बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती सरकारविरुद्ध एमाले सशक्त रुपमा रूपमा प्रस्तुत हुने

एमालेको मागलाई सरकारले भागबण्डा खोज्यो भनेर भ्रम फैलायो :  प्रमुख सचेतक पौडेल
बुधबार, ०३ माघ २०८०, ०९ : ०८
बुधबार, ०३ माघ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारप्रति सशक्त रूपमा प्रस्तुत हुनुपर्ने नेकपा एमालेका सांसदहरूले माग गरेका छन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले सरकार गलत दिशा तर्फ अग्रसर भइरहेकाले प्रतिपक्ष दलले सशक्त भूमिका निर्वाह गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेश सरकारको काम कारबाही र रवैया नागरिकको हितविपरीत रहेको भन्दै एमाले आफ्नो भूमिका सशक्त रूपमा उठाउनु पर्ने सांसदहरूको भनाई छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौँडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यवहार आवश्यक भन्दा लचिलो भएको सांसदहरू टिप्पणी गरेका हुन् । सरकारले पेलेर अघि बढ्ने नीति लिएको भन्दै सो विरुद्धमा एमालेले आफ्नो भूमिकालाई जिम्मेवार र सशक्त बनाएर जनता प्रति उत्तरदायी बन्नुपर्ने उनीहरूको भनाई छ ।

‘प्रतिपक्ष सरकार जस्तो लचिलो बनिरहेको छ । सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएर अघि बढिरहेको छ,’ उनीहरूले भने, ‘एमालेले सरकारलाई हदैसम्म लचिलो बनेर सहयोग गरिरहेको छ । तर, सरकारले त्यसलाई जिम्मेवार ढङ्गबाट बुझ्न सकेन । हामीले हाम्रो भूमिका सशक्त बनाउन जरुरी छ ।’

बैठकमा बोल्दै प्रदेशसभा सदस्य एवम्  एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका जिम्मेवार ढङ्गबाट निर्वाह गर्नुपर्ने बताए । उनले नागरिकको हक अधिकार र हितका लागि एमालेले आफ्नो भूमिका प्रतिपक्षबाट निर्वाह गर्नुपर्ने बताए ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी प्रदेशसभा सदस्य भारती पाठकले सरकारले पक्षपात पूर्ण ढङ्गबाट विकास बजेट विनियोजन गरेको बताइन् । उनले केही मन्त्रीले विकास बजेट दिनु राज्य कोषको दुरुपयोग भएको टिप्पणी गरिन् ।

‘विकास बजेट विनियोजनमा पनि पक्षपात भएको छ । सीमित मन्त्रीको क्षेत्रमा मात्र बजेट विनियोजन गरेर सरकारले आफ्नो ढुकुटीबाट दान दिएको रूपमा व्यवहार गर्न थालेको छ । सरकारको दम्भ र स्वेच्छाचारितामा मलजल पुग्ने काममा एमालेले अग्रसरता देखाउनु हुँदैन । एमाले नेतृत्व जनता प्रति उत्तरदायी बनेर अघि बढ्न पर्छ । एमालेले प्रतिपक्षमा बसेर आफ्नो भूमिकालाई सशक्त बनाउन पर्छ । सरकारलाई गरेका गलत कामलाई सुधारका लागि एमालेले दबाब बढाउनु पर्छ । त्यस तर्फ एमाले नेतृत्व जिम्मेवार बन्नुपर्छ,’ उनले भनिन् ।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत व्याख्या गरेको बताए । तत्काल संसदीय समितिको पदाधिकारी टुङ्ग्याउनु पर्ने एमालेको मागलाई सरकारले भागबण्डा खोज्यो भनेर भ्रम फैलाउने काम गरेको उनले बताए । समानुपातिक विकास हुनुपर्छ भन्ने एमालेको मागलाई सरकारले गलत व्याख्या गरेर बजेटमा भागबण्डा र सम्झौताको संज्ञा दिएको उनको भनाई छ ।

‘सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिँडेको समेत पाइएको छ । हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आम नागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्‍यौँ । सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्‍यो । तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ ।’ उनले भने ।

संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेको बताए । सरकार नागरिकहरू प्रति जबाफदेही ढङ्गबाट काम गरिरहेको छ भन्ने विश्वास प्रतिपक्षले गर्न सक्ने अवस्था नरहेको उनले बताए । एमाले जनताको पार्टी भएकोले आम नागरिकको पक्षमा डटेर लागिरहनु पर्ने उनको भनाई छ । नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप