शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

लुम्बिनीमा कुपोषणबाट ७ जनाको मृत्यु, पोषण सुधारमा के हुँदैछ पहल ?

सोमबार, ०१ माघ २०८०, १२ : १८
सोमबार, ०१ माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशमा पोषण सुधारको अवस्था नाजुक देखिएको छ । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । जसका कारण  एक वर्षमा ७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक वर्षको अवधिमा कुपोषणबाट ग्रस्त भएका १ हजार ९९२ जनाको उपचार भएको छ । यो तथ्यांक ५ वर्ष भन्दा कम उमेर समूहका बच्चाहरूको रहेको जनाइएको छ । जसमा उपचारकै क्रममा ७ जनाको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले कुपोषणका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको पुष्टि गर्दै अस्पतालबाहिर समेत त्यस्ता बालबालिकाको मृत्यु भएको हुनसक्ने भएपनि तथ्यांक उपलब्ध नरहेको बताए ।  उनले भने, ‘अस्पतालमा उपचार गर्न नआउने र अन्यत्र जानेहरूको अवस्थाको रेकर्ड हामीकहाँ आउँदैन, त्यसैले अस्पतालमा उपचार गराउनेको तथ्यांकमात्रै हामीसँग रहने भयो ।’

प्रदेशका १२ वटै जिल्लामा कुपोषणका बिरामी भए पनि मृत्यु भने ५ जिल्लाका बालबालिकाको भएको उनको भनाइ छ । यसरी मृत्यु हुनेमा बाँके जिल्लाका २ जना रहेका छन् । यस्तै बर्दिया, पश्चिम नवलपरासी, प्युठान, कपिलवस्तु र रोल्पा जिल्लाका एक/एक जना बालबालिका रहेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सबै भन्दा धेरै  कुपोषणका बिरामी बाँके जिल्लामा छन् ।  यस्तै सबै कम अर्घाखाँची र रुकुम पूर्वमा रहेका छन् । बाँके जिल्लामा ४२५ बिरामीले एक वर्षको अवधिमा उपचार गराएका छन् । यस्तै अर्घाखाँची र रुकुम पूर्वमा ५/५ जना बिरामी पाइएका छन् । 

कुपोषण बिरामी पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा धेरै देखिएका छन् । बर्दिया जिल्लामा २८६, दाङमा २३२, कपिलवस्तुमा ३१३, रुपन्देहीमा ३९५ ,पश्चिम नवलपरासीमा १९९ जना रहँदा  पाल्पामा १०, गुल्मीमा ३४, प्युठान ३५ र रोल्पामा ४३ जना रहेका छन् । 

स्तनपानमा पनि समस्या

लुम्बिनी प्रदेशमा जन्मेदेखि समग्रमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान ६१ प्रतिशतले गराएको देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अर्घाखाँची जिल्लामा ९९ प्रतिशतले ६ महिनासम्म स्तनपान गराएको देखिन्छ । यस्तै गुल्मी जिल्लामा ९३ प्रतिशत, प्युठान जिल्लामा ७७ प्रतिशत, नवलपरासी पश्चिम ७४ प्रतिशत, रोल्पामा ७३ प्रतिशत, रुपन्देहीमा ६३ प्रतिशत, बर्दियामा ५९ प्रतिशत र बाँकेमा ५७ प्रतिशतले बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराएको देखिन्छ । 

तर, कपिलवस्तुमा ५४ प्रतिशत दाङमा ५२ प्रतिशत, रुकुम पूर्वमा ५८ प्रतिशत र पाल्पामा ४१ ले स्तनपान गराएको देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डाक्टर नेत्र रानाले स्तानपान नगराउँदा बच्चाहरूको शारीरिक र मानसिक दुवै रूपमा वृद्धि हुन असर गर्ने बताए । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशन डा विनोद कुमार गिरीले पोषणको सामान्य आधार हेर्दा प्रदेशमा कुपोषणको अवस्था चुनौतीपूर्ण रहेको बताए । 

2

पहल के भएको छ ? 

प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएका छन् । तर, सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा  पोषणको अवस्था नाजुक देखिएको छ । अझै रोगी र मृत्यु समेत भएको अवस्थाले सरोकारवालहरू चिन्तित बनेका छन् । 

लुम्बिनी प्रदेशमा रहेका ३ वटा स्वास्थ्य संस्थाहरूमा पोषण सुधार कार्यक्रम लागु भएको छ । लुम्बिनी प्रदेश अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जमा पोषण पुनः स्थापना गृह रहेका छन्। पोषण अति कम भएका बच्चाहरूलाई  ती पोषण सुधार पुनः स्थापना गृहमा राख्ने गरिएको छ । 

10

 अति पोषण कम  भएकाहरूलाई स्वास्थ्यकर्मीको सिफारिसको आधारमा पुनः स्थापना गृहमा १ महिनासम्म राखेर सुधार ल्याउने काम गरिन्छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पोषण सुधार गृहकी निर्देशक प्रतीक्षा थापाले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ९ जना बच्चाहरू राखेर पोषण पुनः स्थापना गराइरहेको रातोपाटीलाई बताइन् । 

विश्व स्वास्थ्य सङ्गठनले मापदण्ड अनुसार अनुसार जन्मेदेखि ५ वर्षसम्मका तौल कम भएका बच्चाहरूलाई यहाँ राख्ने गरिएको उनको भनाइ छ ।  जसअनुसार उनीहरूलाई निःशुल्क रूपमा खाने बस्ने व्यवस्था गरिएको हुन्छ। यस्तै बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्त अल्पता अधिक भएको खण्डमा आइरन चक्की वितरण एवं अन्य सेवा समेत दिने गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप