बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

सिट बाँडफाँटमा हुम्ला माओवादीमा असन्तुष्टि, राष्ट्रिय सभा निर्वाचनमा मत नदिने !

सोमबार, २३ पुस २०८०, १२ : ०३
सोमबार, २३ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटलाई लिएर नेकपा (माओवादी केन्द्र) हुम्लामा असन्तुष्टि देखिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दलित कोटाबाट कालिकोटका विष्णुबहादुर विकलाई टिकट दिएपछि हुम्लामा असन्तुष्टि चुलिएको हो ।

 माओवादी जिल्ला कमिटीले हुम्लाका संयोजक समेत रहेका दीपेन्द्रबहादुर रोकायालाई एकल सिफारिस गरेको थियो । तर गठबन्धन दलहरूबिच भएको भागबन्डामा कर्णालीबाट माओवादीले दलित क्लस्टर पाएपछि रोकायाको उम्मेदवार बन्ने बाटो रोकिएको थियो । यद्यपि संयोजक रोकायाले टिकट नपाएको असन्तुष्टि भन्दा पनि पार्टीको प्रवृत्तिको विरोध गरेको जिकिर गरे । विरोधस्वरुप जिल्ला कमिटीले आगामी राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको उनले बताए ।

‘प्रदेश कमिटीले हुम्लालाई प्राथमिकतामा राखेन । कहिल्यै प्राथमिकतामा राख्दैन भन्ने हामीलाई अनुभूति भयो । उम्मेदवार छनोट नहुने एउटा विषय हो । विगतदेखि नै धेरै कुरा जोडिएको छ । हुम्लालाई पार्टीले उपेक्षा गरेको रूपमा बुझेका छौँ’, उनले भने, ‘हाम्रो लडाइँ प्रवृत्तिको हो । जिल्ला कमिटीले असहमति जनाउँदै राष्ट्रियसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । हामीले जिल्ला इन्चार्जलाई पत्र पठाइसका छौँ ।’

२०७९ सालको प्रदेशसभा निर्वाचनमा हुम्लामा समानुपातिकसहित दुई सदस्य रहेका छन् । समानुपातिकतर्फ जुम्मकित लामा(कार्की) रहेकी छिन् । क्षेत्र नम्बर १(१)मा रनसिंह परियार निर्वाचित भएका थिए । कर्णाली प्रदेशसभाका प्रमुख सचेतक समेत रहेका परियारले उम्मेदवार छनोटको विषयमा विवाद रहेको स्वीकार  गरे ।

‘यहाँबाट रोकायाको नाम एकल सिफारिस भएको हो । गत वर्ष निर्वाचनमा पनि उहाँ उम्मेदवार बन्न चाहनु भएको थियो तर टिकट पाउनुभएन । अहिले पनि कोटा दलितको परेपछि उहाँले अन्यायमा परेको महसुस गर्नुभएको छ । तर, खासै त्यस्तो ठुलो विवाद होइन । राष्ट्रिय सभा निर्वाचनमा भोट नहाल्ने  निर्णय गरेको सत्य हो’, उनले भने ।

तर सचेतक लामाले बाहिर आएको जस्तो ठुलो विवाद पार्टीमा नरहेको जिकिर गरिन् । कर्णालीमा दलित कोटा परेपछि उहाँ छनोट हुने अवस्था नरहेको उनले बताइन् । पार्टीले नै निर्णय गरेर पठाइसकेपछि विवाद गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।

‘प्रदेशले सिफारिस गरेर हुने विषय होइन । केन्द्रमा पार्टीको निर्णयले क्लस्टरको आधारमा विष्णु कमरेड पर्नुभयो । पार्टीले निर्णय गरेपछि त्यही कुरा मान्य हुन्छ । त्यस्तो गम्भीर विवाद छैन’, उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप