शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

कांग्रेस बैठक राष्ट्रियसभा चुनाव केन्द्रित, मन्त्रीको कामबारे मिश्रित प्रतिक्रिया

शुक्रबार, १३ पुस २०८०, २० : १९
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट बनेका मन्त्रीको काम कारबाहीबारे समीक्षा गर्न बोलाएको बैठक राष्ट्रियसभा निर्वाचन केन्द्रित बन्न पुगेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनको विषयमा केन्द्रित भएका छन् । राष्ट्रियसभा निर्वाचनको विषय बैठकको सुरुका एजेण्डा थिए ।

केन्द्रीय सदस्यले सोही विषयलाई प्राथमिकता दिएपछि बैठककै बिचमा एजेण्डामा राखिएको थियो ।

केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले मन्त्रीसँग कांग्रेस सांसदको भूमिका पनि प्रभावकारी नभएको बताएका थिए । ‘उहाँ मन्त्रीको भूमिका मन्त्री होइन । हाम्रा सांसदको भूमिका पनि प्रभावकारी देखिएको छैन,’ उनले भने ।

केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले पार्टीले नयाँ मान्छेलाई अवसर दिनुपर्ने बताएकी छन् ।

उनले भने,‘यहाँ त एउटै ढुंगा यता पल्टाको छ, उता पल्टाको छ । यता पल्टायो केन्द्रीय सदस्य, उता पल्टायो सांसद, फेरि उता पल्टायो मन्त्री । अब त सबैलाई दिक्क लागेन भनेको । पल्टाउनेलाई पनि हैरान र दिक्क, पल्टीनेलाई पनि वाक्क दिक्क, अझ दर्शकलाई त झन् कस्तो भयो होला ।’

अब यस विषयमा गम्भीर सोच्दै नयाँ ढुंगा पल्टाएर हेर्न उनको आग्रह छ । ‘राष्ट्रियसभा निर्वाचनमा नयाँ ढुंगा पल्टाउनुहोस् । त्यहाँभित्र खजाना भेटिन्छ, त्यहाँशक्ति र ऊर्जा हुन्छ । त्यो शक्तिले मात्र पार्टीभित्र सक्षम, निष्पक्ष र निर्भीक कार्यकर्ताको जन्म हुन्छ । पुरानो ढुंगा भित्र न खजाना भेटिन्छ न भजना बाँकी छ,’ अवालले भनिन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रियसभालाई चुनाव हारेका र समानुपातिकमा पहिला नाम राखेकाको डम्पिङ स्थल बनाउनु नहुने बताए ।

‘कांग्रेसले राष्ट्रियसभामा मान्छे पठाउँदा सकारात्मक सन्देश जानुपर्छ,’ उनी भन्छन्, ‘कांग्रेसले राष्ट्रियसभामा गरेको छनोटलाई हेर भन्ने गरी निर्णय लिनुपर्छ । जात, वर्ग, भूगोल हेरेर लोकतन्त्रवादी बुद्धिजिवीको राष्ट्रियसभामा प्रतिनिधित्व गराउनुपर्छ ।’

राष्ट्रियसभामा नेता र नाताका मान्छेलाई अवसर नदिन नहुने उनको भनाइ छ । यस्तै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको सबै पक्षलाई समेटेर मापदण्ड बनाउनुपर्ने बताए ।

‘केन्द्रीय कार्यालय परिसरमा भेट भएका द्वन्दमा दुवै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्री जस्ता द्वन्दपिडित र अपाङ्गता भएका साथीले मैले पनि न्याय पाए भन्ने गरी मापदण्ड बन्छ की यहाँ भित्र बैठकमा भएकाहरुको लागि मिल्नेगरि मात्र बनाइन्छ,’उनको प्रश्न थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा बनाउने मापदण्डबारे देशले कांग्रेसलाई हेरिरहेको उनको भनाइ थियो । ‘कांग्रेसले देशको मुड बुझ्छ की बुझ्दैन ? देशको मुड बुझे मात्रै पार्टी पनि टिक्छ हामी पनि टिक्छौँ । नेतृत्वको ध्यान जाओस्,’ उनी भन्छन् ।

यस्तै केन्द्रीय सदस्य आचार्यले राष्ट्रिय सभामा उपयुक्त पात्रलाई अवसर दिँदा समुदायमा कांग्रेस अभियान लिएर जाँदा सकारात्मक सन्देश जाने बताए । ‘लामो समय पार्टीमा दुःख गरेका, जगमा बसेर संगठन माथि उठाएका, तर अहिलेसम्म कुनै अवसर नपाएका छन्’, आचार्यले  भने, ‘त्यस्ता व्यक्तिलाई अहिले उम्मेदवार बनाइयो भने कांग्रेस रुपान्तरण भएको सन्देश लिएर जनताकहाँ जान सकिन्छ ।’

केन्द्रीय समिति बैठकमा बोल्न अधिकांशले निर्वाचन हारेका, समानुपातिकबाट नाम फिर्ता लिएका र पटक–पटक अवसर पाएकालाई मौका दिन नहुनेमा जोड दिएका थिए ।

मन्त्रीको कामबारे मिश्रित प्रक्रिया

बिहीबार र शुक्रबार गरी ६ जना मन्त्रीले बैठकमा एक वर्षको अवधिमा आफूबाट सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा ब्रिफिङ गरेका छन् । बिहीबारको बैठकमा स्वास्थ्यमन्त्री महोनबहादुर बस्नेत आफ्नो रिपोर्ट पेस गरेका थिए ।

यस्तै आजको अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका छन् ।

बैठकमा मन्त्रीका काम कारबाहीबारे मिश्रत कुरा उठेको थियो । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ लगायतले मन्त्रीको काम सन्तोषजनक नै रहेको टिप्पणी गरेका थिए । नेता गुरुङले मन्त्री परिवर्तन गर्ने नहुने मत पनि राखेका थिए ।

यस्तै केन्द्रीय सदस्य दिनेश कोइरालाले अर्थमन्त्री महतले अर्थतन्त्रलाई लिकमा ल्याउन गरेको प्रयत्न एकहदसम्म सफल भएको बताए । अब अर्थतन्त्रको दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था आएको बताए ।  केन्द्रीय सदस्य डा। चन्द्रकान्त भण्डारी, डा। चन्द्रमोहन यादव, प्रा.डा. गोविन्दराज पोखरेल लगायतले मन्त्रीको काम सन्तोषजनक नरहेको बताएका थिए ।

प्रधानमन्त्रीले अपेक्षा अनुसारको काम हुन नसकेको भन्नु काग्रेसका मन्त्रीहरुले समेत काम गर्ने नसकेको आरोप रहेको नेताहरुको भनाइ छ ।

सरकारमा कांग्रेस भएको अनुभूति नभएको कुरा बैठकमा उठेको छ । ‘सरकारमा रहेकाहरुको पर्फर्मेन्सले नै पार्टीका बारेमा पर्सेप्सन बन्ने हुनाले उहाँहरुलाई यदि तर भन्ने छुट छैन। काम गर्ने मौका पाएको बेलामा काम गरे अर्को चुनावको चिन्ता गर्नु पर्दैन,’ नेताहरुले भने ।

केन्द्रीय सदस्य डा। गोविन्द पोखरेलले अर्थतन्त्रमा झिनो सुधार मात्रै भएको बताए ।

२०६८ सालपछि चालु खर्च बढ्ने र पुँजीगत खर्च घट्ने क्रम जारी रहेको उनको भनाइ थियो । ‘यस वर्ष पनि ११४२ अर्ब चालु खर्च राख्दा पुँजीगत बजेट जम्मा ३०२ अर्ब राखिएको छ । जुन, गत सालभन्दा करिब ७८ अर्बले कमी हो’, पोखरेलले भने ।

तीनै तहका सरकारमा रहेकाहरु र पार्टीबीचमा समन्वयका लागि तत्काल संयन्त्रको गठन माग उठेको छ ।

वरियताको विषय टुंग्याउन ध्यानाकर्षण

कांग्रेस केन्द्रीय समिति बैठकमा वरियताको विषय टुंग्याउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  

बैठकमा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र देखिएको मर्यादाक्रमको विवाद यही केन्द्रीय समिति बैठकबाट अन्त्य गर्नुपर्ने बताए । ‘पार्टीमा जतिसुकै राम्रा कुरा गरे पनि हामीले गाउँ सम्मेलन, जिल्ला सम्मेलन प्रदेश सम्मेलन गरौँ । त्यहाँ मर्यादाक्रम मिलेन भन्ने कुरा ठूलो समाचारको विषय बनेर आउँछ,’ उनले भने, ‘फानो गयो। फानो गएन भनेर । सभापतिले यही केन्द्रीय समिति बैठकबाट मर्यादाक्रमको विवाद निराकरण गर्नुपर्छ । यो विवाद सदाका लागि अन्त्य गर्नुपर्छ ।’

यस्तै बैठकमा अर्का केन्द्रीय सदस्य मधु आचार्यले पनि मर्यादाक्रमको विवाद अन्त्य गर्न माग गरे । ‘यति पुरानो पार्टी आसन र भाषणका निम्ति अल्झिने, रुमल्लिने स्थिति बन्न हुँदैन’, आचार्यले भने ‘जिल्ला, प्रदेशमा साथीहरुले कार्यक्रम गर्न असजिलो भइसक्यो । पार्टीले मर्यादाक्रमको खाका यथाशीघ्र बनाओस् ।’

कांग्रेसमा मर्यादाक्रमको विवादले गर्दा उपसभापति पूर्णबहादुर खड्का र नेता डा।शेखर कोइरालाबिच सँगै एउटा कार्यक्रममा जाने अवस्था छैन ।

वरियता विवादकै कारण गण्डकी र लुम्बिनीको प्रदेश सम्मेलनमा उपसभापति खडका उपस्थित भएनन् । खड्का उपस्थित भएका मधेस र बागमती प्रदेश सम्मेलनमा नेता कोइरालाको सहभागी थिएन ।

कांग्रेसले निर्धारण गरिएको वरियतामा उपसभापति खड्का दोस्रो स्थानमा छन् भने नेता कोइराला २५ औँ स्थानमा छन् । संस्थापन इतर पक्षले गरेको कार्यक्रममा कार्यक्रम कोइरालालाई सभापति देउवापछिको आसन दिने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप