सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्पदा

सम्पदा संरक्षणमा ललितपुर नगर प्रहरी

शनिबार, २८ पुस २०८०, ०६ : ०३
शनिबार, २८ पुस २०८०
  • मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

बिहानै चिसोमा ललितपुरको लगनखेल स्थित  एउटा फल्चामा नगर प्रहरी हावा फाल्ने मेसिनसहित फल्चा सफा गरिरहेका हुन्छन् । दिउँसोको समयमा भिडभाड हुने भएकाले बिहान बिहान चिसो पनि नभनी ललितपुर महानगरका नगर प्रहरीहरू महानगर भित्रका सम्पदा संरक्षणमा यसरी नै लागी पर्दै आएका छन् ।

पूर्व ट्राफिक प्रहरीसमेत रहेका सिताराम हाछेथु ललितपुर महानगरको नगर प्रहरी प्रमुख भएर काम गरेको झन्डै चार वर्ष भइसकेको छ । नगर प्रहरीको महानगरभित्र रहेका सम्पदा संरक्षणमा भूमिका कस्तो छ त ? महानगरवासी नगर प्रहरीको कार्य प्रति कत्तिको सन्तुष्ट छन् त ? यही प्रश्नको उत्तर खोज्दै हामी यसपालि ललितपुर महानगर प्रहरी बलमा पुग्यौँ । त्यहाँ हामीले ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुसँग कुराकानी गरेका छौँ :

sitaram hachethu

  • नगर प्रहरी को दिनचर्या कसरी सुरु हुन्छ ?

बिहान सात बजेदेखि नगर प्रहरीको ड्युटी सुरु हुन्छ । बिहान, दिउँसो र राति गरेर सिफ्टमा नगर प्रहरीहरू खटिन्छन् । सँगसँगै सम्पदा क्षेत्रमा १५ जना छुट्टै ड्युटी बस्छन् । पहिला १० देखि ५ बजेसम्म मात्र हुने ड्युटी अहिले हामी नगर बासी माझ २४ सै घण्टा उपलब्ध भएका छौँ । नगरभित्र हुने बिहान फोहोर मैलाको निगरानीदेखि अन अधिकृत पार्किङ र सम्पदा संरक्षणमा २४ सै घण्टा काम गरिराखेका छौँ ।

lalitpur (12)

  • सम्पदा संरक्षणमा नगर प्रहरीको भूमिका कस्तो छ ?

ललितपुर महानगरमा सम्पदाको कुरा गर्ने हो भने यहाँ पाटी, पौवा,  स्तूप, हिटी, मन्दिरहरूले भरिएको छ । नगर प्रहरीको महत्त्वपूर्ण जिम्मेवारीको रूपमा नगरवासीसँग जोडिएको सम्पदालाई सुरक्षित राख्नु हो । सम्पदा संरक्षणको कुरामा नगरवासीसँग मिलेर काम गरिराखेका छौँ । ललितपुर महानगरमा भएका सम्पदाहरूमा पहिलो प्राथमिकतामा विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र लगायत अन्य सम्पदाहरूमा १५ जना नगर प्रहरी खटाइएको छ । पाटन दरबार लगायत अन्य सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप निषेधका कुरादेखि धूम्रपान निषेध क्षेत्र गराइएको छ । पहिला पहिला नगर प्रहरीको काम फुटपाथ व्यापार रोक्ने र अनधिकृत पार्किङ व्यवस्थापन मात्र थियो तर समय सँगै नगर प्रहरीको दायरामा भेट्ने कार्यहरूलाई नयाँ स्वरूपमा बढाइराखेका छौँ र सम्पदा संरक्षणमा जोड दिँदै आएका छौँ ।

lalitpur (1)

  • नगर प्रहरी र नगरवासी बिच सम्पदा संरक्षणमा कस्तो साथ रहेको छ ?

नगरवासी को साथ बिना नगर प्रहरीले मात्र सम्पदा संरक्षण गर्न सक्दैनौ । नगरवासीको साथसँगै हामीले काम गरिराखेका छौँ । पहिला र अहिलेमा नगरवासीको साथ धेरै राम्रो भएको छ । हामीले नगरवासीको लागि ११३१ निःशुल्क टोल फ्रि नम्बर उपलब्ध गराएका छौँ । सम्पदा संरक्षणको कुरा मात्र नभई , अन्य सेवा सुविधाको लागि नगर प्रहरी २४ घण्टा तयारी अवस्थामा हुन्छौ । महानगरभित्र रहेका सम्पदाहरूमा नगरवासीहरूको कथाहरू जोडिएको हुँदा आफ्नो सम्पदा जोगाउनमा ठुलो भूमिका खेलेको देख्छु । उदाहरण नै दिन पर्दा पाटन दरबारमा रहेको कृष्ण मन्दिरमा एकदमै अनैतिक क्रियाकलाप बढे पछि त्यहाँको स्थानीयहरूले खबर गर्नुभयो, हामीले महानगरसँग समन्वय गरेर निषेध त गराइयो तर स्थानीयहरू आफैले मन्दिर छिर्ने ढोकामा भक्तजन मात्र लेखिएको पोस्टर राख्नुभएको छ । यो देख्दा सम्पदा संरक्षणमा नगर प्रहरीको कार्य बढेसँगै स्थानीयहरू पनि जागरूक भएको पाइन्छ ।

sitaram hachethu 2

  • सम्पदा संरक्षण लगायत अन्य कार्यका लागी नेपालको स्थानीय तहहरूमा कस्तो छाप दिइरहनुभएको छ ?

सम्पदा संरक्षणमा भर्खरै मात्र बागमती प्रदेश सरकार बाट उत्कृष्ट भई पुरस्कार पनि पाएका छौँ । हाम्रो काम अरूलाई देखाउने भन्दा पनि नगरवासी को समस्यालाई समाधान गर्नु हो । हाम्रो कार्यमा नगरवासीहरू सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ मलाइ । राम्रो कुरालाई नक्कल गर्नुपर्छ । मलाइ काठमाडौँ उपत्यका बाहिरका महानगर, उप महानगर र नगरपालिकाहरूबाट एकदमै फोन आउने गर्छ । उहाँहरूको नगर प्रहरीलाई के कसरी लग्ने भनेर । गत हप्ता मात्र धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमाले फोन गर्नुभएको थियो, उहाँको नगर प्रहरी प्रमुखलाई नगर भित्र गर्नु पर्ने कार्य योजनाहरूलाई के कसरी लगिनुपर्छ भनेर । हाम्रो नगर प्रहरी बलको कार्यले सिकाउन पनि पाइएको छ र सिक्न पनि पाइएको छ ।

lalitpur (2)

  • नगर प्रहरीले पाउनु पर्ने आवश्यक कुराहरू महानगरबाट उपलब्ध गराइएको छ त ?

ललितपुर महानगरको क्षेत्रफल एकदमै फैलिएको छ । हामीलाई पहिलो कुरा जनशक्ति को निकै खाँचो हुने गर्दछ । हाम्रो कार्य प्रति सन्तुष्ट भएर भर्खरै मात्र नगर प्रमुखज्यूले जनशक्ति थप्ने कार्य योजना अगाडि बढाउनुभएको छ । नगर प्रहरी बलको ७० जनाको सङ्ख्या बढाएर १५० गराउने तयारी गरिराखेका छौँ । नगरभित्रका सम्पदा संरक्षणमा थप नगर प्रहरी खटाउने तयारीमा छौँ । नगरभित्र रहेका पाटी, हिटीहरूको सरसफाइदेखि हरेक संरक्षणका कुराहरू लाई अझै थप बढाइने छ । नगर भित्र आवश्यक हुने कुराहरू जस्तै ढल सफा गर्ने, दमकल सेवा, एम्बुलेन्स, शव वाहनको लागि चाहिने साधनहरू उपलब्ध गराइएको छ । यी सबै सेवाहरू महानगरबाट निःशुल्क रूपमा सञ्चालन गराइराखेका छौँ ।

lalitpur (3)

  • नगर प्रहरी बलको भावी योजना के छ ?

हामीले चाडै नै ललितपुर महानगरवासी लाई सहज हुने गरी मोबाइल एप सुचारु गर्दैछौँ । अहिले तत्काललाई एपमा हामीले नगर प्रहरीको कार्यका २१ वटा सुविधाहरू जोडेका छौँ जसमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल सफाइ, बाटो बिग्रेको लगायत अन्य कामहरूलाई समेटेका छौँ । नगर प्रहरी बलको कार्यालय पुलचोकमा कन्ट्रोल रुमबाट निगरानी गरी हामी नगरवासीको समस्या समाधान गर्न तयारी अवस्था रहने छौँ ।

lalitpur (4)lalitpur (5)lalitpur (6)lalitpur (7)lalitpur (8)lalitpur (9)lalitpur (10)lalitpur (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप