आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्दै लुम्बिनीका पालिकाहरू

शनिबार, ०७ पुस २०८०, १७ : ३५
शनिबार, ०७ पुस २०८०

दाङ । लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरूले आ–आफ्नो पालिकाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ तथा प्रचार प्रसार गर्ने भएका छन् । पालिकाहरूको आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण आधार भएकोले पालिकाहरूले पर्यटकीय गन्तव्यको ब्राण्डिङ तथा प्रचार प्रसारमा लाग्ने विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले जोड दिएका छन् । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय– लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएसँगै पालिकाहरू सो अभियानमा जुट्ने भएका हुन् । 

लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकार (नगरपालिका÷गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा ÷योजना शाखासँग  सम्बन्धित कर्मचारीहरूको क्षमता वृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले भालुुबाङ्गमा कार्यशाला आयोजना गरिएको थियो । 

कार्यशालामा पालिकाहरूको पर्यटन नीति, रणनीति तथा कार्ययोजना निर्माण, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ,बजारीकरण तथा पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसँगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिएको थियो । यस्तै कार्यशालामा पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकाश गर्न तथा स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र  कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।   

कार्यशालामा लुम्बिनी प्रदेश अन्तरगत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम , घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ्ग, बैजनाथ र ठाकुरद्धारा , पुथा उत्तरगंगा, सिंस्ने, रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी , झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्गा, र  छत्रदेव नगरपालिका ÷ गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप