सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै

सोमबार, २३ पुस २०८०, १५ : ३५
सोमबार, २३ पुस २०८०

काठमाडौँ । संघीय संसद्का निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराइन् ।

निर्माणाधीन सङ्घीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिइयो । अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर सङ्घीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताइन् ।

“भवन निर्माणलाई अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पुर्‍याइएको छ”, मन्त्री गुरुङले भनिन्, “छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौँ ।”

भ्याट बाहेक रु छ अर्ब ९२ करोडको लागतमा अघि बढेको उक्त परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । उक्त भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ । लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न द्रुत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिइन् ।

समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनुपर्ने भवन कोभिड–१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदै आएको प्रतिक्रिया दिए । कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।

खतिवडाले भने, “भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ । मन्त्रसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौँ । आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ ।” दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उनले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गरे ।

प्रतिनिधिसभाको भुईँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरू कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नु पर्नेछ ।

अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको उक्त भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप