शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतले देखाए लगानीका चार क्षेत्र

सोमबार, २३ पुस २०८०, १४ : ४०
सोमबार, २३ पुस २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपालमा मुख्यगरी लगानीका चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरममा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले चार क्षेत्र लगानीका लागि उत्कृष्ट रहेको बताएका हुन् ।

उनले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने बताए । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भएपनि यी क्षेत्रमा मात्रै लगानी गर्न प्रोत्साहन नगर्ने बताए । ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत क्षेत्रमा पनि लगानी गर्न सकिन्छ ।’

यस्तै, नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाई छ । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्रीको भनाई छ ।

नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको अर्थमन्त्री डा. महतको भनाई छ । यस्तै, नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने उनको भनाई छ । आगामी दिनमा व्यवसायीक वातावरण थप मजबुत बन्ने भन्दै उनले नेपाल–भारत व्यवसायीक समिटमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

यस्तै, यही वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै अर्थमन्त्री डा. महतले त्योअघि लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति तथा नियम सुधार गर्ने समेत बताए । सोहीकारण लगानी सम्मेलनसम्ममा विदेशी लगानीकर्ताले नेपालको लगानी सम्भाव्यताबारे जानकारी लिन उनको आग्रह छ । भारतको तुलनामा नेपालमा जनसंख्या पनि सानो रहेपनि अन्य देशको तुलनामा न्यून नरहेको समेत अर्थमन्त्रीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप