सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मित्रमिलन सहकारी ठगी

कार्यक्षेत्र बढाउन रजिष्ट्रारलाई १ करोड ५ लाख घुस दिएको बयान

शुक्रबार, ०६ पुस २०८०, २२ : १३
शुक्रबार, ०६ पुस २०८०

पोखरा । पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा आरोपितहरुले बयान दिने क्रममा नयाँनयाँ खुलासा भएका छन् । प्रहरी स्रोतका अनुसार सहकारी बैंकका कर्मचारीले लाखौँ लिएकोदेखि तत्कालीन रजिष्ट्रारले करोडभन्दा बढी घुस खाएको बयान अरोपितहरुले दिएका छन् ।

सहकारी रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार तथा हाल कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले सहकारीको क्षेत्र विस्तार गरिदिने भनेर १ करोड ५ लाख घुस लिएको आरोप लागेको छ । प्रहरीका अनुसार सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुले पूर्व रजिष्ट्रार पराजुलीले उक्त रकम लिएको बयान दिएका हुन् ।

‘बयानका क्रममा १ करोड ५ लाख लिनुभएको भन्ने आरोप छ । त्यसको प्रमाण पुग्ने कागजातहरु पनि खोजिरहेका छौँ,’ स्रोत भन्छ, ‘आरोप पुष्टि हुने आधारहरु पनि देखिएका छन् । यद्यपि छानबिनकै क्रममा छ ।’

उक्त बयानपछि कास्की प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । ‘पक्राउ पुर्जी जारी भएको छ । उहाँ सम्पर्कमा हुनुहुन्न । प्रहरीले खोजिरहेको छ,’ उनले भने ।

सहकारीको कार्यक्षेत्र प्रदेशभरि विस्तार गर्न रजिष्ट्रारलाई घुस दिएको अध्यक्ष रमण पौडेल समेतले बयान दिएका हुन् । उनी २०७७ माघ ४ देखि २०७९ भदौ १९ गतेसम्म प्रदेश कार्यालयमा रजिष्ट्रारको रुपमा कार्यरत थिए । तर पछि प्रदेशभरि कार्यक्षेत्र विस्तार भएन । स्याङजाको आँधीखोलामा भने कार्यक्षेत्र विस्तार गर्ने अनुमति पाएको बताइएको छ ।

रकम लिएर पनि काम नभएपछि सञ्चालकहरुले आक्रोशमा बयान दिएको हुन सक्ने उक्त स्रोत बताउँछ । यसअघि अध्यक्ष पौडेलले लेखेको एउटा पत्रमा घुस दिएको उल्लेख गरेका थिए । उक्त पत्र अहिले सार्वजनिक भएको छ ।

उक्त पत्र २०७९ मङ्सिर १५ गते राति २ बजे लेखेको भनिएको छ । पत्रको व्यहोरा यस्तो छः

सहकारीको प्रदेशभरि सेवा केन्द्र र कार्यक्षेत्र बनाउने भनेर रजिष्ट्रारलाई घुस खुवाउने भनी अभिसेक (अभिषेक काफ्ले) मार्फत १ करोड २० लाख नगद सञ्जय दाइलाई दिएको हो । त्यसमा २ पटक गरी २२ लाख फिर्ता दिएका हुन् । कार्यक्षेत्र र सेवा केन्द्र पनि भनेजस्तो भएन । १ वर्षमा केही काम भयो, पैसा पनि आएन । रजिष्ट्रार उदयबहादुर पराजुलीलाई दिने भनी सञ्जय दाइलाई अभिसेक र म गएर नगद पैसा दिएको हो ।

राष्ट्रिय सहकारीबाट कर्जा लिँदा पटक पटक सन्तोष सरले ५० लाख भन्दा धेरै लिनुभयो । यिनै कारोवारहरु हिजो मसँग नजिक भएर फाइदा लिनेहरुले नै फाइदा लिएर अहिले अप्ठ्यारोमा पार्ने, चेक बाउन्स गर्ने, पिट्ने, मार्ने धम्की दिने, बेइज्जती गर्ने, मानसिक तनाव दिएको हुनाले म यो काम गर्न बाध्य भएँ ।

यसबारे बुझ्न पराजुलीलाई फोन गर्दा उनको ‘अफिसियल मोबाइल नम्बर ‘स्वीच अफ’ छ । उनी यही मङ्सिर १८ गतेदेखि कुश्मा नगरपालिकामा हाजिर भएका हुन् । पुस २ गतेसम्म कार्यालय गएका उनी त्यसपछि बिदा स्वीकृत गराएर सहसचिव परीक्षाको लागि निस्किएको कार्यालयका सूचना अधिकारी धुर्वराज पौडेलले बताए । ‘उहाँले ८ गतेसम्म बिदा लिनुभएको छ । १२ गतेतिर फर्किन्छु भन्नुभएको रहेछ,’ सूचना अधिकारी पौडेलले भने, ‘बिदा लिएर गएको मान्छेलाई हामीले फोन गर्ने कुरा पनि भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप