन (आइपीयू) को १४७ औँ सम्मेलनमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सांसद र कर्मचारी सम्मिलित ९ सदस्यीय टोलीको भ्रमण खर्च झन्डै ६० लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । यो रकम निकासाको चरणमा रहेको स्रोतको भनाइ छ ।

भ्रमण टोलीलाई सम्बन्धित देशले हवाई टिकटको व्यवस्था गरेमा एक जना बराबर दैनिक २५ डलर पकेट खर्चको व्यवस्था र हवाई टिकटको व्यवस्था आयोजकले नगरेमा आउने जाने हवाई टिकट र जनही दैनिक २५ डलर पकेट खर्च दिने गरिएको छ ।

कसरी हुन्छ सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सांसदहरुको विदेश भ्रमण ?

संघीय संसदका पदाधिकारीहरु, सांसदहरु र कर्मचारीहरुको विदेश भ्रमण विभिन्न प्रकृतिको हुने गरेको छ । कतिपय भ्रमण सम्बन्धित देशको औपचारिक निमन्त्रणामा हुने गरेको छ, कतिपय हरेक वर्ष नियमित हुने सभा सम्मेलनमा भाग लिनका लागि र कतिपय विभिन्न गैरसरकारी संघ संस्थाले गर्ने कार्यक्रममा भाग लिनका लागि विदेश भ्रमण हुने गरेको छ । 

 

संघीय संसदका प्रवक्ता एकराम गिरी भन्छन्, ‘कतिपय भ्रमणमा निमन्त्रणा गर्ने संस्थाले नै खर्च बेहोर्ने, उहाँहरुले नै व्यवस्थापन गर्ने काम हुन्छ, त्यसका लागि सरकारी रकम वा संघीय संसद सचिवालयबाट जाने भन्ने हुँदैन । तर अन्तर व्यवस्थापिका संसद (आइपीयू) जस्ता सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न हाम्रै खर्च हुने हो । त्यस्तै अन्य औपचारिक कार्यक्रम छ, त्यतैको मित्रराष्ट्रले वा सम्बन्धित देशको सभामुखबाट निम्ता आउँदा अक्सर उताबाटै व्यवस्था भएर आउँछ । आइपीयू जस्ता सम्मेलनमा बाहेक अन्यमा प्रायः संसद सचिवालयको खर्चबाट विदेश भ्रमण भएको छैन ।’


कतिपय सांसद आफ्नो तरिकाबाट विदेश भ्रमणमा गएको कुरा संसद सचिवालयलाई जानकारी नहुने उनले बताए । सभाको बैठक चलिरहेको बेला बिना सूचना १० वटा बैठकमा उपस्थित नभएमा सांसद पद जाने भएकाले त्यस्तो अवस्थामा भने सांसदहरुले अग्रिम जानकारी गराएर विदेश भ्रमणमा जानसक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप