सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
किसान

बाहिरका दुध भित्रिएपछि पोखराका किसान विस्थापित

बुधबार, २५ पुस २०८०, १३ : ४२
बुधबार, २५ पुस २०८०

पोखरा । पोखराको व्यावसायिक कृषि फार्म जानकी एग्रोबाट दुध किनेका केही डेरीले जानकीकै नाममा बाहिरबाट ल्याइएका दुध बेचिरहेका छन् । बाह्य दुध भित्रिएको आधिकारिक तथ्याङ्क नभए पनि अनधिकृत रूपमा दुध भित्रिएकोमा कसैले पनि असहमति जनाउँदैनन् ।

‘डेरीवालाले हामीसँग २० लिटर दुध लिन्छन् । तर १ सय लिटरभन्दा बढी बेचिरहेका छन्,’ सञ्चालक दीपक तिमिल्सिनाले भने, ‘८० लिटर दुध कहाँबाट आयो ? लोकल दुधको टाउको देखाएर पुच्छर अर्को बेचिएको छ ।’

उनका अनुसार डेरीहरुले बेच्ने बाँकी ८० लिटर दुध अवैध रूपमा तराई र अन्य जिल्लाबाट भित्रिएका छन्, जसमा ट्यागचाहिँ पोखराकै स्थानीय फार्महरुको लगाइएको छ ।

‘बाहिरका दुध नल्याऊ भनेका छैनौँ । तर बाहिरका दुध ल्याएर हाम्रा फार्महरुको नाममा बेच्नु अपराध हो,’ उनले अघि भने, ‘राज्यले नियमन गरिदिएन । त्यसको मर्का स्थानीय किसानले भोग्नुपरेको छ ।’

राज्यकै कारण किसानहरू विस्थापित हुने अवस्था आएको तिमिल्सिनाको गुनासो छ । ‘कोरोनाअघि व्यावसायिक रूपमा पशु पालन फार्म सुरु गरेका ५० प्रतिशत किसान अहिले विस्थापित भइसकेका छन् । यसको चासो कसैले लिएनन्,’ उनले भने, ‘निर्वाहमुखी किसानहरू त लगभग छैनन् भन्दा पनि हुन्छ । व्यावसायिक रूपमा पशु पाल्न थालेकाहरुले पनि छोडिसके ।’

पोखरा महानगरका पशु सेवा शाखा प्रमुख नवराज अधिकारी पनि किसानहरू विस्थापित हुने क्रम अत्यधिक बढेको बताउँछन् । ‘महानगरमा ९ सय ३४ जना व्यावसायिक किसान छन् । ५ वटाभन्दा बढी पशु पाल्ने किसानलाई हामीले परिचयपत्र दिएका छौँ,’ उनले भने, ‘त्यस्ता किसान पछिल्लो ३ वर्षयता घट्दै जानुभएको छ । नवीकरण हेर्दा गाईभैंसी फर्म २५ प्रतिशतसम्म घटेको छ । यो सिरियस कुरा हो ।’

उनको तथ्याङ्कमा पोखरामा ८० हजार लिटर दुध दैनिक उत्पादन हुन्छ । त्यसबाहेक ३५ हजार लिटर दुध बाहिरबाट आयात हुने गरेको छ । उनले विस्थापित भएका किसानहरुको सूचीकृत गर्ने काम भइरहेको बताए ।

IMG_7658

पोखराका पशुपालक किसानहरुले बाहिरबाट हुने आयातलाई न्यूनीकरण गरी स्थानीय उत्पादनको प्रबर्द्धन गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरुले भारतदेखि पोखरामा दुध आउने तर पोखरामै भएको उत्पादन बिक्री नहुँदा व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरे ।

‘लोकल दुध भनेर बाहिरका दुध मिसाएर बेचिएको छ । हाम्रो दुधको टाउकोमा बाहिरका व्यापारीको रजाईं छ,’ राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका सचिव विष्णुप्रसाद अधिकारी भन्छन्, ‘बाहिरका दुधमा अखाद्य बस्तु मिसिन्छन् । त्यसको अपजस हामीले भोग्नुपर्छ ।’

उनले सरोकारवाला निकायले यस्ता दुध आयातमा कडाइ गर्नुपर्ने बताए । पोखरामा दैनिक ४१ हजार लिटर दुध खपत हुने गरेको तथ्याङ्क छ । दुध, फूल र माछामा गण्डकी प्रदेश आत्मनिर्भर उन्मुख छ । यद्यपि बाहिरबाट आयात रोकिएको छैन ।

पोखरामा ६ वटा डेरीले मात्रै दुध प्रशोधन गर्ने लाइसेन्स लिएका छन् । त्यसबाहेक खाद्य गुण नियन्त्रण कार्यालयले खुला दुधको समेत गुणस्तर जाँच गर्ने गरेको अनुसन्धान अधिकृत शिवजी बरालले बताए ।

‘उपभोक्ता आफैँले पनि दुधको गुणस्तर जाँच्न ल्याउनुहुन्छ । हामी पनि नमुनाका रूपमा छनोट गरेर जाँच गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्मको परीक्षणमा अखाद्य बस्तु मिसाएर बेचेको भेटिएको छैन । अरू अनुगमन सम्बन्धित निकायले पनि गर्नुपर्छ ।’

किसानहरुले १० बुँदे माग राखेर व्यवसाय जोगाउने जुक्ति निकालेका छन् । किसानले उत्पादन गरेका दुध बिक्री गर्ने बजारको अभाव भएकाले तत्काल आवश्यक बजारको व्यवस्थापन गर्नुपर्ने, दुध बिक्री नभएका कारण बैंकसँगको सहकार्यमा सहजीकरण गर्नुपर्ने, दुग्धजन्य पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाई निर्यातको पहल गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, कृषि अनुदान कर्जाको लिमिट ५ करोडबाट बढाएर २० करोड पु¥याउनुपर्ने र समयावधि समेत २० वर्ष कायम गर्नुपर्ने माग छ । खरिद मूल्यको आधारमा पशु बीमा कार्यक्रम लागू गर्न किसानहरुको माग छ । ‘अहिले दुध बिकेको छैन । बैंकबाट लिएको ऋण तिर्न सक्ने अवस्था छैन,’ व्यावसायिक किसान आनन्द न्यूरे भन्छन्, ‘कर्जाको समय थप्नुप¥यो । कृषि र पशुपालनको उपकरण शून्य भन्सारमा खरिदको व्यवस्था मिलाउनुप¥यो ।’

उनले बाहिरबाट आएका दुधलाई पनि प्रशोधन गरेरमात्रै बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप