बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महामारी सम्झौताका लागि डब्लुएचओको आग्रह

मङ्गलबार, १० पुस २०८०, २१ : ३०
मङ्गलबार, १० पुस २०८०

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले मङ्गलबार विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन् । 

सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए । 

उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे । 

उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए । “तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ”, उनले भिडियो सन्देशमा स्मरण गर्दै भने । 

टेड्रोसले १० महिनापछि डब्लुएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए । यस वर्ष डब्लुएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ । 

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए । “यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो”, उनले भने । 

उनले इजराइलमाथि हमासको ‘बर्बर’ हमलाका बारेमा कुरा गर्दै भने, “यसपछि गाजामा विनाशकारी हमला भयो ।” इजराइली आँकडाअनुसार हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० जना मारिएपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासले दुई सय ५० मानिसलाई बन्धक बनाएको छ । तीमध्ये एक सय १९ जना गाजाभित्रै रहेका छन् ।

इजराइलले व्यापक हवाई बमबारी र स्थल आक्रमण सुरु गरेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २० हजार नौ सय १५ जना मारिएका छन् । महानिर्देशक टेड्रोसले तत्काल युद्धविरामका लागि डब्लुएचओको आह्वानलाई जोड दिँदै भने, “गाजामा मानिसहरूको आवश्यकता पूरा गर्न राहत प्रयास पुग्न सकिरहेको छैन ।”

डब्लुएचओको ७५औँ वर्ष समापन गर्दै उनले आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीमा कमी कायमै रहेको बताए ।-(रासस/एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप