शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘कोशी प्रदेश’ नलेख्दा मुख्यमन्त्रीको आलोचना, वास्तविकता के हो ?

आइतबार, १५ पुस २०८०, १२ : ५०
आइतबार, १५ पुस २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना दिन जारी गरेको वक्तव्यमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगरेको भन्दै आलोचना सुरु भएको छ । 

मुख्यमन्त्री कार्कीले आइतबार जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरूमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

tamu-losar-(1)

उक्त विषयमा मुख्यतः एमाले निकट नेता, कार्यकर्ताहरूले व्यापक आलोचना गरिरहेका छन् । उता, कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरूले भने कार्कीको प्रशंसा गरेका छन् ।

पहिचानवादी नेता अर्जुन जम्नेली राईले प्रशंसा गर्दै केही शब्द खर्चिएका छन्, ‘हो यस्तो कोशी शब्द बिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ । धन्यवाद मुख्यमन्त्री कार्यालयलाई । कोही कोशी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवादीहरु हुन् ।’

मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले भने प्राविधिक कमजोरीका कारण कोशी लेख्न छुटेको बताए । उनले गल्ती थाहा हुनासाथ सच्याएर नयाँ विज्ञप्ति जारी गरिएको पनि बताए ।   ‘हामीले सच्याइसकेका छौं । यो प्राविधिक त्रुटि मात्रै हो,’ उनले भने । मुख्यमन्त्री कार्यालयले उक्त शुभकामना सन्देशको ठाउँमा कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको साहले बताए । 

पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशको दाहिने पट्टि भने कोशी प्रदेश, विराटनगर नेपाल उल्लेख गरिएको छ । उक्त वक्तव्य एक घण्टापछि सच्याएर जारी गरिएको हो । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप