आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
विश्व

फर्केर हेर्दा सन् २०२३ : भूराजनीतिक तनाव चुलिएको वर्ष

रुस–युक्रेन र इजरायल–हमास युद्धसहित यस्ता छन् प्रमुख घटनाक्रम
शुक्रबार, १३ पुस २०८०, १५ : १५
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धका कारण सन् २०२३ मा विश्वमा भूराजनीतिक तनाव चुलियो । युद्धका बाछिटाले युद्ध प्रभावित देश तथा जनतामात्रै होइन, विश्वका अन्य देश पनि प्रभावित बने । 
यसैगरी पाकिस्तानमा पूर्वप्रधानमन्त्री थुनामा परे भने भारत–क्यानडा सम्बन्धमा तिक्तता पनि सन् २०२३ मै देखियो । 

यो वर्ष प्राकृतिक विपद् र मानव सिर्जित विनाशका कारण संसारभर नै त्रास देखियो । जसअनुसार महाविनाशकारी भूकम्पमा परेर हजारौँको ज्यान गयो भने दशौँ हजार बिचल्लीमा परे । यसैगरी सन् २०२३ मै अमेरिकामा गोली कान्डका अनेकौँ घटना पनि भए । यस लेखमा हामी सन् २०२३ मा भएका भूराजनीतिक तनावसँगै विश्वभर भएका केही मुख्य घटनाबारे हामी चर्चा गर्नेछौँ–

रुस–युक्रेन युद्धको प्रभाव

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्‍यो । यो युद्ध अहिले पनि जारी छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्धलाई जारी राख्न विश्वभरबाट आर्थिक सहायता मागिरहेका छन्, लिइरहेका छन् । आन्तरिक राजनीतिका कारण यूरोप र अमेरिका जस्ता मुख्य मित्र राष्ट्रहरुले दिने आर्थिक सहयोग अहिले सुस्ताएको छ । युक्रेनी युद्धमा भएको जनधन क्षतिबारे ठोस तथ्याङ्क आएको छैन । तर संयुक्त राष्ट्र संघका अनुसार युद्धमा १० हजारभन्दा धेरै युक्रेनी नागरिकको मृत्यु भएको छ ।

न्यूयोर्क टाइम्सको एउटा समाचारका अनुसार युद्धमा अहिलेसम्म ४ लाख युक्रेनी र रुसी सेनाको मृत्यु भइसकेको छ । किभले मस्कोको सुरक्षा चासोलाई विचार गरेर सम्झौता नगर्दासम्म युद्ध चलिरहने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्पष्ट पारिसकेका छन् । कि त सम्झौता हुनु पर्‍यो, युक्रेनको सेनाको आकार र बल सीमित पार्नु पर्नेलगायत निश्चित विषयमा सहमति गर्नु पर्ने, होइन भने आफूहरुले यो मामिलालाई तागत लगाएर सल्ट्याउने पुटिनले स्पष्ट पारिसकेका छन् । उसो त भूराजनीतिक तनावकै कारण विश्वका कतिपय नेताहरु जी–२० लगायत महत्त्वपूर्ण समारोहहरुमा सहभागी भएनन् । 

इजरायल–हमास युद्ध

इजरायल र हमासबिच गाजामा जारी युद्धमा झन्डै २० हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ । दशौँ हजार घाइते भएका छन् । सो क्षेत्रका २३ लाख बासिन्दामध्ये ९० प्रतिशत विस्थापित भइसकेका छन् । अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यति बेला झन्डै १ हजार २०० इजरायलीहरुको घर, संगीत फेस्टिभल र अन्य सार्वजनिक स्थलमा एक साथ हमला भएको थियो । जारी युद्धमा घाइतेको संख्या हजारौँ पुगेको छ भने २४० जनालाई हमासले बन्धक नै बनायो । यसरी बन्धक बन्नेमा नेपाली नागरिक विपिन जोशी पनि छन् । यो महिनाको सुरुमा भएको अस्थायी युद्धबिरामका क्रममा हमासले बन्ध बनाइएकामध्ये आधाभन्दा धेरैलाई रिहा गरिसकेको छ । तर जोशीको अत्तोपत्तो छैन ।

भारत क्यानडा सम्बन्धमा तिक्तता

img_219267_india-cananda33uq2fd-highres_bg

क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडोले यही वर्ष क्यानडामा खलिस्तानी पृथकतावादी नेता हरदीप सिंह निज्जारको हत्या मामिलामा भारत सरकारको संलग्नताको दाबी गरेपछि दुई देशको कूटनीतिक सम्बन्ध चिसियो । निज्जार बेलायतको लन्डनको सर्रेमा गुरु नानक सिख गुरुद्वाराका प्रमुख थिए । उनी पृथकतावादी संगठन खलिस्तान टाइगर फोर्सका प्रमुख पनि थिए । जुनमा गुरुद्वाराबाहिर दुई अपरिचित व्यक्तिले निज्जारको गोली हानेर हत्या गरे । ट्रुडोको आरोपको भारतले खण्डन गरेको थियो । यसै मामिलामा दुई देशबिचको सम्बन्धमा तिक्तता बढ्दै गएपछि भारतले केही क्यानडेली कुटनीतिज्ञहरुलाई देश निकाला गर्‍यो भने क्यानडामा भिसा सेवा नै रोकिदियो । यो घटनाको केही महिनापछि अमेरिकाको न्याय मन्त्रालयले पनि अमेरिकामा बस्दै आएका शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्याको आरोपमा भारतीय नागरिक निखिल गुप्तामाथि अभियोग चलायो ।

पाकिस्तानमा इमरान खान पक्राउ 

२०२२ र २०२३ पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका लागि घटनै घटनाले भरिएको वर्ष बन्यो । अप्रिलमा अविश्वासको प्रस्ताव पारित भएपछि उनी प्रधानमन्त्रीको कुर्सीबाट हट्नु पर्‍यो । उनी तोशाखाना मामिलामा पक्राउ परेर जेल चलान भए । प्रधानमन्त्रीको कुर्सीमा रहँदा उनले पाएको महँगो उपहारबारे सार्वजनिक गरेको आरोप उनीमाथि थियो ।

इमरान मामिलाले पाकिस्तानको राजनीति कयौँ दिनसम्म तरङ्गित भइरह्यो । यति नै बेला चार वर्षदेखि लन्डनमा निर्वासित जीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफ पनि पाकिस्तान फर्किए । आगामी वर्ष आम निर्वाचन हुने तयारी भइरहँदा सरिफ स्वदेश फर्किएका हुन् । धेरैले उनको सत्तारोहणको भविष्यवाणी गरिरहेका छन् । 

टर्की र सिरियामा भूकम्प

फेब्रुअरी ६ मा टर्की र छिमेकी देश सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएको परकम्पमा परेर ६७ हजारभन्दा धेरै मानिसको मृत्यु भयो । हजारौँ घर ढले । अधिकांश क्षति भने ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसलगत्तै गएको ७.७ रेक्टर स्केलको परकम्पका कारण भएको थियो । यो सन् १९३९ यता टर्कीमा आएको सबैभन्दा ठूलो भूकम्प थियो । दक्षिण र मध्य टर्कीमा ५९ हजार मानिस मरे भने युद्धग्रस्त सिरियामा मर्नेको संख्या ८ हजार नाघेको छ । भूकम्पबाट सबैभन्दा धेरै क्षति ऐतिहासिक सहरहरु साललीउर्फा र अलेप्पोमा भएको थियो ।

विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो भारत

यो वर्षको सुरुमा चीनलाई उछिनेर भारत विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो । यूएनएफपीएको विश्व जनसंख्या रिपोर्टका अनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको १ अर्ब ४२ करोड ५७ लाख । भारतको जनसंख्याको ठुलो हिस्सा अर्थात् ६८ प्रतिशत १५ देखि ६४ वर्ष बिचको छ । २५ प्रतिशत जनसंख्या शून्य देखि १४ वर्ष बिचको छ भने १८ प्रतिशत १० देखि १९ वर्ष समूहको छ । २६ प्रतिशतको उमेर १० देखि २४ वर्ष रहँदा ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ७ प्रतिशत छ ।

पनडुब्बी बेपत्ता

titan-side-view-titanic-ht-lv-230619_1687217955786_hpMain_16x9_1600

जुन १८ मा उत्तर एटलान्टिक सागरमा पाँच जना सवार टाइटन नाम गरेको पनडुब्बी हरायो । १११ वर्ष पहिले समुद्रमा डुबेको टाइटानिकको भग्नावशेष हेर्न भनेर समुद्र मुनि १२ हजार फिट गहिराइमा पनडुब्बी नै गायब भयो । कयौँ दिनसम्मको अनवरत खोजीपछि अधिकारीहरुले टाइटानिकभन्दा  ५०० मिटर पर उक्त पनडुब्बी भेटे । पनडुब्बी दुघर्टनामा परेर नाम चलेका चर्चित व्यक्तित्वहरुको मृत्यु भयो ।

हलिउडको बन्द हड्ताल

कृत्रिम बौद्धिकताको प्रयोगका कारण सिर्जनशील अर्थतन्त्रमा पर्ने प्रभाव र आफ्नो अस्तित्व नै संकटमा पर्ने भयबिच यो वर्ष हलिउडमा व्यापक बन्द हड्ताल भयो । लेखक अनि कलाकारहरु महिनौँसम्म बन्द हड्तालमा उत्रिए । फिल्ममा प्रविधिको प्रयोग कम गर्ने र तलब बढाउनु पर्ने मागसहित मे महिनामा लेखकहरुले बन्द हड्ताल सुरु गरे । जुलाईमा हलिउडका कलाकारहरु पनि यसमा सामेल भए । न्यूनतम पारिश्रमिक अनि एआईले आफ्नो आवाजको नक्कल गर्न सक्ने भयले चर्काएको विरोध प्रदर्शनका कारण हलिउडका सयौँ चर्चित शोको निर्माणमा ढिलाइ भयो । फिल्मको निर्माण पनि पछाडि धकेलिए । लेखकहरुसँग सम्झौता भएको २ महिनापछि नोभेम्बरमा कलाकारहरु पनि सम्झौता गरेर काममा फर्किएपछि बल्ल हलिउड सामान्य स्थितिमा फर्किएको छ । 

अमेरिकामा गोली काण्ड

29NAT-NASHVILLE-WWK-hfwm-videoSixteenByNine3000

अमेरिकामा पछिल्लो समय गोली प्रहारको घटना तीव्र बनेका छन् । जनवरीमा क्यालिफोर्निया मोन्टेरे पार्कमा ७२ वर्षका बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भयो भने अन्य ९ जना घाइते भए । त्यस्तै, सन् २०२३ को मार्चमा नाशभिलमा एउटा प्राथमिक विद्यालयमा सामूहिक गोलीकाण्ड भयो । एक पूर्व विद्यार्थीले गोली चलाउँदा ९ वर्षको तीन बालबालिकासमेत ६ जनाको मृत्यु भयो । गोली चलाउने व्यक्तिलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारिदिएका थिए ।

नेपालको भूकम्प

यो वर्ष नोभेम्बर महिनामा पश्चिम नेपालमा ६ दशमलव ४ तीव्रताको भुँइचालो जाँदा १५० भन्दा धेरैको मृत्यु भयो भने सयौँ अन्य घाइते भए । रामीडाँडालाई केन्द्र बिन्दु बनाएर गएको यो भूकम्प सन् २०१५ यताकै सबैभन्दा विध्वंशकारी भुँइचालो थियो । रातको समयमा भुँइचालो गएकोले मर्नेको संख्या धेरै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप