शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय कार्यसमिति बैठक

‘लाइभ’ नगरिएको कांग्रेस बैठकमा के–के भयो छलफल ?

बिहीबार, १२ पुस २०८०, १९ : ५१
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सात वटा एजेण्डामाथि छलफल सुरु भएको छ । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सात एजेण्डा पेस गरेका थिए ।

गत साउन २ मा कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको थियो। असोज ४ मा बसेको बैठक पनि लाइभ भएकोमा बिहीबारदेखि सुरु बैठक भने लाइभ गरिएको छैन।

लाइभ नगरिएको बैठकमा महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस, मेलमिलाप दिवसको एजेण्डा छ । बैठकमा एजेण्डा पेस भएपछि अर्का महामन्त्री गगन थापाले पार्टीको सांगठनिक विषय प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले महासमिति बैठक तयारी, इकोनोमिक कन्क्लेभ, डिजिटल कांग्रेस र पुस्तकालय निर्माणका विषय अन्तिम चरणमा पुगेको बताएका थिए । समुदायमा कांग्रेस अभियानमा जुन तहमा समस्या भेटिन्छन् त्यही तहमा समाधान गर्ने गरी अघि बढ्नुपर्ने थापाको भनाइ थियो ।  ‘सरकारमा रहेका मन्त्रीहरूले गरेका राम्रा कामलाई तलैसम्म लिएर जाने, समुदायमा सद्भाव बढाउने कुरालाई पनि सँगै लैजानुपर्छ,’ उनले भने ।

माघ १२ गते पार्टी स्थापना दिवस वडा तहमा मनाउने र त्यसका लागि सबै नेताहरू आफू मतदाता रहेको वडाका कार्यक्रममा जानुपर्ने महामन्त्री थापाको भनाइ थियो । १७ जिल्लामा पार्टीभित्र आन्तरिक विवाद देखिएकोले समुदायमा कांग्रेस अभियानका बेला केन्द्रीय पदाधिकारी नै यी जिल्लामा खटिएर समस्याको समाधान खोज्नुपर्ने उनले बताएका थिए।

यस्तै भ्रातृ संस्थाका महाधिवेशनबारे पनि छलफल गरी पार्टीले निर्णय लिनुपर्ने थापाले बताएका थिए ।  ‘तदर्थ समिति कहिलेसम्म बनाइराख्ने र म्याद थपिराख्ने ? भ्रातृ संस्थाका महाधिवेशनबारे छलफल गरौँ र उचित निर्णय लिऔँ,’ उनले भने।

महामन्त्री थापाले आफ्ना कुरा राखेपछि केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो मन्त्रालयको काम कारबाहीबारे रिपोर्ट सुनाएका थिए । मन्त्री बस्नेतले आठ सय डाक्टरहरूको काज फिर्ता गर्दा दुर्गममा मानिसले सेवा पाउने अवस्था बनेको बताए।

स्वास्थ्य क्षेत्रमा मुलुकमा ९२ हजार दरबन्दी चाहिए पनि अहिले ३० हजार दरबन्दी रहेको उनको भनाइ छ । स्वास्थ्य बीमासम्बन्धमा देखिएको समस्या हल गर्ने काम भएको मन्त्री बस्नेतको दाबी थियो । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भन्दै मन्त्रीहरू सानेपाबाट निस्किए । बाँकी आठ जना मन्त्रीले शुक्रबारको बैठकमा लिखित रूपमा प्रस्तुति दिने जनाइएको छ । बैठकमा सहमहामन्त्री जीवन परियारले भूकम्पपछि कांग्रेसले गरेका कामका बारेमा रिपोर्ट नै पेस गरेका थिए ।

बैठकको पहिलो दिनमा बोल्ने केन्द्रीय सदस्यहरु राष्ट्रियसभा निर्वाचनमाथि केन्द्रित भएको देखिन्छ । बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्रिय सभामा पार्टीले उम्मेदवार छनोट गर्दा न्यायको सिद्धान्तअनुसार हुने गरी मापदण्ड बनाउनुपर्ने बताएकी थिइन् । केन्द्रीय सदस्य दीपक गिरीले

 पनि राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा सबैलाई समेट्ने गरी मापदण्ड बनाउनु पर्ने मत राखे । यस्तै उनले पार्टीले सुरु गर्न लागेको समुदायमा कांग्रेस अभियानजस्तो संसदमा पनि कांग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

 ‘संसदमा कांग्रेस प्रभावकारी ढंगले पेस हुन सकिरहेको छैन । एनसेल र टेरामक्सका नाममा आक्रमण जारी छ, यो गम्भीर छ,’ ,’ उनले भने । उनले सहकारीका नाममा ठगीका कुरा आइरहेकोले त्यस विषयमा भण्डाफोर गरिनुपर्ने बताए।

केन्द्रीय सदस्य दिलेन्द्र बडूले समयमा महासमितिमा प्रस्तुत प्रतिवेदन पार्नुपर्ने बताए । पार्टीले कारबाही गएकाहरु महासमितिमा आउने सम्बन्धमा पनि निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

‘राष्ट्रिय सभामा कांग्रेसले कति सिट पाउँछ । हामीले पाएका सिटमा धेरै अवसर पाएकालाई होइन अवसर नपाएकालाई मौका दिनुपर्छ,’ उनले भने ।

केन्द्रीय सदस्य राजीव कोइरालाले सरकार भएको अनुभूति नभएको बताए  । ‘अपजस हामीले अस कसले लिने ? हाम्रा मन्त्री गुटका आधारमा काम गर्ने भए ,’ उनले भने ।

राष्ट्रिय सभा निश्चित मापदण्ड बनाउन उनको पनि माग थियो ।  कोइरालाले भने, ‘पटक–पटक एउटैलाई अवसर दिने काम नहोस् । नेतृत्वले न्यायोचित ढंगले उम्मेदवार तय गरोस् ।’

केन्द्रीय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अगाडि मन्त्रीको कुरा सुन्न पाउनुपर्ने बताएका थिए । ‘मन्त्रीहरूले राम्रो काम गरे राख्ने नत्र हटाउने प्रधानमन्त्रीको कुरा छ,’ उनले भने, ‘हाम्रा मन्त्रीहरूले के काम गरिरहनुभएको छ पहिले त्यो सुन्न पाएको भए धारणा राख्न सजिलो हुने थियो।’

सामाजिक सञ्जालमा कांग्रेसकै मानिसले सरकार र मन्त्रीहरूका विरुद्धमा टिप्पणी गर्ने गरेको भन्दै त्यसलाई रोक्न नसकिएको बताए ।  ‘चुनावका बागी र विद्रोहीलाई त कारबाही गर्न सकिएको छैन, सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई के गर्न सकिएला र ?,’ उनले भने, ‘सरकारले र हाम्रा मन्त्रीहरूले गरेका राम्रा काम प्रचार गर्न मिल्ने गरी विवरण राख्नुपर्‍यो।’

विश्वकर्माले पनि राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्नुअघि निश्चित मापदण्ड बनाउन आग्रह गरेका थिए ।

केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले सरकारको डिकेन्स गर्न नसकिएको भन्दै  प्रधानमन्त्री हटाउनुपर्ने बताए । सरकारको निगरानी गर्न पार्टीले संयन्त्र बनाउनुपर्ने पोखरेलले बताए।

यस्तै केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि मापदण्ड बनाउनुपर्ने बताए। ‘बिनाविभेद राष्ट्रिय सभा उम्मेदवार तय गरौँ, मापदण्ड बनाऔँ,’ उनले भने ।

चुनाव हारेकालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश नजाने भन्दै त्यसो गरिए आफ्नो पनि दाबी रहेन उनको भनाइ थियो । नवलपरासीमा नेता र केन्द्रीय सदस्यलाई खबर नगरी सम्मेलन गरिएकोमा कँडेलले केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएका थिए । ‘गुटका नाममा गलत तत्त्वलाई प्रमोसन गर्न भएन,’ उनले भने।

केन्द्रीय सदस्य कर्णबहादुर बुढाले सबै अवसर पाएकालाई राष्ट्रिय सभामा ल्याउन नहुने बताएका थिए । यस्तै केन्द्रीय सदस्य भरत शाहले मुलुकको आर्थिक अवस्था सकारात्मक हुँदै गएका बताएका थिए ।

केन्द्रीय सदस्य मुम्ता कुमारी यादवले पार्टी सरकारमा भएको अनुभूति गर्न नपाएको गुनासो गरेकी थिइन् । यस्तै केन्द्रीय सदस्य सीता देवकोटाले ‘समुदायसँग कांग्रेस’ अभियान चलाउन अहिले समय उपयुक्त नभएको बताइन् । केन्द्रीय सदस्य रंगमति शाहीले भूकम्प पीडित जिल्लामा प्रहरी र सेना परिचालन गरेर अस्थायी टहरा बनाउनुपर्नेमा कुरा राखेकी थिइन् ।

बिहीबार १५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको छ । अर्को बैठक शुक्रबार बिहान ११ बजे सानेपामा पुनः बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप