बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीविरुद्धको आरोप : सुनुवाइको मिति टुंगो लागेको प्रिमियर लिगको दाबी

बुधबार, ०३ माघ २०८०, ११ : ३४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले म्यानचेस्टर सिटीले आर्थिक नियमको उल्लंघन गरेको आरोपको विषयमा सुनुवाइका लागि मिति तय भइसकेको जनाएका छन् । उनले सांसदहरुसँगको भेटका क्रममा यस्तो खुलासा गरेका हुन् ।

तर, उनले आफू पनि नियममा बाँधिएकाले अहिले नै उक्त मिति सार्वजनिक गर्न नमिल्ने पनि बताएका छन् । सांसदहरुले भने उनीसँग सुनुवाइको मितिको बारेमा पनि प्रश्न गरेका थिए । एभर्टनलाई पनि आर्थिक नियमको उल्लंघन गरेको आरोपमा १० अंक घटाउने सजाय सुनाइएको थियो ।

त्यसकोविरुद्धमा एभर्टनले यसअघि नै पुनरावेदन पनि गरिसकेको छ । नटिङ्घम फरेष्टविरुद्ध पनि क्लबको नाफा–नोक्सान सार्वजनिक नगरेको आरोप लगाइएको छ । यी सबै विषयमा प्रमुख कार्यकारी मास्टर्सले सांसदहरुलाई जानकारी गराएका छन् ।

मास्टर्सले क्लबलाई सजाय गर्दा समर्थक निराश बनेको विषयमा पनि आफू जानकार रहेको प्रतिक्रिया दिएका छन् । ‘सबै विषयमा हामी राम्रो जानकार छौँ । तर, हामी सबै नियममा बाँधिएका पनि छौँ,’ संसदको संस्कृति, सञ्चार तथा खेलकुद समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उनले भनेका छन् ।

उनले नियम उल्लंघन गर्ने कुनै पनि क्लबले सजायबाट उन्मुक्ति नपाउने दाबी पनि गरेका छन् । ‘अहिलेको विजेता क्लब होस् वा अरु कुनै बलियो क्लब, नियम उल्लंघन गर्ने सबैले सजायको भागिदार बन्नुपर्छ । नियम नमान्ने अन्य क्लबले पनि एभर्टन र नटिङ्घम फरेष्टकै नियति भोग्नु पर्छ,’ उनले भनेका छन् ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर युनाइटेडमाथि त झन नियम उल्लंघनका एक सयभन्दा बढी आरोप लागेका छन् । तर, अहिलेसम्म ती आरोपको विषयमा सुनुवाइ हुन सकेको छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप