सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

पञ्चपुरीमा युवकको हत्या प्रकरण : युवकका बाबुविरुद्ध प्रहरीमा जाहेरी दर्ता

बुधबार, ०३ माघ २०८०, १९ : ३१
बुधबार, ०३ माघ २०८०

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवकको हत्या प्रकरणमा उनकै बाबुमाथि आशंका गरिएको छ । 

बाबुले छोराको हत्या गरेको भन्दै मृतकका काकाले बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार बुधबार दिउँसो उनले जाहेरी दर्ता गरेका हुन् । 

घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतका अनुसार युवकको बन्चरो प्रहारबाट हत्या भएको छ ।  

मंगलबार बिहान १ बजे घरनजिकै मृत अवस्थामा युवाको शव भेटिएको थियो । उनको शव सबैभन्दा पहिला उनकै बहिनीले देखेकी थिइन् । त्यसपछि उनले गाउँलेलाई खबर गरिन् र गाउँलेले इलाका प्रहरी कार्यालय बाबियाचौरमा खबर गरेका थिए । त्यसपछि राति नै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टीकाराम आचार्यसहितको अनुसन्धान टोली उक्त स्थानमा खटिएको थियो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ  घटनास्थलमा पुगेका थिए भने कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।  उनकी बहिनीले दिएको बयानका आधारमा घटनामा बुबाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । युवकको हत्या गरी घर अगाडिको बाख्राको खोर नजिकै घाँसले शवलाई छोपेर राखिएको थियो । प्रहरीले युवकका बुबालाई खोजी रहेको छ । प्रहरीका अनुसार युवकको हत्यामा बलात्कारसम्बन्धी विषय जोडिएको छ ।

असोज तेस्रो सातातिर बुबाले बहिनीलाई बलात्कार गरेको भन्दै ती युवकले प्रहरीमा कार्तिक १५ गते बुबाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।  

प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आएको समयमा मामाघरमा रहेकी छोरीलाई बोलाएर बलात्कार गरेका थिए ।

अनुसन्धान अधिकृतका अनुसार युवकका बाबुले दुई वटा बिहे गरेका थिए । मृतक युवा र उनकी बहिनी जेठी श्रीमतीका सन्तान हुन् । बलात्कारको जाहेरी परेपछि कान्छी श्रीमती लिएर उनी भारत गएका थिए । 

बाबुविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुले नै छोराको हत्या गरेको आशंका गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप