पहिलो टी–२० मा न्युजिल्यान्डसँग केही लागेन पाकिस्तानको
काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले शुक्रबार खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानलाई ४६ रनले हराएको छ । जितसँगै न्युजिल्यान्डले पाँच टी–२० खेलको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ ।
अकल्यान्डमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय २६ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान गरे ।
चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले ६१ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल २७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान केन विलियम्सनले पनि ५७ रन बनाएका थिए ।
कप्तानसमेत रहेका विलियम्सनले ४२ बलको सामना गरी नौ वटा चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान फिन एलनले पनि ३४ रन जोडेका थिए । उनले केवल १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।
अर्का ओपनर डेभोन कनवे भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । ५० रनको कुल स्कोरमा दुई विकेट गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र मिचेलले एक सय २८ रनको स्थितिसम्म पुर्याएका थिए ।
ग्लेन फिलिप्सले पनि टोलीको खातामा १९ रन थपे । मार्क चापम्यानले ११ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २६ रन जोडे । एडम मिल्नेले १० रन बनाए । पाकिस्तानका बलर साहिन शाह अफरिदी र अब्बास अफरिदीले तीन–तीन विकेट लिए । ह्यारिस रउफले पनि दुई विकेट लिए ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको पाकिस्तानले भने १८ ओभरमा अलआउट हुनुअघि एक सय ८० रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले ५७ रनको योगदान गरे । उनले केवल ३५ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए ।
ओपनर सइम अयुबले २७ रन जोडे । उनले केवल आठ बलमा तीन छक्का र दुई चौका हिर्काए । मोहम्मद रिजवानले १४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २५ रन बनाए । इफ्तिखार अहमदले २४ रन जोडे ।
न्युजिल्यान्डका बलर टिम साउथीले चार विकेट लिए । एडम मिल्ने र बेन सियर्सले दुई–दुई विकेट हात पारे । ईश सोढीले पनि एक विकेट लिए । उक्त खेलमा न्युजिल्यान्डका ड्यारल मिचेल म्यान अफ दी म्याच घोषित भए । दोस्रो टी–२० आइतबार ह्यामिल्टनमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण