बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय सरकार

बढ्यो हेटौँडा उपमहानगरपालिकाको बजेट

शनिबार, २१ पुस २०८०, १८ : २१
शनिबार, २१ पुस २०८०

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटको आकार बढेको छ । गत असोज १० को नगरसभामा उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटको आकारमा वृद्धि गरिएको हो ।

शनिबार सम्पन्न हेटौँडा उपमहानगरपालिकाको १४ औँ नगरसभामा बजेट संशोधन गर्दै बजेटको आकार बढाइएको हो । उपमहानगरपालिकाले यसअघि प्रस्तुत गरेको २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेटमा संशोधन गरी २ अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँ कायम गरेको छ । चालू आर्थिक वर्ष को संशोधित थप राजस्व प्रक्षेपणको आधारमा थप स्रोत परिचालन गर्दा चालु आर्थिक वर्षको बजेटको आकारमा २२ करोड २ लाख ५५ हजार रुपैयाँ बढाएर प्रस्तुत गरिएको हो ।

गत आर्थिक वर्षको असार १० गते प्रस्तुत आय व्यय अनुमानमा सशर्त बजेट, अघिल्लो वर्षको मौज्दात र रकमान्तर समेत थप भई २ अर्ब ७५ करोड ७६ लाख ६५ हजार रुपैयाँ वास्तविक आय कायम भएको हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । गत वर्ष सम्झौता भई ३१ करोड रुपैयाँ भन्दा बढी जिम्मेवारी सरेका आयोजनाहरूको रकम भुक्तानीका लागि चालु आर्थिक वर्षको बजेटमा १० करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा अधिकांशको भुक्तानीका लागि रकम अभावका कारण भुक्तानी रोकिएको उनले बताए ।

चालू आर्थिक वर्ष मा खानेपानी महसुल भुक्तानीका लागि २ करोड रुपैयाँ, समपूरक योजनाहरूमा म्याचिङ गर्न ३ करोड रुपैयाँ, तथा अन्य प्रशासनिक शीर्षकहरूमा समेत रकम नपुग हुने देखिएकोले विनियोजित शीर्षकहरू संशोधित बजेट समावेश गरिएको उनको भनाई छ ।

चालु आर्थिक वर्षको लागि नगर सभाबाट पारित नीति तथा कार्यक्रम र संशोधित बजेटले नगरवासीका जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे । नगरमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोगबाट नगरवासीको आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको यस उन्नतिमा टेवा पुग्ने उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा आय तर्फ संघीय सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड २३ लाख ३५ हजार रुपैयाँ, समपूरक अनुदान तर्फ २३ लाख ७५ हजार रुपैयाँ, विशेष अनुदान ८७ लाख ५० हजार हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, सशर्त र समपूरक अनुदान गरी ५ करोड ६४ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको छ ।  

त्यस्तै संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँट तर्फ  ११ करोड ११ लाख ४८ हजार रुपैयाँ, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अन्य आम्दानी समेत गरी हालसम्म जम्मा ७४ करोड २ लाख ५ हजार रुपैयाँ प्राप्त भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप