सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फागुनभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

बिहीबार, २६ पुस २०८०, १९ : १४
बिहीबार, २६ पुस २०८०

पोखरा । पोखरालाई फागुन महिनाभित्रै पर्यटकीय राजधानीका रुपमा औपचारिक घोषणा गर्न अध्ययन समितिले सुझाव दिएको छ । राजधानी घोषणाका लागि आवश्यक अध्ययन गर्न गठित समितिले कार्ययोजनासहित फागुनभित्र घोषणा गर्न सकिने सुझाव दिएको हो । 

समितिका अनुसार माघ मसान्तसम्म पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्था, पोखरा महानगरपालिका र नजिकका पालिकाहरुले राजधानी घोषणा गर्ने निर्णयसहित मुख्यमन्त्री कार्यालयमा पेस गर्ने कार्यसूची तोकिएको छ । माघभित्रै प्रदेश सरकारले सबै निर्णय एकीकृत गरेर राजधानी बनाउने सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव दिएको छ ।

समितिले डेढ महिना अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । राजधानी घोषणा गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, घोषणा पछि हुन सक्ने प्रभावबारेमा मसिनो गरी अध्ययन गरिएको संयोजक तथा गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाले जानकारी दिए । ‘यसको बहुआयामिक क्षेत्रको अध्ययन गरेका छौँ । पोखरा राजधानी घोषणा हुँदै गर्दा समग्र गण्डकी र देशको पर्यटनमा कस्तो प्रभाव पार्छ भनेर पनि खोजी गरिएको छ,’ उनले भने, ‘यो प्रतिवेदन नै पोखरा र गण्डकीको लागि कोशेढुंगा हो । यसको कार्यान्वयन पूर्ण रुपमा गर्न सके यहाँको पर्यटनले फड्को मार्न सक्छ ।’

गण्डकी सरकारले नीति तथा कार्यक्रम मार्फत नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएको थियो । समितिको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिवेदनले दिएको तालिका अनुसार नै काम गर्ने प्रतिबद्धता जनाए । ‘अवधि नै तोकेर कामको जिम्मा दिनुभएको छ । प्रदेश सरकारले यसलाई सम्पत्तिको रुपमा ग्रहण गरेको छ,’ उनले भने, ‘प्रतिवेदनमा भएको तालिका अनुसारको काम तोकिएकै समयमा पूरा गर्छौं ।’ अध्ययन प्रतिवेदन बुझाएसँग पोखराको पर्यटन व्यवसायीहरु उत्साही भएका छन् ।

‘एउटा घोषणा मात्रै गर्दा पनि पोखराको ब्राण्डिङ विश्व बजारमा पुग्छ । धेरै पर्यटकहरु फर्किएर पोखरा आउँछन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘राजधानी घोषणा गर्न कुरा चानचुने होइन । यसको सकारात्मक प्रभाव पर्छ ।’ अहिले भारतीयसहित ९ लाखभन्दा बढी पर्यटक गण्डकी प्रदेश आएका अनौपचारिक अनुमान छ । राजधानी घोषणा गरेपछि २० लाख नाघ्ने अनुमान गरिएको छ । त्यसका लागि पूर्वाधार निर्माणसँगै विद्यमान संरचनामा सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप