बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

शनिबार, २१ पुस २०८०, ०७ : १९
शनिबार, २१ पुस २०८०

काठमाडौँ । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रवार आमनिर्वाचन पर सार्ने  प्रस्ताव पारित गरेको हो ।

योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संशयमा परेको हो । सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । यो प्रस्ताव सिनेटर दिलावर थानले प्रस्तुत गरेका थिए । जसलाई पाकिस्तानको संसद्को माथिल्लो सदनमा ठुलो समर्थन प्राप्त भएको छ । 

उनले सदनमा यो प्रस्ताव पेस गर्दा १४ सांसद मात्रै उपस्थित थिए । तर, सूचना मन्त्री मुर्तजा सोलाङ्गी र तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले यस कदमको विरोध गरेका छन् ।

आफ्नो प्रस्तावमा दिलावर खानले यतिबेला देशका अधिकांश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएकाले ती क्षेत्रमा निर्वाचन गर्न नसकिने दाबी गरेका छन् । यसका साथै उनले सुरक्षा सम्बन्धी चिन्तालाई पनि जोड दिए । उनले शान्ति सुरक्षाको अवस्था राम्रो नभएको बताए । राजनीतिज्ञलाई निशाना बनाइएको र  बलुचिस्तान र खैबर पख्तुनख्वा (प्रान्त) मा पनि सुरक्षा बलमाथि आक्रमण भइरहेको उल्लेख गरे ।

गुप्तचर निकायले चुनावी प्रचारका क्रममा खतराको चेतावनी समेत दिएको उनले बताए । यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले निर्वाचन आयोगले निर्वाचन स्थगन गर्ने प्रक्रिया अघि बढाउनुपर्छ ।

सिनेटको यो कदमले देशमा राजनीतिक र आर्थिक अस्थिरता बढाउने अपेक्षा गरिएको छ । यस कदमको प्रभाव पाकिस्तान स्टक एक्सचेन्जमा पनि देखिएको छ । 

सिनेटको यो निर्णयको जानकारी सार्वजनिक हुने बित्तिकै पाकिस्तानको शेयर बजारमा ८०० अङ्कभन्दा बढीको गिरावट देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप