मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सरकारको एक वर्ष

विदेश भ्रमणमा ‘रेकर्ड’ बनेको वर्ष

मङ्गलबार, १० पुस २०८०, ०९ : ४२
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पुगेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले आर्थिक मीतव्ययिता अपनाउन मन्त्री तथा कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ गर्ने निर्णय गरेका थिए । 

२०७९ फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री तथा कर्मचारीलाई विदेश भ्रमणमा जान कडाइ गर्ने निर्णय गरेको थियो । गत चैत १ गते सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्णयबारे जानकारी गराउँदै भनेकी थिइन्, ‘नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको छ ।’

निर्णय सुनाएको पाँचौँ दिनमा मन्त्री शर्माले सोही मन्त्रिपरिषद्बाट आफ्नो भारत भ्रमण स्वीकृति गराएकी थिइन् । चैत ८ गते भएको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयू)को क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी हुन चैत ७ मा भारत भ्रमण गएकी उनी १० गते स्वदेश फर्केकी थिइन् । 

त्यो निर्णयपछि सञ्चारमन्त्री शर्मा मात्र होइन, प्रधानमन्त्री प्रचण्डदेखि मन्त्री, सहसचिव, सचिव, अधिकृतलगायत कर्मचारीले दर्जनौँपटक विदेश भ्रमण गरेका छन् । सरकार सम्हालेको एक वर्ष नबित्दै प्रधानमन्त्री प्रचण्ड स्वयंले पाँचवटा देशको भ्रमण गरिसकेका छन् । भारत, इटाली, अमेरिका, चीन र दुबईको भ्रमण गरेका उनले कतारको भ्रमण भने स्थगित गरेका थिए । इटालीमा भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा कृषिमन्त्री जाँदा पनि हुन्थ्यो, त्यहाँ प्रधानमन्त्री प्रचण्ड स्वयं जाँदा आलोचना भएको थियो । 

प्रधानमन्त्री प्रचण्डले जेठमा भारतको भ्रमण गरेपछि मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरूको विदेश भ्रमणमा बाढी नै आएको छ । त्यसपछि बसेका हरेक मन्त्रिपरिषद्को बैठकबाट मन्त्री, सचिव, मुख्यमन्त्री, मेयर लगायतको विदेश भ्रमण स्वीकृत गरिएको छ । 

जेठपछि कुनै यस्तो महिना छैन, जुन महिना सरकारका मन्त्री विदेश भ्रमणका लागि नउडेका होऊन् । एउटा देशबाट फर्केर झोला बिसाएका हुँदैनन्, अर्को देश जाने तयारीमा लागिसक्छन् । कतिपय मन्त्रीले त नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ । विदेशबाट दिनमा आएर रातमा आफ्नो घर बास बसी भोलिपल्ट अर्को देश उडेको पनि देखिन्छन् । 

मन्त्री, सचिव तथा सरकारी उच्च पदस्थ व्यक्तिका ती भ्रमण आवश्यक थिए वा थिएनन्, त्यो विश्लेषण हुँदै गर्ला तर प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरू पनि चारदेखि पाँचपटकभन्दा बढी विदेश भ्रमण गरिसकेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी अझै विदेश (साउदी) भ्रमणमै छन् भने परराष्ट्रमन्त्री एनपी साउद कतारबाट र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल भियतनामबाट हिजो मात्र स्वदेश फर्केका छन् । 

  • मंसिरमा प्रधानमन्त्रीसहित मन्त्रीहरूको भ्रमण

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी विश्व सम्मेलन कोप–२८ मा सहभागी हुन युएई जाँदा उनको साथमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, सहरी विकासमन्त्री सीता गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि पुगेका थिए । 

मंसिर १३ को मन्त्रिपरिषद्कै बैठकले ऊर्जामन्त्री बस्नेतको र मंसिर ७ को बैठकले स्वास्थ्यमन्त्री बस्नेत तथा सहरी विकासमन्त्री गुरुङको भ्रमणलाई स्वीकृति दिएको थियो । 

भारतमा सम्पन्न नस्लवाद तथा विभेदविरुद्धको विश्व सम्मेलनमा भाग लिएर मंसिर १३ गते स्वदेश फर्केका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ त्यसको भोलिपल्टै ब्राजिलका लागि उडेका थिए । 

असोज २४ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर मंसिर १७ गते घानाको भ्रमण सकाएर उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का स्वदेश फर्किसकेका छन् । शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उनी घाना गएका थिए । 

  • कात्तिक

कात्तिकमा मात्र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य अजरबैजान गए भने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शिक्षा राज्यमन्त्री प्रमिला यादवले चीनको भ्रमण गरे । यस्तै, कात्तिक ७ गते मलेसियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा भाग लिन सहरी विकास मन्त्री सीता गुरुङ गएकी थिइन् । उनको यो भ्रमण भदौ २९ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

  • असोजमा प्रधानमन्त्रीसँग 

प्रधानमन्त्री प्रचण्डले असोज ५ गते गरेको चीन भ्रमणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्रराय यादव, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु सहभागी थिए । परराराष्ट्रमन्त्री एनपी साउद अमेरिका हुँदै असोज ६ गते चीन पुगेका थिए भने चीनमा भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको बैठकमा सहभागी हुन भौतिक राज्यमन्त्री राज्यमन्त्री नन्दा चापागाईं असोज ७ गते चीन पुगेकी थिइन् । 

असोजको अन्तिम साता शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवले श्रीलंकाको भ्रमण गरिन् । एसियाका संसद्हरूमा लैंगिक समानतामा समावेशिता र विविधतासम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि उनी त्यता गएकी थिइन् । 

असोज २४ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृति गराएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ असोज २९ गते चीन भ्रमणमा निस्केका थिए, तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा भाग लिनका लागि । उतै बिरामी परेपछि श्रेष्ठ केही ढिलो गरी स्वदेश फर्के । असोज २४ कै मन्त्रिपरिषद् बैठकबाट भ्रमणको स्वीकृति लिएका ऊर्जामन्त्री बस्नेतले थाइल्यान्डको भ्रमण गरे, तेस्रो एसिया–प्यासिफिक इनर्जी फोरममा भाग लिनका लागि । असोज २४ कै बैठकबाट स्वीकृति लिएर भौतिक पूर्वाधार तथा यातायाता मन्त्री प्रकाश ज्वालाले भारत भ्रमण गरिसकेका छन् । 

असोज १७ गते युरोप भ्रमणका लागि निस्केका श्रममन्त्री भण्डारीले टर्कीको इस्तानबुल र युरोपका विभिन्न देशको भ्रमण गरेका थिए । असोज ५ गते अर्थमन्त्री डा. प्रकाशशरण महत पनि इजिप्टको भ्रमणमा गएका थिए । भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृति दिएको थियो । 

  • भदौ 

भदौको पहिलो साता स्वास्थ्यमन्त्री बस्नेत क्षयरोग नियन्त्रणसम्बन्धी बैठकमा भाग लिन भारत पुगेका थिए । त्यसै बेला शिक्षामन्त्री अशोककुमार राई पनि चीन भ्रमणमा थिए । 

यस्तै अर्थमन्त्री महत भदौ ३ गते क्यानडा भ्रमणमा गएका थिए । उनी विश्व वातावरण सुविधाको सातौँ सभामा भाग लिन त्यता गएको बताइन्छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल भदौ ५ गते थाइल्यान्डको भ्रमणमा निस्केका थिए । त्यहाँ हुने अतिकम विकसित राष्ट्रहरूको ‘भियना प्रोग्राम’मा सहभागी हुनका लागि उनी गएको बताइन्छ । 

भदौ पहिलो साता भारत भ्रमण सकाएर फर्केका स्वास्थ्यमन्त्री बस्नेत लगत्तै भदौ १८ गते इजिप्ट पुगेका थिए । भदौ २२ गते सहरी विकासमन्त्री गुरुङले एक साता लामो युरोप भ्रमण गएकी थिइन् भने भदौ २६ गते परराष्ट्रमन्त्री साउद प्रधानमन्त्री प्रचण्डसँगै न्युयोर्क भ्रमणमा पुगेका थिए । भदौ २८ गते कृषिमन्त्री डा. वेदुराम भुसाल क्युबा पुगे, जी–७७ को सम्मेलनमा भाग लिन । 

  • प्रधानमन्त्रीसँग इटालीमा

साउनको पहिलो साता प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा गए, साउन ८ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन । अरु देशका कुनै प्रधानमन्त्री सहभागी भएका नभएको यस कार्यक्रममा हाम्रा प्रधानमन्त्री नगएको भए पनि हुन्थ्यो । कृषिमन्त्री मात्र सहभागी हुने त्यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका कारण आलोचना समेत भएको थियो । हुन त प्रधानमन्त्री प्रचण्डसँग कृषिमन्त्री भुसाल पनि गएका थिए 

साउन ७ गते ऊर्जामन्त्री बस्नेत अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको बैठकमा सहभागी हुन संयुक्त अरब इमिरेट्सको अबुधाबी पुगे । अर्कोतिर, त्यही दिन भौतिकमन्त्री ज्वाला पनि जम्बो टोली लिएर जापान भ्रमणमा गएका थिए । 

  • मेला हेर्न विदेश भ्रमण

उद्योगमन्त्री रिजाल एक मेलामा सहभागी हुनका लागि असार ५ गते चीन पुगेका थिए भने उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ पनि एउटा मेलामा सहभागी हुन असार १२ गते चीन पुगे । रिजालको चीन भ्रमणलाई वैशाख २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

असार १३ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र श्रममन्त्री भण्डारी ओमान भ्रमणमा गए, गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्वीय क्षेत्रीय सम्मेलनमा भाग लिन । यो भ्रमणलाई असार ५ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

असारमै थाइल्यान्डले आयोजना गरेको रिट्रिटमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बैंकक पुगेका थिए । त्यहाँबाट फर्केलगत्तै साउद अजरबैजान उडे, त्यहाँ असारको २० र २१ गते हुने एक कार्यक्रममा सहभागी हुन ।

असार १८ गते तात्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दक्षिण कोरियाको भ्रमणमा गए । असारमै शिक्षा राज्यमन्त्री यादव बहुभाषिक शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन थाइल्यान्ड पुगेकी थिइन् । असारमै जी–२० मुलुकका अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री महत भारत पुगे । 

  • प्रधानमन्त्रीसँग भारतमा मन्त्रीहरू

प्रधानमन्त्री प्रचण्डले जेठको १७ गतेदेखि २० गतेसम्म गरेको भारत भ्रमणको दलमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री महत, ऊर्जामन्त्री बस्नेत, भौतिकमन्त्री ज्वाला पनि थिए । उनीहरूको भ्रमणलाई जेठ १५ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । 

जेठ ७ गतेदेखि स्विटजरल्यान्डमा भएको ७६औँ ‘वल्र्ड हेल्थ एसेम्बली’मा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत पुगेका थिए । उनको भ्रमणलाई जेठ २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

उद्योगमन्त्री रिजालले जेठमै बंगलादेशको भ्रमण पुगे, बिमस्टेक व्यापार सम्मेलनमा भाग लिनका लागि । जेठमै सहरी विकासमन्त्री गुरुङले कन्याको भ्रमण गरिन् । सोही महिना अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रममन्त्री भण्डारी स्विट्जरल्यान्ड पुगे । यी भ्रमणलाई जेठ १५ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

जेठमै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले श्रीलंकाको भ्रमण गरे । उनको भ्रमणलाई जेठ २४ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । 

  • वैशाख

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वैशाख १ गते अमेरिकाको भ्रमणमा गए, न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको संयुक्त राष्ट्र स्थायी मञ्चको २२औँ सत्रमा सहभागी हुन । उनको यस भ्रमणलाई चैत २४ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

वैशाख १९ को मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको बेलायत भ्रमणलाई स्वीकृति दिएको थियो । चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद वैशाख २१ गते बेलायत गएर २६ गतेका फर्केका थिए । 

वैशाख २१ गतेदेखि दक्षिण कोरियामा भएको एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री महत पुगे । उनको भ्रमणलाई चैत २८ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

  • मन्त्री पद खालि हुँदा

२०७९ चैत २६ गते भारतको कर्नाटकमा भएको बाघसम्बन्धी एक कार्यक्रममा भाग लिन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत पुगे । वनमन्त्री जानुपर्ने सो कार्यक्रममा त्यतिबेला वन मन्त्रालय सम्हालेका प्रधानमन्त्री प्रचण्डले बस्नेतलाई पठाएका थिए । चैत २० को मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी वन मन्त्रालय पनि सम्हालिसकेको अनुभवका आधारमा बस्नेतलाई भारत पठाइएको थियो । 

२०७९ फागुन १६ गते माओवादी केन्द्र र एमाले गठबन्धनको सरकारबाट एमाले फिर्ता भएको थियो । त्यसपछि माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरी मन्त्रिपरिषद् पुनर्गठन ग¥यो । माओवादी–एमाले गठबन्धन सरकारका पाला तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भारत पुगे, बैङ्लोरमा फागुन १२ र १३ गते भएको जी–२० अर्थमन्त्रीको सम्मेलनमा भाग लिन । उनको यो भ्रमणलाई फागुन ४ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो ।

गत फागुन १९ गते तत्कालीन उपप्रधान एवं भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले कतार भ्रमण गरेका थिए । अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा भाग लिनका लागि भएको उनको सो भ्रमणलाई फागुन १५ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । 

गत फागुन ३० को मन्त्रिपरिषद् बैठकले तत्कालीन खानेपानीमन्त्री अब्दुल खानलाई अमेरिका भ्रमणको स्वीकृति दिएको थियो । न्युयोर्कमा चैत ८ गतेदेखि आयोजना भएको विश्व पानी सम्मेलनमा सहभागी हुन खान चैत ६ गते त्यता प्रस्थान गरेका थिए । 

तत्कालीन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल गत माघ १९ गते श्रीलंकाको भ्रमणमा गएकी थिइन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसमा सहभागी हुने उनको यो भ्रमणलाई माघ १६ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री बनेपछि सरकारको तर्फबाट विदेश भ्रमणको सुरुवात विमला रार्ई पौडेलबाट भएको थियो । 

गत फागुनको १४ गते स्विट्जरल्यान्डमा भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा पनि भाग लिने तयारीमा थिइन्, तत्कालीन परराष्ट्रमन्त्री पौडेल । उनको भ्रमणलाई अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले रोकेका थिए । 

हुन त त्यतिबेला प्रधानमन्त्री प्रचण्डले आफ्नो कतार भ्रमणलाई पनि स्थगित गरेका थिए । गत फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जाने भनी सम्पूर्ण तयारी पूरा भएको थियो, तर फागुन १५ गते उनले आफ्नो भ्रमण स्थगित गरे । 

  • आर्थिक लोभ

मन्त्रिपरिषद्ले स्वीकृत गरेको भ्रमणको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । यद्यपि कतिपय मन्त्री आयोजकको खर्चमा पनि विदेश भ्रमण गर्छन् । पछिल्लो समय मन्त्रीहरूले गरेको विदेश भ्रमणको सूची हेर्ने हो भने अधिकांश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत लिएरै भएको देखिन्छ । उनीहरूले डलरमा सेवा–सुविधा सरकारबाट लिएका छन् ।

विदेश भ्रमणमा जानका लागि सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयसँग स्वीकृत लिनुपर्ने हुन्छ । कतिपय मन्त्रीले अर्थ मन्त्रालयलाई जानकारी नगराईकन पनि विदेश भ्रमण गरेका हुन्छन् । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले मन्त्रिपरिषद्बाट स्वीकृत लिएर जाने मन्त्रीहरूले अर्थ मन्त्रालयसँग स्वीकृत लिएर जानैपर्ने प्रावधान रहेको बताए । मन्त्रिपरिषद्ले जसको भ्रमणलाई स्वीकृत गरेको हुन्छ, त्यसको खर्च मात्र अर्थ मन्त्रालयले बेहोर्ने बताउँदै उनले मन्त्रीहरू आयोजकको खर्चमा पनि विदेश जाने गरेको बताए । 

सरकारलाई थप व्ययभार पार्ने अवस्था देखिएमा अर्थ मन्त्रालयले भ्रमणको स्वीकृति नदिन पनि सक्छ तर कतिपय अवस्थामा मन्त्रीहरूले आयोजकको खर्चबाट जाने भएपछि स्वीकृत पाउने गरेको उनले बताए । मन्त्री तथा उच्च पदस्थ कर्मचारीले नियमावली अनुसार भक्ता तथा अन्य सुविधा पाउने गरेको उनले बताए । 

विदेश भ्रमण जाँदा डलरमा भत्ता पाइने हुनाले पनि मन्त्रीहरू विदेश भ्रमणमा जान मरिहत्ते गरेको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् । मन्त्रालयको कुनै निमन्त्रणा आयो भने दायाँ–बायाँ नहेरी आफू नै त्यसमा जान खोज्ने प्रवृत्तिले मन्त्रीहरूको विदेश भ्रमणमा वृद्धि भएको उनको भनाइ छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारी टोलीबाट विदेश भ्रमणमा जाँदा मन्त्रीले दैनिक २५०, सचिवहरूले २२५ र सहसचिवहरूले १७५ डलर दैनिक भ्रमणभत्ता पाउँछन् । लुगा–भत्ता लगायत अन्य सुविधा पाउने गरेका छन् । विदेश जाँदा त्यहाँका आयोजक तथा विदेशीले दिने उपहारका कारण मन्त्रीहरू त्यतातिर बढी लोभिएका देखिन्छन् । 

mantri-bidesh-table-1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप