आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय सचिवालय बैठक

भारतसँग गरेका सम्झौता स्पष्ट पार्न एमालेको माग

शुक्रबार, २० पुस २०८०, १७ : ४७
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । नेकपा एमालेले भारतीय परराष्ट्र मन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताबारे सत्तापक्षले आफूहरूलाई बेवास्ता गरेको बताएको छ ।

शुक्रवार बसेको सचिवालय बैठकले दुई देशबिचको ज्वाइन्ट कमिसनको मार्फत गरेका सहमति र निर्णयहरुबारे सत्तापक्षले आफूहरूसँग कुनै छलफल र संवाद नगरेकोमा चिन्ता प्रकट गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘भर्खरै भारतीय परराष्ट्र मन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । त्यसक्रममा दुई देशबिचको ज्वाइन्ट कमिसनको बैठक भनेर बैठक आयोजना गरिएको र त्यहाँ के–के विषयमा छलफल र के–के विषयमा सम्झौताहरू भए भन्ने कुरा सत्तापक्षले प्रतिपक्षसँग कुरा नगरेको विषयप्रति गम्भीर चिन्ता प्रकट गरेको छ’, पोखरेलले भने राष्ट्रियताका सवालमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यसो गरेको पाइएन ।  

एमालेले राष्ट्रियताका सवालमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यसो नगरी सम्झौताहरू गरेको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेको छ । ‘जे कुरा बाहिर आएका छन् नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने कुनै काम हुनुहुँदैन’, महासचिव पोखरेलले भने, ‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीभित्रै हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ ।’ 

जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासबाट २० करोडसम्मको रकम विकास गर्न दिने गरी सहमति भएको थियो । त्यस्तै एमाले बैठकले शुक्रवार मात्रै सर्लाहीको बरहथवामा अस्पताल हस्तान्तरणको विवादमा प्रहरीको गोली लागेर एक सर्वसाधारणको मृत्यु भएकोमा सरकारको आलोचना गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप