आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
ब्लग

माओको जन्मदिनमा चीनमा किन दिइएन सार्वजनिक बिदा ?

सोमबार, १६ पुस २०८०, १४ : ५५
सोमबार, १६ पुस २०८०

गत डिसेम्बर २६ तारिख २०२३ का दिन चीनका पूर्वराष्ट्रनायक माओ चतोङको १३०औँ जन्म जयन्ती परेको थियो । चीनका महान् नेता माओको जन्मदिनको दिन नेपालमा नेकपा एकीकृत माओवादी पार्टीले उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरेका खबरहरू पढेपछि नेपालबाट एक जना मित्रले प्रश्न गरे– ‘तिमी चीनमा बसेर चिनियाँ महान् नेताको जन्म दिनका अवसरमा केही नलेख्ने ?’ उनी अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक विषयमा कलम चलाउने लेखक थिए । उनको प्रश्नको जवाफका लागि यहाँ माओको जन्मदिनमा कुनै ठुला समाचारहरू बनेनन् । 

चिनियाँहरू माओ चतोङको सीधा नाम मात्र उच्चारण नगरी अध्यक्ष माओ चतोङ भनेर विशेषण थप्छन् । डिसेम्बर २६ का दिन युनान विश्वविद्यालयका प्राध्यापकहरूले अध्यक्ष माओको जन्मजयन्तीको शुभकामना आदानप्रदान गर्दै थिए । त्यस दिन विश्वविद्यालयको कक्षा कोठामा पनि अध्यक्ष माओको बारेमा चर्चा गरिएको थियो । आधुनिक चीनका राष्ट्रनायक माओको जन्मदिनमा चीनका कुनै छुट्टी वा सार्वजनिक बिदा थिएन ।

मेरा एक जना विद्यार्थीले प्रश्न गरे, ‘गुरुजी आज हाम्रो महान् नेता अध्यक्ष माओ चतोङको जन्मदिन हो भन्दै एउटा कलम उपहार दिँदै प्रश्न गरे ? नेपाल एकीकरणका राष्ट्रनायक पृथ्वीनारायण शाहको जन्मदिनको दिन नेपालमा छुट्टी हुन्छ कि हुँदैन ? उहाँको जन्मदिन कसरी मनाइन्छ ? उनको प्रश्नको उत्तर दिँदै मैले आगामी पुस २७ गते पृथ्वीनारायणको जयन्ती हो भनेँ । त्यस दिन नेपाल सरकारले छुट्टी दिएको छ । त्यस दिन उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । 

वास्तवमा आधुनिक चीनका नायक माओको योगदानका बारेमा सबै चिनियाँ छात्रछात्रा जानकार छन् । किनभने उनीहरूले विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षामा उनका योगदानका बारेमा अध्ययन गर्दै आएका छन् । छात्रछात्राहरूले महान् नेतालाई माओ मात्र भन्नुहुँदैन, लेख्दा र बोल्दा अध्यक्ष माओ चतोङ भन्नुपर्छ भनेर मलाई सिकाए । उनीहरूले भने, नेपाली सञ्चारमाध्यममा हाम्रो अध्यक्ष नेताको नाम अलि फरक लेखिन्छ किन होला ? नेपाली सञ्चारमाध्यममा ‘माओ त्सेतुङ’ भनेर लेख्ने गरिएको उनीहरूले भेटेका रहेछन् । वास्तवमा लेख्नुपर्ने चाहिँ ‘माओ चतोङ’ हो । नेपाली सञ्चारमाध्यमले नामका अगाडि प्रायः विशेषण लगाउँदैनन्, त्यसैले अध्यक्ष माओ नलेखेको, नभनेको मैले बताएँ । उनीहरूले सबै चिनियाँहरू आफ्ना नेतालाई ‘अध्यक्ष माओ’ भन्ने गरेको सुनाए । 

त्यस दिन मध्यान्ह युनान विश्वविद्यालयमा हिन्दी विभागका प्राध्यापक प्रा तङ र दक्षिण एसियाली अध्ययन विभाग र नेपाली विभागका प्रमुख प्रा. वाङ चुङसँग भेट हुँदा महान् नेताको जन्मदिनको अवसरमा शुभकामना आदान–प्रदान भयो । प्राध्यापकद्वयलाई चीनका महान् नेता माओको जन्म दिनको दिन सार्वजनिक बिदा किन नदिएको होला भनेर मैले प्रश्न गरेँ । दुवै प्राध्यापक कक्षा सकेर फर्कंदै थिएँ, एकै स्वरमा भने, ‘महान् नेताको जन्मदिनको दिन उहाँलाई सम्झेर अझ धेरै काम गर्नुपर्छ, किन बिदा दिने ?’ बिदा दिएर उनको सम्मान हुन्छ भनेर मलाई प्रतिप्रश्न गरे । यसको उत्तर मसँग थिएन । त्यसैले दुवै चिनियाँ प्राध्यापकको कुरामा सहमत हुन पुगेँ । 

चीनमा हिन्दी भाषा अध्ययन अध्यापन गर्ने प्रखर विद्वान् प्राध्यापक तङलाई दक्षिण एसियाली भाषा विभागका ‘महागुरु’को उपाधि दिएका छौँ । सन् १९८० को दशकमा भारतबाट हिन्दी भाषामा स्नातकोत्तर गरेर चीनमा हिन्दी भाषा पढाउने प्राध्यापक तङ अवकाशपछि पनि युनान विश्वविद्यालयमा हप्तामा १० घण्टा कक्षा कोठामा रमाउँछन् ।

प्रसङ्ग अध्यक्ष माओको जन्मदिनमा सबैजसो चिनियाँहरूले वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले दिने सन्देशलाई नै महत्त्व मान्ने रहेछन् ।

तपाईं सीले दिनुभएका सन्देश पढ्नुस्, सुन्नुस् प्राध्यापकद्वयले भनेपछि चीनमा चीनको विभिन्न भाषामा प्रकाशित हुने चाइना रेडियो इन्टरनेसनल (सीआरआई) को नेपाली र हिन्दी, अङ्ग्रेजी भाषामा सीको सन्देश आइसकेको रहेछ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले अध्यक्ष माओलाई सम्झँदै भनेका छन्, ‘कमरेड माओ चतोङ एक महान् मार्क्सवादी, एक महान् सर्वहारा क्रान्तिकारी, रणनीतिकार, सिद्धान्तकार, मार्क्सवादको चिनियाँकरणका एक महान् अग्रगामी, चीनको समाजवादी आधुनिकीकरण अभियानका महान् संस्थापक नेता हुनुहुन्छ । आधुनिक समयमा चीनका महान् देशभक्त र राष्ट्रिय नायक पार्टीको पहिलो पुस्ताको केन्द्रीय नेतृत्व सामूहिकताको केन्द्रबिन्दु हुनुहुन्छ ।’

सन्देशमा अगाडि भनिएको छ, उहाँ एक महान् व्यक्ति हुनुहुन्छ । जसले चिनियाँ जनतालाई आफ्नो भाग्य र देशको अनुहार पूर्ण रूपमा परिवर्तन गर्न नेतृत्व गर्नुभयो । विश्वका उत्पीडित राष्ट्रहरूको मुक्ति र मानव प्रगतिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँ महान् अन्तर्राष्ट्रियवादी हुनुहुन्छ भन्ने कुरामा सीले जोड दिएको खबर लेखिएको थियो ।

सन्देश छोटो तर सबै कुरा समेटिएको छ । आजको आधुनिक चीन रूपरेखा कोर्ने अध्यक्ष माओको योगदान अहिलेका चिनियाँ नेतृत्व र चीनको पुराना र नयाँ दुवै पुस्ताले सम्झने नाम हो अध्यक्ष माओ ।

अहिले पनि चिनियाँहरू राष्ट्रपति सीको सन्देशलाई आत्मसात् गर्दै चिनियाँहरूको लक्ष्य देश समृद्ध बनाउनका निम्ति आआफ्नो स्थानबाट योगदान दिने नै हो भन्छन् । कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार र दर्शन बोकेर देशको सेवा गर्ने हो । चिनियाँहरूको राष्ट्रवाद पनि यही हो । विश्वविद्यालय प्रवेश परीक्षा उत्तीर्ण गरेपछि पनि सबै चिनियाँ युवा विद्यार्थीहरूले अध्यक्ष माओ चतोङका विचारधारा, राष्ट्रियता र केही अनुशासनात्मक सैनिक तालिम लिएर मात्र उनीहरू विश्वविद्यालयका कक्षा कोठामा प्रवेश गर्दछन् । त्यसैले होला चिनियाँ छात्रछात्रामा देशका राष्ट्रनायक र देश प्रेमको भावना अति नै बढी देखिएको छ । 

आजको बदलिँदो चीनको रूपरेखा परिवर्तनको संवाहक भनेका अध्यक्ष माओ हुन् भन्ने चिनियाँहरूको बुझाइ छ । कम्युनिस्ट शासनसत्ताले देशको उन्नति, जनताका लागि नाना, छाना र खानाको उचित प्रबन्धमा ध्यान दिने केन्द्रीय र राज्य सरकारप्रति चिनियाँहरूको निकै सकारात्मक धारणा छ । केन्द्रीय सरकारले देशको उन्नति र प्रगतिको लक्ष्य हासिल गर्नका लागि जनताले आआफ्नो ठाउँबाट योगदान दिनु पर्छ भन्ने चिनियाँहरूको विचार सिक्न लायक छ ।

चीनको आधुनिकीकरणको महान् संस्थापक नेतालाई चिनियाँहरूले सबैले श्रद्धा गर्ने नै भए तर वर्तमान राष्ट्रपति सीप्रति पनि चिनियाँ नागरिकले ठुलो भरोसा राखेका छन् ।

सन् २०१३ मा सत्तामा आएपछि सीले देशमा भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण, देश विकासमा चालेको अभियानमा जनताका साथ देखिन्छ । सी सत्तामा आएपछि करिब नौ लाख भ्रष्टाचारीलाई कारबाही गरिएको छ । विकास अभियान द्रुत गतिमा चलेको छ । गरिबी निवारणको काममा तीव्र अभियान जारी छ । विकास परियोजनाहरू देशभित्र र छिमेकी र विश्वका १५० भन्दा बढी देश र ३० वटा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग विकासको साझेदारी परियोजना बीआरआई सुरु भएको छ ।

अध्यक्ष माओको जन्म जयन्तीको दिन सार्वजनिक बिदा होइन । काम गरेर उहाँको योगदानलाई सम्झँदै देशको प्रगति र उन्नतिका कथा नयाँ पुस्तालाई सुनाउनु पर्छ । प्राध्यापक तङ र वाङको भनाइमा सहमत नहुने कुरै थिएन । त्यसैले माओको दिवसको दिन चिनियाँहरूले आआफ्नो जिम्मेवारीअनुसार काम गर्दै आफ्ना महान् नेताको जन्मदिन मनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप