मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदवार चयनप्रति कांग्रेसका दुई केसीको ५ बुँदे फरक मत

सोमबार, २३ पुस २०८०, १४ : ३३
सोमबार, २३ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट चयन १० उम्मेदवारप्रति नेपाली कांग्रेसका दुई नेताले फरक मत राखेका छन्  । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय विपरीत उम्मेदवार चयन गर्ने काम भएको भन्दै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका हुन् । 

‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेबारे पौष १४, २०८० को कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, ‘‘प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने...’’ भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको छ’, केसीद्वयले भनेका छन् । 

 सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर राखिएको पाँच बुँदे फरक मतमा केसीद्वयले उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएकाले संसदीय बोर्डले गरेको निर्णयमा आफूहरु सहमत हुन पनि नसकेको उल्लेख छ । 

यसैगरी संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाउन नसकेको, समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व हुन नसकेको, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको ,  समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्ङ्घन गरिएको, एकपक्षीय कार्यशैली अपनाइएको पनि फरक मतमा उल्लेख छ । 
उम्मेदवार चयनबारे पार्टीको संसदीय बोर्डले गरेको निर्णयप्रति यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि फरक मत राखेका थिए । 

5bf6cf2d-3544-4bac-ba5e-2c3ab1cb20a6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप