शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: कांग्रेस

बिहीबार, १२ पुस २०८०, १७ : ३१
बिहीबार, १२ पुस २०८०

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।  बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न सक्ने बताएका हुन् । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट गर्न सक्ने स्पष्ट पारे । 

उनले भने, ‘मन्त्री हेरफेरको कुरामा प्रधानमन्त्रीज्यूको सम्बोधनलाई र पार्टीभित्र मन्त्रीले जवाफ दिने कुरा, मन्त्रीले आफ्ना विषयवस्तु राख्ने कुरा बाँकी नै छ । तर मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीय प्रणाली हो, प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्न सक्ने प्रावधानलाई काँग्रेस अवरोध बन्दैन ।’

काँग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस उनले बताए ।  उनले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, साङ्गठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताए । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराएको र बाँकी मन्त्रीहरूले शुक्रवारको बैठकमा जानकारी गराउने बताए । 

उनले भने, ‘सभापतिज्यूको अनुमतिले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्नुभयो । आजको बैठकको प्रस्तावमा पार्टीको साङ्गठनिक गतिविधिका बारेमा एउटा, अहिले यो महासमितिको बैठकको तयारी, तेस्रो विषयमा अहिले हामी मेलमिलाप दिवसको १६ गते कार्यक्रम गर्दै छौँ, त्यो कार्यक्रमको तयारीका बारेमा र पार्टीको पूर्वनिर्धारित कार्यक्रम समुदायमा काँग्रेस भन्ने रहेको थियो, सरकारमा रहेका मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यसमितिमा आफ्नो आफ्नो मन्त्रालयका कार्य सम्पादन भएका विषयहरू, प्रगतिका विषयलाई पार्टीमा जानकारी गराउनु भयो । राष्ट्रिय सभा, साङ्गठनिक अरू विषय, विभिन्न गतिविधि लगायतका ५ विषयमा छलफल भएको छ । छलफलमा स्वास्थ्यमन्त्रीले आफ्ना धारणा राखेर जानुभयो ।’ 

उनले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरूले राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप