शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको सम्बोधन

चैत्रभित्र दुध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री

मङ्गलबार, १० पुस २०८०, १७ : ४९
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताएका हुन् । 

उनले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा वितरण गर्न सुरु गरिँदैछ । प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ । दुध किसानहरूको बाँकी बक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन । कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था छैन । खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ ।’

प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप