शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
भागबन्डामा सकस

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीका दुई सिटमध्ये एक कांग्रेसलाई, अर्कोमा गठबन्धन घटकबिच हानथाप

मङ्गलबार, १७ पुस २०८०, ०८ : ३५
मङ्गलबार, १७ पुस २०८०

बुटवल । राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।

ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले आफ्नोतर्फ रिक्त हुने सिटमा स्वाभाविक रुपमा दाबी गर्दैछ । गठबन्धनभित्र रहेका दलहरुमा जुन पार्टीको सिट रिक्त हुँदैछ, त्यहाँ सोही पार्टीले उम्मेदवारी दिने अनौपचारिक सहमति भएकाले लुम्बिनीको एउटा सिटमा कांग्रेसले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ ।

एमालेतर्फबाट रिक्त हुने एक सिटका लागि भने गठबन्धनभित्रका अन्य घटकबिच उम्मेदवारीका लागि हानथाप हुने देखिएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन मगरले सत्ता गठबन्धनभित्र जुन दलको सिट खाली हुँदैछ, उसैलाई दिने सहमति भएकाले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेको महिलातर्फको एउटा सिट आफ्नो पार्टीका लागि सुरक्षित रहेको बताए । मतभारका हिसाबले अर्को सिटमा पनि कांग्रेसको दाबी रहने उनले बताए ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारीका लागि जिल्लाबाट सिफारिस भएका नामको सूची निकै लामो छ । जिल्लाबाट आएका १२१ जना र प्रदेशबाट तीन जना थप गरी १२४ जनाको नाम केन्द्रमा पठाइएको छ ।

नेकपा माओवादी केन्द्रको प्रदेश समितिबाट २३ जनाको नाम केन्द्रमा पठाइएको छ । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा दाबी गरेको बताए ।  यसका लागि योग्य उम्मेदवारहरु प्रदेश समितिले सिफारिस गरेर केन्द्रमा पठाएको उनको भनाइ छ ।

यस्तै, एकीकृत समाजवादी पार्टीले पनि एक सिटमा दाबी गरेको छ । एमालेका तर्फबाट रिक्त हुने एक सिटमा आफ्नो दाबी रहने नेकपा एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेयका अनुसार राष्ट्रिय सभा सदस्यमा रिक्त हुने २० सिटमध्ये आफ्नो पार्टीले पाँच सिट पाउने मोटामोटी सहमति भइसकेको भन्दै उक्त पाँच सिटमध्ये एउटा सिट लुम्बिनीबाट रहने बताए । त्यसका लागि प्रदेशका नेताहरूले केन्द्रीय अध्यक्षलाई भेटेर ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका साना दलहरूले पनि राष्ट्रिय सभा सदस्यमा भागबण्डाको आकांक्षा राखेका छन् । जसपाले पनि राष्ट्रिय सभाका लागि एक सिटमा दाबी गर्ने तयारी गरेको छ । दुई सिटमध्ये एउटा सिट नेपाली कांग्रेसले पाउने भए पनि एमालेबाट खाली हुने सिटमा सत्ता गठबन्धनबाट आफूहरुले पनि दाबी गर्ने जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।

यस्तै सत्तामा रहेको लोसपाले पनि एक सिटमा दाबी गर्ने जनाएको छ । सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेयले केन्द्रमा भागबण्डा गर्दा आफ्नो पार्टीले मधेस प्रदेश या लुम्बिनी प्रदेशमा एक सिट पाउने विषयमा छलफल चलिरहेको बताए ।

यता राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले आफूहरूले सरकारलाई समर्थन गरे पनि सरकारी पक्षबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै छलफल नभएको बताए । उनले पार्टीले आफ्नो मत रहेको लुम्बिनी प्रदेशमा छलफल लागि ढोका खुला राखिएको बताउँदै एमालेसँग पनि छलफल हुन सक्ने प्रस्ट पारे ।

यस्तै नेकपा एमालेले दुवै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । केन्द्रमा सिफारिस गर्दा महिला ३ जना, पुरुष ३ जना गरी ६ जनाको नाम पठाउने र त्यसमध्येबाट २ जनालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय गर्ने जनाइएको छ । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले प्रदेशमा कमिटी बैठक बसेर सिफारिस गर्ने रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप